मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
Invalid date format १o:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पूर्व–पश्चिम राजमार्ग विस्तार १८ महिनामा २५ प्रतिशत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o३:oo

बंगलादेशको ढाका हुँदै नेपालको पूर्वी नाका काँकडभिट्टादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने एसियन राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही सडक विस्तार कार्य १८ महिनामा २५ प्रतिशत काम भएको छ । एसियाली विकास बैंकको तीन सय मिलियन डलर ऋण सहायता र नेपालको लगानीमा चार लेनमा विस्तार हुँदै गरेकोे काँकडभिट्टा–लौकही सडकलाई दुई खण्डमा विभाजन गरिएको छ ।

दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने गरी भइरहेको दुवै खण्डको काम २५ प्रतिशत पूरा भएको काँकडभिट्टा–लौकही सडकको पूर्वी र पश्चिम खण्डले जनाएको छ । काँकडभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक ठेक्कामा लगाउने योजना भए पनि सुनसरीको लबिपुरसम्मको ९५ किलोमिटर २ कात्तिक ०८० मा ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार १९ माघ ०८३ निर्माण सम्पन्न गर्नुपर्नेछ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि झापाकै कमल गाउँपालिकास्थित केर्खासम्मको ४५ किलोमिटर रहेको छ । विगतमा रहेको दुई लेन सडकलाई चार लेनमा विस्तार गर्न दश अर्ब ६ करोडमा एभरासकोन–कालिका जेभीले ठेक्का लिएको छ । निर्माण सुरु भएको १८ महिनामा २५ प्रतिशत काम सकिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड)का प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए । 

यद्यपि, पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीको पुल भने छुट्टै ठेक्का लागेर काम भइरहेको उनले बताए । यी तीन पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएको छन् । पुल निर्माणको काम पनि २५ प्रतिशत नै भएको उनले बताए । यो खण्डमा जनावरलाई सडक पार गर्न अन्डर पास पनि निर्माण गरिने उनले बताए । झापाको चारालीस्थित हात्ती वारपार गर्ने जंगलमा १५ मिटर लम्बाइको ६ दशमलव ५ मिटर उचाइ भएको पुल निर्माण गरिँदै छ ।

यस्तै, केर्खादेखि पश्चिम सुनसरीको लबिपुरसम्मको ५० दशमलव ७६ प्रतिशत सडक विस्तारको काम पनि २५ प्रतिशत हाराहारी सम्पन्न भएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)का प्रमुख जगत प्रजापतिले बताए ।

केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि लबिपुरसम्मको १० दशमलव ७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले चार अर्ब सात करोडमा निर्माणका लागि ठेक्का लिएको उनले बताए । यस्तै, नेपाल विद्युत् प्राधिकरणले सडकमा पर्ने बिजुलीका पोलहरू समयमा नहटाउँदा काम अघि बढाउन केही समय समस्या भएको पश्चिम खण्ड प्रमुख प्रजापतिले बताए । यस्तै, पश्चिम खण्डमा पर्ने ठुलाका तीन पुल निर्माणको काम भने २९ प्रतिशत सकिएको उनले बताए ।