
बेरोजगारी, असमानता र भ्रष्टाचारविरुद्ध उठेको जेन–जी पुस्ताको आन्दोलन आइतबार हेटौँडामा झन् उग्र बनेको छ । बिहान शान्तिपूर्ण नाराबाजीका रूपमा सुरु भएको विरोध दिउँसोतिर हिंसात्मक रूप लिँदै सरकारी संरचनामै तोडफोडसम्म पुगेको छ ।
बिहानैदेखि हेटौँडा– ४ शीतलमहल चोकमा जम्मा भएका प्रदर्शनकारीकाे संख्या सीमाचोक, बुद्धचोक हुँदै मानसचोक पुगेपछि भिड बाक्लिएको थियो । ठुलो संख्यामा नारा लगाउँदै अघि बढेका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय र हेटौँडा उपमहानगरपालिकाको भवन लक्षित गर्दै तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गर्दै भवनका सिसा फुटाएका थिए । तोडफोडका कारण मुख्यमन्त्री कार्यालयको अगाडिको गेट र पर्खाल क्षतिग्रस्त बनेको छ भने प्रशासन कार्यालयको सिसा फुटेको छ । जेन–जी नेताहरूले माग पूरा नभएसम्म आन्दोलन अझ कडा हुने चेतावनी दिएका छन् । स्थानीय व्यापारीले बजार बन्द गराएका छन् ।
उता मनहरीमा पनि प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारीहरूले एमाले मनहरीको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।