मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १२ शुक्रबार o७:२५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरीका विभिन्न टोली परिचालन : पाँच एसएसपीलाई फिल्डमा खटाइयो 

शव सनाखतका लागि प्रहरीद्वारा पोर्टल सञ्चालन, सम्पर्कविहीनहरूको जिल्लाबाटै गराउन आग्रह 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o७:२५:oo

बाढी क्षेत्रको समन्वय र पीडितहरूलाई सहयोगका लागि प्रहरीले उच्च अधिकारीको नेतृत्वमा टोलीहरू बनाएर परिचालन गरेको छ । कतिपयलाई फिल्डमै खटाइएको छ भने कतिपयलाई काठमाडौंमै राखेर समन्वय गर्न भनिएको छ ।  बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन, मुचुल्का लेखन तथा कानुनी सहायता एवं प्रभावकारी समन्वयका लागि डिआइजी सुदर्शन कोइरालासहितका विभिन्न टोली परिचालन गरिएको छ । 

रसुवा जिल्लालगायत विभिन्न स्थानमा भएको घटनाको समग्र गतिविधिलगायत वस्तुस्थिति सम्बन्धमा जाहेर गर्न आपत्कालीन समन्वय केन्द्र स्थापनार्थ नेपाल प्रहरी प्रधान कार्यालयमा बेस रहने गरी कोइरालासहितको टोली परिचालन गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । त्यस्तै, काठमाडौं उपत्यकास्थित विभिन्न अस्पतालहरूका समन्वय अधिकृतहरूसँग समन्वय गर्नुका साथै समग्र प्रहरी परिचालन गर्ने गरी शिक्षण अस्पताल महाराजगन्जमा कमान्ड पोस्टमा रहने गरी डिआइजी ओमबहादुर रानाको कमान्डमा टोली परिचालन गरिएको छ । 

विभिन्न स्थानमा भएको घटनास्थलमा उद्धार एवं राहत कार्यका लागि एसएसपी दीपशमशेर जबराको कमान्डमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ । एसएसपी कृष्णप्रसाद पँगेनीको कमान्डमा चारजनाको टोली कानुनी सहायताका लागि र सन्तोषकुमार भट्टराईको कमान्डमा पाँचजनाको टोली सम्पर्कविहीन भएका प्रहरी कर्मचारीहरूको खोजतलासका लागि सम्बन्धित प्रहरी कर्मचारी तथा निजको परिवारसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

शव व्यवस्थापनका लागि मात्र ६ टोली खटाइएको छ । एसएसपी योगबहादुर पालको संयोजकत्वमा ६ जनाको टोली शव व्यवस्थापनका लागि बनाइएको प्रवक्ता काफ्लेले बताए । एसपी निर्मल बुढाथोकीको संयोजकत्वमा १५ जनाको टोली घटनास्थलमा राहत वितरण सहायताका लागि खटिएको छ भने एसपी राजकुमार सिलवालको कमान्डमा चारजनाको टोली मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकहरूको शव विमानस्थलमा प्राप्त हुन आउने अवस्थामा शवको सुरक्षित व्यवस्थापन, पहिचान, सम्बन्धित निकाय तथा मृतकका आफन्तसँग आवश्यक समन्वयका लागि खटिएको छ । एसपी रविन श्रेष्ठ र डिएसपी कमल बेल्वासेलाई समन्वय अधिकृत तथा डिएसपी अनिल ठाकुरलाई अन्य सुरक्षा निकायसँग समन्वय गर्नका लागि समन्वय अधिकृतको रूपमा खटाइएको छ । 

त्यसैगरी डिएसपी हिरेन्द्रबहादुर रोकायाको कमान्डमा १२ जनाको टोलीलाई नुवाकोटतर्फ र इन्स्पेक्टर काशीराज थापाको कमान्डमा नौजनाको टोलीलाई चितवनतर्फ घटनासम्बन्धी मुचुल्का तयार गर्न परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्दबहादुर बुढाथोकीको कमान्डमा २२ जना चिकित्सकको टोली रसुवातर्फ गएको छ । 

पाँच एसएसपीलाई फिल्डमा खटाइयो 
बाढी प्रभावित जिल्लाहरूमा समन्वयका लागि प्रहरी प्रधान कार्यालयले एसएसपीहरूको कमान्डमा थप प्रहरी खटाएको छ । एसएसपी तारादेवी थापालाई चितवन, कृष्ण अधिकारीलाई मुग्लिनमा बेस रहने गरी तनहुँ, गोरखा र चितवन तथा रमेश थापाको कमान्डमा चारजनाको टोलीलाई गल्छीमा बेस रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । 

यस्तै, अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्चिम हेर्ने जिम्मेवारी तोकिएको छ । एसएसपी विमलराज कँडेलको कमान्डमा चारजनाको टोलीलाई नुवाकोटमा बेस रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । एसएसपी होबिन्द्र बोगटीको कमान्डमा चारजनाको टोली रसुवा जिल्लालगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत सञ्चालनका लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको प्रहरी प्रवक्ता काफ्लेले बताए । 

शव सनाखतका लागि प्रहरीद्वारा पोर्टल सञ्चालन, सम्पर्कविहीनहरूको जिल्लाबाटै गराउन आग्रह 
बाढीमा ज्यान गुमाउनेहरूको शवको सनाखतका लागि प्रहरीले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । सो पोर्टलमा शवको फोटो हेरेर सनाखतका लागि सहयोग गरिदिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले आफ्नै वेबसाइटमा यससम्बन्धी पोर्टल बनाएको हो । क्युआर स्क्यान गरेर पनि शवको विवरण हेर्न सकिने प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । प्रहरीले देशैभरिका कार्यालयबाट सम्पर्कविहीनहरूको विवरण संकलन गरिरहेको छ । नजिकको जिल्ला प्रहरी कार्यालयमा हराएका व्यक्तिहरूको विवरण उपलब्ध गराउन प्रहरीले सूचनामार्फत आग्रह गरेको छ ।