Skip This
दसैँलक्षित सुपथ पसल र नयाँ नोट वितरण सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट नोट सटही गर्दै
अजित अधिकारी काठमाडाैं
२o८२ भदौ ३१ मंगलबार o९:o१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँलक्षित सुपथ पसल र नयाँ नोट वितरण सुरु

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार o९:o१:oo

सोमबारबाट दसैँलक्षित सुपथ पसल र नयाँ नोट वितरण थालिएको छ । सरकारी स्वामित्वको दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सोमबारदेखि छुट मूल्यसहितको सुपथ पसल सुरु गरेका हुन् भने राष्ट्र बैंकले सुकिला नोटको वितरण थालेको हो ।

खाद्य संस्थानले थापाथली, नख्खु, सूर्यविनायकसहित देशभरका प्रदेश, शाखा र उपशाखा कार्यालयमार्फत छुटसहितको खाद्यान्न बिक्री थालेको जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङले पनि कालीमाटी, जडीबुटी, सतुंगललगायतका आउटेलटबाट बिक्री थालेको छ । दुवै संस्थानले देशभर एक सय ५३ स्थानमा सुपथ पसल सञ्चालन थालेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

विगतका तुलनामा कम चहलपहल भएको खाद्यको सुपथ पसल

सुपथ पसलबाट चामल, दाल, गहुँ, चिनी, गेडागुडी तथा चिउरा प्रतिकिलो पाँच रुपैयाँ र आँटा, पिठो, मैदा, खानेतेल प्रतिकिलो सात रुपैयाँ छुटमा उपलब्ध गराइएको छ । खाद्य कम्पनीले कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापर प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री थालेको छ । नुन दुई रुपैयाँ र जिरा, धनियाँ, चियापत्ती र जिउँदो खसी–बोका तथा च्यांग्रा प्रतिकिलो १० रुपैयाँ छुटमा उपलब्ध गराउने निर्णय भएको छ । तर, यसपटक खसी–बोका र च्यांग्रा उपलब्ध हुने सम्भावना कम रहेको खाद्यका सूचना अधिकारी माधव मिश्रले जानकारी दिए ।

खाद्यले छुट दिएर मार्सी चामल दुई सय २० रुपैयाँ, १० किलोको बासमती चामल १२ सय, २५ किलो बोराको चामल १४ सय २५ देखि २१ सय २५ सम्म मूल्य तोकेर बिक्री गरिरहेको छ । त्यसैगरी, मुसुरो दाल एक सय ३५, मास दाल एक सय ६५, रहर दाल दुई सय पाँच, मुँग खोस्टा एक सय ८५, चना एक सय ४०, चिउरा ९३, तोरीको तेल दुई सय १८ र तीन सय ५३, सनफ्लावर तेल दुई सय १६, भटमासको तेल दुई सय १५ र चिनी ९५ रुपैयाँ प्रतिकिलो बिक्री मूल्य राखेको छ । त्यसैगरी, साल्ट ट्रेडिङले छुटपछि नुन २४ र चिनी ९० रुपैयाँमा बिक्री गरिरहेको छ । साल्ट ट्रेडिङले छुट मूल्यमा १२ थरीका चामल बिक्रीमा राखेको छ । २१ सय प्रतिबोरा रहेको भान्साघर चामलमा २० रुपैयाँ छुट दिएर दुई हजार ८० मा बिक्री गरिरहेको छ । चामलमा १० देखि २५ रुपैयाँसम्म प्रतिबोरा छुट दिइएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी ब्रजेश झाले सुपथ मूल्यमा विगतको जस्तो भिडभाड भने नरहेको बताए । 

‘पोहोरसम्म भिड धेरै हुन्थ्यो, त्यसैले कालीमाटीस्थित केन्द्रीय कार्यालयको बिक्री केन्द्रमा तीनवटासम्म काउन्टर राख्ने गरिएको थियो,’ उनले भने, ‘यसपालि एउटै काउन्टरले काम गरिरहेका छौँ । उपभोक्ताको उपस्थिति पनि पातलो नै छ ।’ थापाथलीस्थित खाद्य कम्पनीको आउटलेटमा पनि भिड पातलो छ । 

यसपालि पनि सुकिला नोट
राष्ट्र बैंकले सोमबारदेखि सुकिला नोट सटही थालेको छ । पोहोर पनि नयाँ नोटको सट्टा सुकिला नोट वितरण गरिएको छ । दसैँमा टीका लगाउँदा दक्षिणाबापत नयाँ नोट दिने परम्परा छ । त्यसैले दसैँमा आमसर्वसाधारणले नयाँ नोट खोज्ने गरेका छन् । तर, आर्थिक भार बढ्दै गएको तर्क गरेर राष्ट्र बैंकले गत वर्षदेखि बजारमा उपलब्ध नोटलाई नै सामान्य प्रशोधन गरेर सुकिलो बनाई वितरण गर्दै आएको छ । राष्ट्र बैंकले काठमाडौंको थापाथलीस्थित मुद्रा व्यवस्थापन महाशाखा र उपत्यकाबाहिरको प्रादेशिक कार्यालयबाट सुकिला नोट उपलब्ध गराइरहेको छ । 

अघोषित रूपमा अग्रिम टिकट बुकिङ, दसैँ मनाउन फर्कन थाले विद्यार्थी 

विद्यार्थीलाई घर जान अग्रिम टिकट बुकिङ थालेको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । विश्वविद्यालय, कलेज तथा स्कुल तिहारसम्मका लागि बिदा भइसकेकाले उपत्यकाबाहिरका विद्यार्थीलाई घर जान सजिलो हुने गरी टिकट बुकिङ लिएको उनले जानकारी दिए । त्यस्तै, अनलाइनबाट समेत दसैँको अग्रिम टिकट बुकिङ भइरहेको उनले जानकारी दिए । तर, व्यवसायीले घोषित रूपमा बुकिङ खुलाइसकेका छैनन् । ‘चाँडै निर्णय गरेर अग्रिम बुकिङ खलाउँदै छौँ,’ अध्यक्ष स्वाँरले भने । विद्यार्थीहरू धमाधम घर गइरहेकाले यसपटक अग्रिम बुकिङ खुलाउँदा ठुलो चाप नपर्ने व्यवसायीको अनुमान छ । अनलाइन टिकट बुकिङ पनि उल्लेख्य मात्रामा भइरहेको व्यवसायीले जनाएका छन् । औपचारिक रूपमा बुकिङ खुलेपछि नयाँ बसपार्कलगायतका काउन्टरमा सर्वसाधारण भौतिक रूपले उपस्थित भई टिकट काट्ने व्यवस्था हुनेछ ।