मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सबैजसो पुराना दलका कार्यालय आगजनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:o७:oo

प्रदर्शनकारीले कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेका छन् । केन्द्रको मात्रै नभई विभिन्न जिल्लाका कार्यालयमा पनि आक्रमण गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ढुंगामुढा प्रहार गर्दै आगजनी पनि गरेका छन् । त्यस्तै, एमाले केन्द्रीय कार्यालय च्यासलमा पनि तोडफोड र आगजनी गरेका छन् । माओवादीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय र एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा पनि आगजनी गरेका छन् । 

राष्ट्रपतिदेखि नेताका घरसम्म आगजनी
राष्ट्रपति रामचन्द्र पौडेलदेखि एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डलगायत ठूला नेताका घरमा प्रदर्शनकारीले आगजनी तथा तोडफोड गरेका छन् । 

राष्ट्रपति पौडेलको बोहराटारस्थित निजी निवासमा आगजनी गरेका हुन् । त्यस्तै, प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीको भक्तपुरस्थित ओलीनिवासमा आगजनी गरेका छन् । प्रदर्शनकारी तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । ओलीको झापाको घरमा पनि आगजनी गरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणालाई उद्धार गरिँदै

त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर आगजनी गरेका छन् । देउवा र उनकी श्रीमती परराष्ट्रमन्त्री आरजु देउवा राणालाई कुटपिट र लछारपछार गरी सेनाको जिम्मा लगाएपछि घरमा आगो लगाएका हुन् । सार्वजनिक भिडियोमा देउवालाई चउरको बिचमा बसालिएको, वरिपरि सेना र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको र केही प्रदर्शनकारीले उनीहरूलाई गाली गरिरहेको सुनिन्छ ।

माओवादी अध्यक्ष प्रचण्डको ललितपुर खुमलटारनिवास तोडफोड गरेका छन् भने चितवनको घरमा आगजनी गरेका छन् । खुमलटारमा बिहानै ढुंगामुढा प्रहार गरेका थिए । माओवादी नेता नारायणकाजी श्रेष्ठको भाडाको घरमा पनि तोडफोड गरेका छन् । 

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको कोटेश्वरस्थित घर र सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । आगजनी हुँदा घरमै रहेकी खनालकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन् । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । 

कांग्रेस नेता गगन थापाको रातोपुलस्थित निवासमा पनि ढुंगामुढा गरेका छन् । घरमा पार्किङ गरिराखेको गाडीमा आगजनी गरेका छन् । त्यस्तै, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको स्वयम्भूस्थित घरमा आगजनी गरेका छन् । 

एमाले नेता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आगजनी गरेका छन् । एमालेकै महासचिव शंकर पोखरेल, नेताहरू महेश बस्नेत र गोकुल बाँस्कोटा, एकीकृत समाजवादीमा सांसद प्रेम आले र माओवादीका पूर्वसांसद रामनारायण बिडारीको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाको घरमा पनि तोडफोड गरेका छन् ।