मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
Invalid date format १३:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा जेन–जी आन्दोलनबाट क्षति व्यवस्थापन गर्न बजेट पुनरावलोकन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३४:oo

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा सरकारी संरचनाहरूमा ठुलो क्षति पुगेकाले तत्काल पुनर्निर्माणका लागि बजेट पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको प्रदेश सरकारले जनाएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । साथै, ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।

उनका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूलाई प्रदेशमातहतका अस्पतालमा निःशुल्क उपचार सुविधा उपलब्ध गराइनेछ । सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको उनले बताए । ‘बजेट पुनरावलोकनबाट साना र परिणाम नदिने टुक्रे योजनाहरू कटौती गरिनेछ । बजेटलाई पुनर्निर्माण र देखिने परिणाममुखी विकासका काममा केन्द्रित गरिनेछ,’ प्रवक्ता तामाङले भने ।

बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा चालू आवका लागि अस्थायी दरबन्दीलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । साथै, संविधान दिवसको अवसरमा पारदर्शी, जवाफदेही र नतिजामुखी काम गर्ने सन्देशसहित प्रदेश सरकारले शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।