मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५१:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार

आन्दोलनमा प्रहरीले निरन्तर बल प्रयोग गरेको भए संकट अझै बढ्ने थियो : गृहमन्त्री अर्याल 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

गृहमन्त्री ओमप्रकाश अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम र चेतनशील पुस्ता जेन–जीले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धिहरूको संरक्षणका लागि रचनात्मक योगदान पुर्‍याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयको निरीक्षण र निर्देशनका क्रममा उनले नेपाल प्रहरीले आन्दोलनमा निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने सम्भावना रहेको विश्लेषण गरेका छन्। 

अत्यन्त सीमित स्रोत–साधनहरूको उपलब्धताबिच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठुलो र अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो । म यस ऐतिहासिक घडीमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु हो । पूर्वसरकारविरुद्धको जनआक्रोशबिच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठुलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
 
निर्देशनका क्रममा उनले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतारचढाव, राजनीतिक परिवर्तन र संक्रमणकालहरूमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्रविन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताए।  

नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आमजनताको दैनिकीमा अत्यन्त ठुलो र नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने अवसर प्राप्त हुने बताउँदै कानुनबमोजिम कर्तव्यपालनाको क्रममा उच्च मनोबल बनाउनुपर्ने तथा कार्यक्षेत्रमा भएका कमी–कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए । आमजनतामा प्रहरी सेवाको आवश्यकता र महत्त्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी इकाइहरूको पुनर्स्थापना, प्रहरी कर्मचारीहरूको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको बताउँदै नेपाल सरकार एवं गृह मन्त्रालयबाट नेपाल प्रहरी संगठनको सुदृढीकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका लागि ठोस प्रयासहरू हुने उनले उल्लेख गरे । प्रहरीप्रति राज्य र नागरिकहरूका असीमित अपेक्षा रहेको र प्रहरीले साधनस्रोतहरूको सीमितताबाट नागरिकहरूका असीमित आकांक्षाहरू सम्बोधन गर्दै आइरहेको तथा आगामी दिनमा सांगठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवं सबै प्रहरी कर्मचारीहरूको पहलकदमी हुने उनको विश्वास थियो। 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जस्तसुकै कठिन परिस्थितिहरूबिच पनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आमजनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पूरा गर्दै आएको बताए । गृहमन्त्रीज्यूबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देशभरि छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममुखी हुने विश्वास उनको छ । 

प्रहरी महानिरीक्षक खापुङले हालको स्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुने सुरक्षा चुनौतीहरू एवं असहज परिस्थितिहरूको सामना गर्दै आमनागरिकहरूलाई शान्तिसुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउँदै नागरिक भरोसाको केन्द्रविन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताए । नेपालको संविधान, प्रचलित ऐन, कानुन तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डसमेतले निर्दिष्ट गरेको काम, कर्तव्य र दायित्वप्रति नेपाल प्रहरी पूर्णतः निष्ठावान रही आफ्नो जिम्मेवारी बहन गर्दै आएको बताउँदै नेपालको फौजदारी कानुनी प्रणालीमा आधारित रही अपराध अनुसन्धानलाई परिणाममुखी र वैज्ञानिक बनाई न्यायिक प्रक्रियामा निष्पक्ष र पूर्ण व्यावसायिक रही कार्यसम्पादन गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ थियो ।  

प्रहरी महानिरीक्षक खापुङले देशको राजधानीलगायत ठुला सहर तथा महानगरहरूमा अर्बान पुलिसिङका लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि तथा उपकरण र केही कानुनी अधिकारहरूले सुसज्जित हुन नितान्त जरुरी रहेको उल्लेख गर्दै समग्र नेपाल प्रहरीको आधुनिकीकरणमा हुने विलम्बले आमनागरिकमा राज्यका संरचनाहरूप्रतिको भरोसा प्रभावित हुने र देशको आन्तरिक सुरक्षाको मेरुदण्ड कमजोर हुने बताए । राज्यले सुम्पेको जिम्मेवारी बहन गर्ने आफ्नो मूलभूत दायित्वबाट नेपाल प्रहरी कहिलै विमुख नभएको एवं जनअपेक्षाअनुरूपको सेवा प्रवाहका लागि आवश्यक भौतिक स्रोत, साधन र पूर्वाधार तथा नवीनतम प्रविधिका साथसाथै वर्तमान परिप्रेक्ष्यमा प्रहरी कर्मचारीहरूको हौसला र मनोबल अभिवृद्धिलाई अत्यन्त महत्त्वका साथ सम्बोधन गर्नुपर्ने संवेदनशील घडीलाई तालुक मन्त्रालयबाट उच्च प्राथमिकताका साथ सम्बोधन हुने अपेक्षा उनको छ । युवापुस्ताले चाहना गरेको परिवर्तनको लहरमा आफ्नो स्वार्थ सिद्ध गर्न, राज्यको ऐतिहासिक धरोहरहरू, महत्त्वपूर्ण प्रतिष्ठानहरू, निजी तथा सार्वजनिक सम्पत्तिहरू, व्यापारिक प्रतिष्ठानहरूलगायतमा पुर्‍याइएको क्षतिमा संलग्नहरूको पहिचान एवं अनुसन्धान गरी कानुनबमोजिम कारबाहीको दायरामा ल्याई आमनागरिकको मनमा कानुनी राज्य र कानुनको शासनको प्रत्याभूति दिलाउन सफल हुने उनको विश्वास छ । 

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अर्यालसमक्ष प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवं विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाइगत संख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, संख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोस्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिका लागि माग भएका इकाइहरू, अपराध अनुसन्धान तथ्यांक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षालगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गरेका थिए।