मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ असोज २ बिहीबार १६:५३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भ्रष्टाचार र अनियमितताबारे लालझाडीका जेन–जीद्वारा जनप्रतिनिधि र कर्मचारीलाई ज्ञापन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १६:५३:oo

भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले छेडेकोे आन्दोलनले केन्द्रीय सत्ता परिवर्तन भएसँगै त्यसको प्रभाव स्थानीय तहमा पनि देखिएको छ। जेन–जी समूहले भ्रष्टाचार रोक्न कञ्चनपुरकोे लालझाडी गाउँपालिका स्थानीय सरकारको ध्यानाकर्षण  गराएको छ।

बुधबार जेन–जी विद्यार्थीले लालझाडीमा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै रोक्न ज्ञापनपत्र बुझाएका हुन्। लालझाडी स्वतन्त्र युवा जेन–जी समूहका संयोजक नारायण रानाले गाउँपालिका जनताको विकास निर्माणभन्दा भ्रष्टाचारमा लिप्त भएकाले चालू आर्थिक वर्षको सुरुवातमै ध्यानाकर्षण  गराएको बताए।

भ्रष्टाचार, कमिसनतन्त्रकै कारण सिंगाे गाउँपालिका बदनाम हुनुका साथै सबै क्षेत्र अस्तव्यस्त भएकाले समयमै भ्रष्टाचार रोक्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रिय स्तरका पत्रिकामा सूचना प्रकाशित गरेर तथा अन्य सबै योजनामा कर्मचारी र जनप्रतिनिधि मिलेर कमिसन खाने गरेको आरोप लगाउँदै उनीहरूले पालिका समृद्धिको साटो दुर्गतितर्फ उन्मुख भएको बताएका छन्।

पालिकाले विगत तीन वर्षको बजेट तथा खर्चको हिसाबकिताब तत्काल पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने, कुनै पनि जनप्रतिनिधि वा कर्मचारी अनियमिततामा संलग्न भएको प्रमाणित भएमा सम्बन्धित प्रतिनिधि वा कर्मचारीले तुरुन्त राजीनामा दिनुपर्ने, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू र कर्मचारीहरूले आफ्नो सम्पत्ति विवरण र स्रोत स्पस्ट रूपमा सार्वजनिक गर्नुपर्ने, सरकारी सवारीसाधनमा भइरहेको चरम दुरुपयोग रोक्नुपर्ने माग गरेका छन्।

यसैगरी, मनोमानी ढंगले गरेको करार कर्मचारी नियुक्ति खारेज गर्नुपर्ने, कार्यपालिकाको बैठकहरू लाइभ गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा १० लाखको बजेट निकासा भएको भन्ने विषय छानबिन गर्नुपर्ने, बाटोमा भएका ठुलाठुला खाडलहरूलाई ग्राभेल हालेर मर्मत गर्नुपर्नेलगायत मागसमेत जेन–जी समूहले अघि सारेको छ। 

१० दिनभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने उनीहरूको चेतावनी छ। जेन–जीको ज्ञापनपत्र बुझ्दै लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले पालिकामा कमिसन र भ्रष्टाचारजन्य गतिविधि नभएको दाबी गरे।