झापा र दोलखा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी(सिडिओ)ले राजीनामा दिएका छन्। झापाका शिवराम गेलाल र दोलखाका हरिप्रसाद घिमिरेले राजीनामा दिएका हुन्। दुवैजना सहसचिव हुन्। उनीहरूको राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए। दुवैजना उमेरहदका कारण अनिवार्य अवकाशको मुखमा रहेकाले राजीनामा दिएको स्रोत बताउँछ।
हाल भोजपुर जिल्ला पनि सिडिओविहीन छ। गृह मन्त्रालयले नौ पहाडी जिल्लामा सहसचिवको दरबन्दी कटौती गरी उपसचिवको कायम गरेकामा ती जिल्लामा पनि दरबन्दीअनुसार सिडिओको मिलान हुन सकेको छैन। एक महिनाअघि मन्त्रिपरिषद्बाट स्वीकृत भएको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुुसार बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङ जिल्लामा सहसचिवको दरबन्दी कटौती गरी उपसचिवको कायम गरिएको छ।
गृह मन्त्रालयमा सचिव केदारनाथ शर्मा मंगलबार हाजिर भएका छन्। नयाँ सचिव आएसँगै यही साताभित्र सिडिओको सरुवा र पदस्थापनको तयारी भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ । गृहकै कर्मचारी प्रशासन महाशाखा र नीति योजना महाशाखाको नेतृत्व पनि रिक्त छ।