मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुनर्निर्माण गर्न सरकारलाई स्रोतको चुनौती : ६.३७% ले घट्यो राजस्व संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४२:oo
  • दुई महिनामा १ खर्ब ५८ अर्बको राजस्व उठ्यो, पोहोरको सोही अवधिभन्दा १० अर्ब ८१ करोडले घट्यो राजस्व असुली 

जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिपछिको पुनर्निर्माण र निर्वाचनका लागि खर्च जुटाउनुपर्ने चुनौतीबिच सरकारलाई राजस्व संकलनमा पनि दबाब परेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो दुई महिनामा एक खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष ०८१/८२ को पहिलो दुई महिनामा एक खर्ब ६९ अर्ब ५२ करोडको राजस्व उठेको थियो । अर्थात् चालू आवको दुई महिनामा (१० अर्ब ८१ करोड रुपैयाँ) ६.३७ प्रतिशतले कम राजस्व उठेको हो । 

राजस्व संकलन कम भएपछि स्रोत जुटाउन सरकारले सार्वजनिक ऋणमा जोड गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । स्रोतको चुनौतीका बाबजुद अर्थमन्त्री रामेश्वर खनालले आयोजनाको पुन: प्राथमिकीकरण र साना टुक्रे आयोजनामा बजेट कटौती गरेर एक खर्ब रुपैयाँ जोहो गर्नका लागि कार्यदल गठन गरिसकेका छन् । 

लक्ष्यको ७२.६५% मात्रै उठ्यो 
चालू आर्थिक वर्षको दुई महिनामा सरकारले २ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, एक खर्ब ५८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । यो लक्ष्यको ७२.६५ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले लक्ष्यको ७९.४५ प्रतिशत राजस्व संकलन गरेको थियो । लक्ष्यको तुलनामा उठ्ने राजस्वको अनुपातसमेत घटेको देखिएको छ । 

भदौको राजस्वमा सुधार
दसैँ–तिहारकेन्द्रित आर्थिक कारोबारले भदौ महिनामा संकलन हुने राजस्व संकलनमा भने वृद्धि भएको छ । दसै“–तिहारमा वस्तुको माग बढ्ने भएकाले आयातसँगै आन्तरिक बजारमा पनि कारोबार बढ्ने हुँदा भदौमा राजस्व संकलनमा वृद्धि भएको हो । चालू आवको भदौ महिनामा ७३ अर्ब ६१ करोडको राजस्व संकलन भएको छ । मासिक लक्ष्य ९४ अर्ब ८ करोड उठाउने थियो । मासिक लक्ष्यको ७८.२५ प्रतिशत राजस्व संकलन भएको छ । गत वर्षको भदौमा ७२ अर्ब ५६ करोड मात्रै संकलन भएको थियो । 

आयकर र गैरकर राजस्व संकलनमा कमजोर 
आयकर र गैरकर संकलन पनि सरकार कमजोर देखिएको छ । आयकरतर्फ ५० करोड ५८ लाख राजस्व उठाउने लक्ष्य राखिएकोमा ३३ करोड ५ लाख मात्र (६५.३५%) र गैरकरतर्फ २५ करोड ७५ लाख लक्ष्यमध्ये ७ करोड १३ लाख मात्र (२७.७०%) उठेको मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा बढी संकलन मूल्य अभिवृद्धिकर (भ्याट)तर्फ ६४ करोड १० लाख लक्ष्यमध्ये ५२ करोड १४ लाख उठेको छ । यो लक्ष्यको ८१.३५ प्रतिशत हो । भन्सार महसुलतर्फ ४६ करोड ६२ लाख लक्ष्यमध्ये ३५ करोड ३९ लाख संकलन (७५.९१ प्रतिशत) भएको छ । अन्त:शुल्कतर्फ ३० करोड ५२ लाखको लक्ष्यमा २८ करोड ९५ लाख (९४.८५ प्रतिशत) र शिक्षा सेवा शुल्कतर्फ ८६ लाख ३१ हजारको लक्ष्यमा ८५ लाख ४० हजार (९८.९५ प्रतिशत) संकलन भएको छ ।