Skip This
प्रयोगविनै बिग्रिए करोडौँका स्वास्थ्य उपकरण 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
शिवहरि घिमिरे काठमाडाैं
२o८३ श्रावण २७ बुधबार o६:२९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज

प्रयोगविनै बिग्रिए करोडौँका स्वास्थ्य उपकरण 

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार o६:२९:oo
  • उपकरण खरिदमा करोडौँ खर्च गर्ने, तर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मर्मत–सम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोडौँका स्वास्थ्य उपकरण गोदाममा थन्किएका छन् 
  • महालेखाले ६३औँ प्रतिवेदनमा भनेको छ–सरकारी अस्पतालमा भएका मेसिनसमेत प्रयोग नगर्नु व्यवस्थापकीय कमजोरी 

११ वर्षअघि राष्ट्रिय ट्रमा सेन्टरको स्थापनाकालमै ल्याइएको क्याथ ल्याब मेसिन प्रयोगै नगरी राख्दाराख्दै बिग्रिएको छ । ०७२ मा भारत सरकारले अनुदानमा दिएको उक्त मेसिनको मूल्य पाँच करोड ३७ लाख ८२ हजार रुपैयाँ थियो । चलाउने जनशक्ति नभएको भन्दै त्यतिवेला प्रयोग नगरिएको मेसिन अहिले ट्रमा सेन्टरको इमर्जेन्सी भवनको पहिलो तलामा थन्क्याइएको छ । अस्पताल प्रशासनले जनशक्ति व्यवस्थापन चासो नदिँदा प्रयोग नै नभई मेसिनमा खिया लागेको छ । 

यो उपकरणको सहायताले नसाबाट पाइप छिराएर दूरबिनको माध्यमबाट मुटु, मस्तिष्कदेखि महत्वपूर्ण अंगको उपचार गर्न सकिन्छ । ट्रमामा चोटपटकका बिरामी धेरै आउने भएकाले यो मेसिन उपयोगी पनि थियो । तर, सेवा नहुँदा यहाँ आएका बिरामी वीर र अन्य निजी अस्पतालमा जान बाध्य छन् । अस्पतालले नै क्याथ ल्याबको सेवा लिन बिरामीलाई अन्यन्त्र पठाउने गरेको छ । 

ट्रमामा थन्किएको यो मेसिन एक वर्षअघि वीर अस्पताललाई दिनेबारेमा छलफल भएको थियो । तर, अब सिधै लगेर प्रयोग गर्न नमिल्ने भएपछि वीरले पनि लगेको छैन । 

ट्रमा सेन्टरका सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले राख्दाराख्दै मेसिन बिग्रिएको र अब मर्मत गरेर चलाउन सक्ने अवस्थामा नरहेको बताए । ‘अस्पताल सञ्चालन हुनेवेलामै आएको मेसिन त्यतिवेला चलाउने जनशक्ति नभएर सञ्चालनमा नआएको रहेछ,’ उनले भने, ‘राख्दाराख्दै बिग्रिएको छ । अब मर्मत गर्न नै दुई–तीन करोड लाग्ने अवस्था छ । अब यसलाई बनाउन कठिन छ ।’

ट्रमा सेन्टरको क्याथ ल्याब मेसिन उदाहरण मात्रै हो, विभिन्न सरकारी अस्पतालमा करोडौँका दर्जनौँ अत्याधुनिक स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा छन् । कतै चलाउने जनशक्तिको त कतै मर्मतसम्भारको अभावमा यस्ता उपकरण गोदाममा थन्क्याइएका छन् । कतिपय उपकरण त मर्मत गर्नुभन्दा नयाँ किन्नु नै सस्तो पर्ने अवस्थामा पुगेको अस्पतालहरूको भनाइ छ ।

