मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
कृष्ण रिजाल काठमाडाैं
२o८२ असोज २ बिहीबार १o:o५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन क्षेत्रको पुनरुत्थान तयारीमा सरकार र निजी क्षेत्र

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १o:o५:oo
  • जेन–जी आन्दोलनपछि पर्यटक आगमन ४० प्रतिशतले घट्यो, बुकिङ रद्द बढ्न थालेपछि पर्यटन क्षेत्रको द्रुत पुनरुत्थानको प्रयासमा जुटे सरकार र निजी क्षेत्र
  • जेन–जी आन्दोलनका क्रममा २४ होटेल, दुई केबलकार र केही रेस्टुरेन्टमा आक्रमण, तर पर्यटक सुरक्षित, नेपाल सुरक्षित रहेको सन्देश दिन डिजिटल प्लाटफर्मदेखि कुटनीतिसम्मको प्रयोग

गत २३ र २४ भदौको जेन–जी आन्दोलनका कारण पर्यटक आगमन घट्न थालेपछि सरोकारावालाहरू पर्यटन क्षेत्रको द्रुत पुनरुत्थानका लागि जुटेका छन् । पर्यटक आगमन घट्न नदिन, बुकिङ रद्द रोक्न र विश्वबजारमा नेपाल सुरक्षित रहेको भन्दै सकारात्मक सन्देश प्रवाह गर्न सरकार र निजी क्षेत्रले कसरत सुरु गरेका हुन् ।

आन्दोलनका क्रममा २४ होटेल, दुई केबलकार र केही रेस्टुराँमा तोडफोड, लुटपाट तथा आगजनी गरिएको थियो । यद्यपि, पर्यटकलाई भने कुनै भौतिक आक्रमण गरिएको थिएन । उक्त घटनापछि नेपाल आउने पर्यटकको संख्या घट्नुका साथै होटेल बुकिङ रद्द गर्ने संख्यासमेत बढेको छ । बुकिङ रद्दका लागि चासो बढ्न थालेपछि त्यसलाई रोक्न तथा पर्यटक आगमन अझ बढाउन सरकार र निजी क्षेत्र रणनीतिक रूपमा लागिपरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । 

बोर्डले आन्दोलन र त्यसक्रममा भएका घटनाले पर्यटन क्षेत्रमा पारेको तत्कालीन प्रभावका विषयमा प्रारम्भिक अध्ययन समेत गरिसकेको छ । आन्दोलन हुनुअघि ८ सेप्टेम्बरसम्म नेपामला पर्यटन आगमन दैनिक तीन हजार तीन सय हाराहारी  थियो । ९ सेप्टेम्बरदेखि १५ सेप्टेम्बरसम्म दैनिक एक हजार चार सय हाराहारी पर्यटन आगमन भएको बोर्डले जनाएको छ । ‘दुई दिन एयरपोर्ट बन्दसमेत भएको थियो । यसलाई समेत हिसाब गर्दा पर्यटन आगमन ४० प्रतिशतजतिले घटेको देखिन्छ । अझै एक साता प्रभाव रहन्छ,’ जोशीले भने, ‘त्यसपछि क्यान्सिलेसन कम हुने र पर्यटक आगमन बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।’

