मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
अमुल थापा काठमाडाैं
२o८३ भदौ १२ शुक्रबार o५:५८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाढीले पुरिएका हजारौँ सपनाको दस्ताबेज

Read Time : > 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o५:५८:oo

कुनै महाविपत् आइलाग्दा आममान्छेका रूपमा मनमा भावना उर्लिन्छ– हृदयविदारक दृश्यहरू देख्न पनि नपरे हुन्थ्यो । तर, क्यामेरा भिरेर जब घटनास्थलतिर लाग्छु, पेसागत जिम्मेवारीसामु भावना फिका बन्छ, जसरी उद्धारमा खटिने सुरक्षाकर्मी र उपचारमा तल्लीन चिकित्सकले पीडा दबाएर, जोखिम पचाएर कर्तव्यपालन गर्छन् ।

फोटो पत्रकारको रूपमा भोटेकोशी र त्रिशूली बाढीले निम्त्याएको विनाश क्यामेरामा कैद गर्न बुधबार बिहान १० बजेतिर काठमाडौंबाट त्रिशूलीतर्फ निस्किएँ । करिब दुई घण्टाको यात्रापछि त्रिशूलीबजार पुग्दा देखिएको दृश्य अत्यासलाग्दो थियो । आधाजसो बजार बगर बनिसकेको थियो । लेदो माटोसहित उर्लिएको बाढीले बजारका अधिकांश घर पुरेको थियो । कुनै घरको माथिल्लो तला मात्रै देखिन्थ्यो । सडक र घरबिचको सीमा मेटिएको थियो । बजारको माथिल्लो क्षेत्रतिर मान्छेहरू भागदौडमा देखिन्थे । कोही बाढीमा हराएका आफन्तको खोजी गरिरहेका थिए, कोही परिवारलाई सुरक्षित स्थानतर्फ लैजाने प्रयासमा ।

त्रिशूलीबजारको भयावह दृश्य कैद गरेपछि हामी गेर्खुडाँडातर्फ उक्लियौँ । उचाइमा पुगेर पछाडि फर्किँदा एकै नजरमा देखिने सिंगो बजारको दृश्य सामान्य आँखाले हेरिरहन नसक्ने थियो । बगरमा बदलिएको आधाजसो त्रिशूलीबजारको दृश्य भयावह थियो ।

पानी परिरहेको थियो । बजार क्षेत्र हुस्सुले ढपक्क ढाक्दै थियो । दिन पनि ढल्किँदै थियो । साँझ ६ बजेतिर गेर्खुडाँडाबाट क्यामेराको लेन्सले बजार क्षेत्र कैद गर्न नसक्ने भयो । त्यति नै वेला भिडभाडबाट कोही बोल्यो– बाढीपछि सम्पर्कविहीन भएका उत्तरगया बोर्डिङ स्कुलका विद्यार्थी ६ घण्टा जंगलको बाटो उकालो हिँडेर कल्याण आधारभूत विद्यालयमा पुगेका छन् रे !

हामी लाग्यौँ तिनै स्कुले बालबालिका भएतिर । ७ बजेतिर कल्याण आधारभूत विद्यालयमा पुगियो । खाली खुट्टा, भोको पेट, कलेटी परेका ओठ, निन्याउरा अनुहार, साना नानीबाबुहरूको हुलिया यस्तै थियो । अभिभावकहरूको प्रतीक्षा गरिरहेका उनीहरू आँखैअघि आफ्ना साथीहरू बाढीमा बगेका घटना सुनाउँदै भावुक बने । मसँग केवल क्यामेरा थियो, उनीहरूको अवस्था खिच्न । लेन्सबाट देखिने प्रत्येक दृश्यले पटक–पटक मन भारी बनाउँथ्यो ।

राति ८:३० तिर काठमाडौं फर्किने योजनासहित गेर्खुडाँडाबाट तलतिर झरेँ । भीषण पानी परिरहेको थियो । सडकमा गाडीहरूको अत्यधिक जाम थियो । गाडी अगाडि बढ्न नसकेपछि सडकमै गाडीमा रात कटाउनुपर्‍यो । तर, त्यो त्रिशूलीबजारको दृश्य, चिच्याउँदै भागदौड गरिरहेका मान्छेहरू र ६ घण्टासम्म कलिला स्कुले बच्चाहरूले गरेको जंगलयात्राका कहानी सम्झिएर रातभर एक झिमिक निद्रा परेन ।

रात कट्यो, उज्यालो आयो । तर, कसैको अनुहार उज्यालो थिएन । मलाई बिहानै काठमाडौं फर्किन मन लागेन । बाढी प्रभावित देवीघाटतर्फ लागेँ । दृश्य उस्तै दर्दनाक थियो । जताततै लेदो माटोले बस्ती भरिएको थियो । प्रभावित व्यक्तिहरू कोही हराएका आफन्तको खोजीमा थिए भने कोही घरको सामान समेट्न व्यस्त थिए ।

नजिकै बट्टारस्थित आर्मी ब्यारेकमा ठाउँठाउँबाट हेलिकोप्टरमार्फत घाइतेहरूको उद्धार भइरहेको थियो । म त्यतैतर्फ लागेँ । आफ्नो मान्छे पनि देखिन्छन् कि भनेर ब्यारेकको काँडेतार बाहिरबाट एकटक नियालिरहेका आशातीत मान्छेहरू थुप्रै थिए । हेर्दाहेर्दै कोही भावविह्वल बन्दै थिए, कोही सैनिक कर्मचारीलाई आफन्तको नाम टिपाउँदै थिए ।

मान्छेहरूको वर्षौँको मिहिनेत र सपना ध्वस्त पार्दै त्रिशूली गडगडाएको थियो । प्रभावित सिंगो क्षेत्रलाई ड्रोन क्यामेराले कैद गर्दा दृश्य झनै भयावह देखियो । बाढीले बस्तीमा छाडेको विनाशको निसान एकैपटक देखिन्थ्यो । हजार शब्द सुनाउन– एउटै ड्रोन सट काफी थियो । बाढीग्रस्त क्षेत्रमा दुई दिनसम्म मैले जतिपटक क्यामेराको सटर दबाएँ, ती सबै फोटामा हजारौँ परिवारका पीडा, घरहरूका कथा र सुरक्षित भविष्य खोजिरहेका मानिसहरूको संघर्ष कैद भए । र, तयार भयो बाढीले पुरिएका हजारौँ सपनाहरूको दस्ताबेज ।

केही दिनमा नदी त पुरानै अवस्थामा फर्किन्छ अवश्य । तर, नदीआसपासको आवादी फर्किन सजिलो छैन । माटो पन्छाएर आवास बनाउलान् पनि, तर त्रिशूलीले छाडेर गएको चोटको त्रास सजिलै मेटिनेछैन । र, खिचिएका सयौँ फोटा क्यामेराको मेमोरी कार्डबाट मेटिन सक्लान्, तर मेरो स्मृतिमा सधैँ रहनेछन् ।