ट्रमा सेन्टरमै थन्किएको अर्को महत्वपूर्ण उपकरण हो– इन्ट्रा अपरेटिभ (सिटिस्क्यान सिस्टम) मेसिन । २४ करोड ७७ लाख नौ हजारमा ०७३ मा किनिएको यो मेसिन चार वर्षदेखि अस्पतालको सातौँ तलाको स्टोरमा थन्क्याइएको छ । अस्पतालका एक हाडजोर्नी विशेषज्ञका अनुसार मेसिनमा केही समस्या देखिएको थियो । त्यसको मर्मत गर्न व्यवस्थापनले चासो नै देखाएन । ‘शल्यक्रियाको वेला थ्रिडी भिजुअलाइजेन गर्न यो सिटिस्क्यान सिस्टम अत्यावश्यक हुन्छ । तर, चार वर्षदेखि बिग्रिएर थन्किएको छ,’ ती चिकित्सकले भने ।

ट्रमा सेन्टरमै १४ थान भेन्टिलेटर पनि थन्किएका छन् भने पाँच थान सी–आर्म मेसिन पनि प्रयोगविहीन छन् । यी उपकरण पनि अस्पतालको स्टोरमा छन् । कोभिड महामारीपछि भेन्टिलेटर खरिद गरिएका थिए । बिचमा अस्पतालमा शङ्ढया थप्ने र प्रयोग गर्ने छलफल चले पनि कार्यान्वयन भने भएन ।

महालेखा परीक्षक कार्यालयको ६३औँ प्रतिवेदनले सरकारी अस्पतालमा भएका मेसिनसमेत प्रयोग नगर्नु व्यवस्थापकीय कमजोरी रहेको र सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो । टेकु अस्पतालमा ७२ लाख ६० हजारमा किनिएका लिड इसिजी केबलका तीन सय सेट प्रयोगविहीन छन् । यी सामान आइसियू, क्याबिन र इमर्जेन्सीमा चाहिन्छन् । तर, ०८१ मा आवश्यकताभन्दा बढी खरिद गरेपछि यी सामान स्टोरमा थन्क्याइए । जबकि, यी लिड इसिजी केवल खरिद गर्दा अघिल्लो वर्ष ०८० मा खरिद गरिएका नै स्टक थिए ।

अहिले अस्पतालले ती सामान प्रयोग गर्न मिल्ने–नमिल्ने विषयमा प्राविधिक परीक्षण गराउने तयारी गरेको छ । अस्पतालका स्टोर किपर बबिन अधिकारीका अनुसार उक्त मेडिकल सामान सीमित शङ्ढयामा मात्र प्रयोग हुन्छन् । ‘स्टक राख्दा गुणस्तर बिग्रिएको छ–छैन भनेर अब परीक्षण गराउँछौँ,’ उनले भने, ‘यस्तो प्रकारको सामान कम खपत हुन्छ । त्यसैले पनि ०८१ किनिएको सामान अहिले पनि स्टक छ ।’

स्वास्थ्य उपकरण तथा सामग्री उपत्यकाभित्र मात्रै होइन, बाहिरका अस्पतालमा पनि उसैगरी थन्किएका छन् । राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा इन्डो युरोलोजी सेट, एक्स–रे मेसिन, एनेस्थेसिया मेसिन र ल्याप्रोस्कोपी सिस्टम बिग्रिएर थन्किएका छन् । चार करोड ९० लाख १५ हजारमा किनिएका महँगा उपकरण स्टोरमा थन्क्याइएको छ ।

अस्पतालका मेसु डा. वीरेन्द्र मण्डलले बिग्रिएका उपकरणको खरिद शाखासँग सूची माग गरेको बताए । ‘यहाँ बिग्रिएका उपकरणको सूची तयार पार्न लगाएको छु, के–के बनाउन सम्भव छ, त्यसलाई बनाउने हो । बन्न नसक्ने सामान लिलाममा जान्छन्,’ उनले भने ।

