
धनकुटाका छत्रमान कुथुमी राईले जेन–जी युवापुस्ताको आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएपछि उनको गाउँ नै शोकमा डुबेको छ। धनकुटाको पाख्रीबास नगरपालिका– १०, चुङमाङ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका– १२, बलम्बुमा कुथुमी राई डेरा गरी बस्दै आएका थिए ।
जेन–जी आन्दोलनको क्रममा ६४ वर्षीय कुथुमी राईको काठमाडौंमा ०८२ भदौ २३ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो । उनको मृत्यु भएपछि उनको परिवार मात्र नभएर सिंगो गाउँ नै शोकमा डुबेको उनका छोरा सुवास राईले बताए। जेन–जी आन्दोलनको क्रममा मृत्यु भएका राईको शव धनकुटा ल्याएर पाख्रीबास नगरपालिका– १०, चुङमाङस्थित घरनजिकै बारीमा मंगलबार किराँत संस्कारअनुसार अन्त्येष्टि गरिएको पाख्रीबास नगरपालिका– १० का वडाध्यक्ष हरि खत्रीले बताए।
विपन्न परिवारका कुथुमी राईको अन्येष्टिमा दुई श्रीमती रामकुमारी र मन्दिरासहित आफन्तजनहरू सहभागी भएका थिए। कुथुमीको अन्तिम संस्कारको क्रममा उनको शवलाई जेन–जी धनकुटाका संयोजक निरोज जोशीलगायतले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।
कुथुमीको शव नेपाली सेनाको हेलिकाेप्टरमार्फत असोज १ गते धनकुटा सदरमुकामको सल्लेरीमा रहेको नेपाली सेनाको भीमदल गणमा ल्याइएको थियो । त्यहाँबाट उनको शव माइला छोरा सुवास राईको रोहवरमा गाउँ लगिएको थियो। लामो समयदेखि काठमाडौंमा बस्दै आएका कुथुमी राई राष्ट्रवादी राजनीतिक जनजागरण अभियानमा आबद्ध थिए।
सोही क्रममा भ्रष्टचारविरुद्ध जेन–जी युवाले काठमाडौंमा गरेको आन्दोलनमा सहभागी हुने क्रममा कुथुमी राईको मृत्यु भएको थियो। मृतक कुथुमी राईका तीन श्रीमती, तीन छोरा र तीन छोरी रहेका छन्। काठमाडौंमा ज्यालादारी र धामी–झाँक्री पेसा गरेर जीविकोपार्जन गर्दै आएका कुथुमीको मृत्यु भएपछि उनको साथमा रहेकी कान्छी श्रीमती र सानी छोरीको बिचल्ली भएको छ।
अहिले उनीहरू सबै परिवार भेला भएर धार्मिक परम्पराअनुसार किरियापुत्री बसेको वडाध्यक्ष खत्रीले बताए। उनको जेठा छोरा रेनु कुथुमी राई र जेठी छोरी सुजाताको भने विवाह भइसकेको छ।