गत १० भदौको हिमबाढीले भोटेकोशी र त्रिशूली नदीमाथिका पुल बगाएपछि बागमती प्रदेश सरकारले तत्कालीन वैकल्पिक प्रयोगका लागि त्रिशूली नदीको त्रिशूलीबजारमा सोमबार तुइन जडान गरेको छ । यसबाहेक देवीघाट, वेत्रावती, भैँसे र सिमचौरमा तुइन जडान गर्ने भएको छ ।
बाढीपछि सडक तथा पुलमार्ग अवरुद्ध हुँदा राहत, उद्धार र अत्यावश्यक स्वास्थ्य सेवा प्रभावित क्षेत्रमा पुर्याउन कठिनाइ भएपछि तुइन जोड्न थालिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताए ।
‘त्रिशूलीबजारमा सोमबार राति तुइन जडान सकिएको छ । तत्काल आवतजावत र राहत सामग्री ढुवानी सहज बनाउन थप चार स्थानमा तुइन राख्न लागिएको हो,’ उनले भने, ‘देवीघाटमा मंगलबार जडान गरिसक्छौँ । यस्तै बाँकी स्थानमा पनि क्रमशः जडान गर्छौँ ।’
विदुर नगरपालिका– १ का वडाध्यक्ष लेनिन रञ्जितले तुइन जोडिएसँगै सहज भएको बताए । ‘मंगलबारदेखि तुइन सञ्चालनमा आएपछि स्थानीयले सहज रूपमा नदी वारपार गर्न र आवश्यक औषधि, खाद्यान्नलगायतका सामान ओसारपसार गर्न सकिन्छ,’ उनले भने । उनका अनुसार यसअघि राहत सामग्री पारि पठाउन वा उद्धार गर्न सेनासँग हारगुहार गरेर हेलिकोप्टरको भर पर्नुपर्ने अवस्था थियो ।
एउटा तुइनको संरचना निर्माण गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रदेश सरकारले सडक तथा पुल तत्काल पूर्ण रूपमा पुनर्स्थापना गर्न समय लाग्ने भएपछि त्यस अवधिसम्म अत्यावश्यक आवतजावत कायम राख्न तुइन, अस्थायी पुल तथा अन्य वैकल्पिक संरचना निर्माणलाई प्राथमिकता दिएको थापाले बताए । तुइन सञ्चालनमा आएपछि राहत सामग्री, खाद्यान्न, औषधि तथा स्वास्थ्य सामग्री प्रभावित बस्तीमा पुर्याउन सहज हुने अपेक्षा गरिएको उनको भनाइ छ ।