मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १९:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस प्रमुखको घर जलाउँदा सँगैका दुई उद्याेग खरानीमा परिणत

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १९:३२:oo

गत भदौ २४ गते जेनजी आन्दोलनकारीले जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको निजी निवासमा आगजनी गरे। तत्कालीन गृहमन्त्री रमेश लेखकका दुवै घर जलाएर साँझतिर आएका आन्दोलनकारीले जिसस प्रमुख बोहराको भीमदत्त नगरपालिका– ४ भगतपुर महेन्द्रनगरको निजी निवासमा आगजनी गरेका थिए।

तर, प्रदर्शनकारीले जिसस प्रमुखको घर मात्रै नभई संगै रहेका दुई गार्मेन्ट उद्योगमा समेत आगजनी गरिदिए। जिसस प्रमुख बोहराको घरसँगै जोडिएको मेलौली हाउजियारी उद्योग र छेउमै रहेको श्रीराम हाउजिङमा पनि आगजनी गरेपछि दुवै उद्योगका मेसिन, सरसमान खरानीमा परिणत भएका छन्।

मेलौली हाउजियारी उद्योगका संचालक धनसिंह पुजाराले दिउँसैदेखि आएका दुई आन्दोलनकारी समूहले कुनै क्षति नगरे पनि साँझतिर आएको तेस्रो समूहले फिल्मी शैलीमा आगजनी गरेका बताए। ‘म र मजदुरहरु बिहानैदेखि उद्योगमा काम गर्दै थियौँ, बजारमा आन्दोलन भइरहेको छ भन्ने सुनें। अरु दिन पनि हुने आन्दोलन समान्य नै हुन्छ भनेर हामीले आफ्नो काम गर्दै थियौँ,’ उनले भने।

पहिलो र दोस्रो समूहलाई आफूले बोहराको घर जलाउँदा सँगै रहेका दुई उद्योगमा क्षति हुने भनी सम्झाएर पठाए पनि तेस्रो समूहले आगजनी गरेको उनले बताए। ‘अन्तिमपटक आएको हुलले यो उद्योग तपाईँको भए प्रमाणपत्र देखाउनु भन्यो, म प्रमाणपत्र लिन भित्र गएँ, फर्किँदा राखेको मोटरसाइकलकै पेट्रोल निकालेर आगो लगाइसकेछन्। क्षणभरमै तोडफोड, आगजनी र लुटपाट गरे,’ उनले भने।

आगजनीबाट दुवै उद्योगका सबै मेसिन, स्टक कपडा, तयारी कपडा, कागजातलगायत सबै सामान जलेर खरानी मात्र बाँकी छ। ‘आगजनी भएपछि दुवै उद्योगमा ३४/३५ जना मजदुरको रोजगारी खोसिएको छ,’ पुजाराले भने, ‘यस्तो हिंसात्मक र विध्वंसात्मक आन्दोलन कहिल्यै सामना गरिन।’

जिसस प्रमुख दुर्गादत्त बोहराले घरमा तोडफोड, आगजनीसँगै नगद, गरगहना लुटपाट भएको बताए। ‘घरभित्र बुहारीहरुका गरगहना थिए, सबै लुटेर लगे,’ उनले भने, ‘यो त अराजकताको पराकाष्टा नै हो, यो हदसम्मको हामीले अन्याय गरेका पनि छैनौँ।’