निजामती अस्पतालमा अक्सिजन प्लान्टमा खिया लाग्यो
निजामती अस्पतालमा चार वर्षदेखि एउटा अक्सिजन प्लान्ट प्रयोगविहीन छ । कोभिड महामारीका वेला ०७८ मा ७३ लाखमा किनिएको प्लान्ट ०७९ देखि प्रयोग नगरिँदा पार्टपुर्जामा खिया लागेको छ । अस्पताल प्रशासनका अनुसार अहिले मर्मतका लागि मात्रै पनि ५० लाखभन्दा बढी खर्च आउने अवस्थामा पुेका छ । एउटा प्लान्ट भने चालू अवस्थामा छ ।

यस्तै पाँच वर्षअघिदेखि अस्पतालले एउटा एक्सरे मेसिन बाहिरै राखेको छ, जसका कारण अहिले मर्मत गरेर पनि चलाउन नमिल्ने अवस्थामा पुगेको छ । १६ वर्षअघि दुई करोडमा खरिद यो सामान्य बिग्रिएपछि बाहिर खुला ठाउँमा थन्क्याइएको थियो । ‘चार वर्षअघिदेखि नै अस्पतालको बाहिर खुला ठाउँमा फालियो । घामपानीले मेसिन बिग्रिसकेको छ,’ एक कर्मचारीले भने, ‘अस्पतालले नयाँ एक्सरे मेसिन ल्याएपछि त्यो मेसिन बिग्रिएको भन्दै फालिएको थियो । तर, त्यसवेला मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने अवस्थामा थियो । त्यस्तै, अस्पतालको लेजर मेसिन पनि थन्किएको छ । ६ महिनादेखि उक्त मेसिन अप्रेसन थिएटरमै राखिएको छ, मर्मतसम्भार गर्नेबारे अस्पताल प्रशासनले चासो नदिएको कर्मचारी  बताउँछन् ।

मर्मतको सट्टा नयाँ उपकरण किन्दै प्रहरी अस्पताल
नेपाल प्रहरी अस्पतालमा १६ स्लाइसको सिटिस्क्यान मेसिन मर्मत नहुँदा प्रयोगविहीन अवस्थामा छ । यो मेसिन आठ वर्षअघि करिब दुई करोडमा खरिद गरिएको थियो । यहाँ १.५ टेस्लाको एमआरआई मेसिन पनि बिग्रिएर थन्किएको छ । एमआरआई मेसिन सात वर्षअघि तीन करोडभन्दा बढी लागतमा खरिद गरिएको थियो । ती मेसिन मर्मत गर्नुभन्दा नयाँ खरिद गर्ने अस्पतालको योजना छ । ‘ती उपकरण मर्मत गर्न मिल्दैन, अब नयाँ ल्याउने प्रक्रिया अघि बढेको छ,’ अस्पतालका सूचना अधिकारी रामेश्चर अधिकारीले भने, ‘बनाउँदा धेरै खर्च लाग्ने भएपछि नयाँ किन्दा उचित हुने देखिएको छ ।’

स्वास्थ्य सेवा विभागमा पनि थन्किएका छन् सामान
विभिन्न सरकारी अस्पताललाई उपलब्ध गराउन टेकुस्थित स्वास्थ्य सेवा विभागले किनेका झन्डै सात करोडका स्वास्थ्य सामग्री पनि स्टोरमै थन्किएका छन् । ०८१/८२ मा विभागले ९६५ थान हाइट बोर्ड र ९६५ थान इलेक्ट्रोनिक वेट स्केल ६ करोड ७३ लाख २१ हजारमा खरिद गरेको थियो । प्रदेशहरूलाई उपलब्ध गराउने भनेर खरिद गरिएका यी उपकरण धेरैजसो स्टोरमै छन् । अस्पतालका निर्देशक डा. केशवराज पाण्डले प्रदेशहरूलाई दिन ०८१/८२ मा खरिद गरिएका उपकरणको ०८२/८३ मा भुक्तानी भएको बताए । ‘केही पठायौँ र केही आवश्यकताअनुसार अब पठाउँछौँ,’ उनले भने ।