
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने महाशाखाले प्रक्षेपण गरेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।