पर्यटक आगमन अझ नघटोस्, बुकिङ रद्द नहोस् तथा नायाँ पर्यटक आर्षित होऊन् भन्ने हेतुले छलफल एवं प्रचारप्रसार, डिजिटल प्लाटफर्मको उपयोग, कूटनीतिक नियोगको प्रयोगलगातय काम भइरहेका उनले बताए । अहिले पर्यटक पर्ख र हेरको स्थितिमा रहेको बुझिन्छ । उनीहरूले व्यापक चासो र सोधपुछ गरिरहेको होटेल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए । ‘चुनावी सरकार बनेर अवस्था सामान्य बन्दै गएपनि पर्यटकहरू अझै ढुक्क हुन सकेको अवस्था छैन, त्यसैले हामीले नेपाल सुरक्षित छ, पर्यटक सुरक्षित हुन्छन् भन्ने सन्देश प्रवाह गर्ने प्रयास गरिरहेका छौँ’ उनले भने, ‘अहिले यहाँ घुमिफिरमा रहेका पर्यटकलाई उनीहरूको उद्देश्य पुरा गराउन सघाउने, क्यान्सिलेसनका लागि सोधपुछ गर्नेलाई प्रत्याभुति दिलाउने र नयाँ पर्यटकलाई आकर्षित गराउने मुख्य तीन रणनीतिका साथ काम गरिरहेका छौं ।’

पर्यटक सुरक्षित रहेको सन्देश 
जेन–जी आन्दोलनका क्रममा देशले ठुलो जनधन गुमायो । ७४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यस्तै, सरकारी भवन, निजी व्यवसाय र आवासमाथि आक्रमण गरियो । तर, पर्यटकमाथि भने कुनै अप्रिय घटना भएन । यसबाट नेपालमा पर्यटक सुरक्षित हुने सन्देश प्रवाह भएको बोर्डका सिइओ जोशीले बताए । हाल नेपालमा १५ हजार हाराहारी पर्यटक घुमफिरमै छन् । ‘प्रदर्शनकै क्रममा आन्दोलनकारीले पर्यटक बसलाई सुरक्षित रूपमा जान दिएको देखिन्छ, पर्यटकमाथि कुनै पनि आक्रमण भएन, यसले विश्व पर्यटन क्षेत्रमा नेपालका बारेमा सकारात्मक सन्देश गएको छ,’ उनले भने । जोशीका भनाइमा हानका अध्यक्ष शाहसमेत सहमत छन् । उनी भन्छन्, ‘दसवर्षे जनयुद्ध, ०६२/६३ को जनआन्दोलन र पछिल्लो जेन–जी आन्दोलनलगायत सबैखाले घटनामा पर्यटकलाई नियतवश आक्रण गरिएको देखिदैन, यो नेपालका लागि प्सलप्वाइन्ट हो ।’

सरकारी पहलको खाँचो
निजी क्षेत्रले सरकारले पर्यटन क्षेत्रको द्रुत पुनरुत्थानका लागि प्रभावकारी पहलकदमी लिनुपर्ने बताएका छन् । यही २७ सेप्टेम्बर (११ असोज)मा विश्व पर्यटन दिवस रहेको छ । उक्त दिवसअघि नै प्रधानमन्त्रीको तहबाट नेपाल सुरक्षित रहेको भन्दै पर्यटकलाई आह्वान गर्दा उपयुक्त हुने हानका अध्यक्ष शाह बताउँछन् । हालै भएको आन्दोलन र त्यसक्रममा घटेका घटनालाई ध्यानमा राखेर अमेरिका, क्यानडालगायत थुप्रै देशले ट्राभल एडभाइजरी जारी गरेर नेपाल घुम्न निरुत्साहित गरेका छन् । सरकारले कूटनीतिक पहल गरेर त्यस्ता ट्राभल एडभाइजरी हटाउन वा थप खुकुलो बनाउन प्रयास गर्नुपर्ने उनको भनाइ छ । 

पुनरुत्थानका लागि ऐक्यबद्धता
गत सोमबार पर्यटन बोर्डले जेन–जी आन्दोलनबाट पर्यटन क्षेत्रमा भएको क्षति र पुनरुत्थानका विषयमा छलफलसमेत आयोजना गरेको थियो । उक्त छलफमा सहभागी सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न ऐक्यबद्धता जनाएका थिए । पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका थिए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउन ‘पर्यटन प्याकेज’ सार्वजनिक गर्नुपर्ने बताएका थिए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा)का अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देशलाई प्रवाह गर्नुपर्ने बताएका थिए ।