मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५१:oo
  • १८ अर्ब चुक्ता पुँजी भएको टेलिकममा अहिले सर्वसाधारणको सेयर हिस्सा ८.४७ प्रतिशत छ

सरकारले चालू आर्थिक वर्ष ०८२/८३ को फागुनसम्म नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ । बजेट कार्यान्वयन कार्ययोजनामार्फत फागुनसम्ममा सेयर विनिवेश गर्ने तालिका बनाएको हो । अर्थ मन्त्रालयको सरकारी लगानी व्यवस्थापन इकाइले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा यस्तो तयारी गरेको हो । चालू आर्थिक वर्षको बजेटमा ‘नेपाल सरकारको बहुमत सेयर कायम रहने गरी नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत सेयर आमनागरिकमा विनिवेश गर्ने’ उल्लेख छ ।

१८ अर्ब चुक्ता पुँजी भएको टेलिकममा कर्मचारीसहित सर्वसाधारणको सेयर हिस्सा हाल ८.४७ प्रतिशत छ । ९१.५३ प्रतिशत हिस्सा सरकारको नै छ । ३० प्रतिशत सेयर बिक्री भएमा टेलिकममा सरकारको हिस्सा घटेर ६१.३० प्रतिशत मात्र हुनेछ । हाल टेलिकमको बजार पुँजीकरण डेढ खर्ब रुपैयाँ छ ।

गएको आर्थिक वर्ष ०८१/८२ को वित्तीय विवरणअनुसार टेलिकमको खुद नाफा ५७.२१ प्रतिशतले घटेर दुई अर्ब ६६ करोड ८१ लाख ९२ हजार रुपैयाँ भएको छ । कम्पनीले त्यसअघि आव ०८०/८१ मा ६ अर्ब २३ करोड ५५ लाख दुई हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस हिसाबले एक वर्षमै टेलिकमको नाफा तीन अर्ब ५६ करोड ७३ लाख रुपैयाँले घटेको छ । कम्पनीको सञ्चालन आय गत वर्षको सोही अवधिको तुलनामा स्थिर रहे पनि कुल आय र खुद मुनाफामा भने गिरावट देखिएको छ ।

कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३४ अर्ब ५६ करोड दुई लाख ६५ हजारको तुलनामा जम्मा ०.०८ प्रतिशतले कमी हो । कुल आय भने ३८ अर्ब ७३ करोड ३३ लाख ४१ हजारमा सीमित रह्यो । 

गत आवको सोही अवधिको ४२ अर्ब ११ करोड ६९ लाख १० हजारको तुलनामा ८.०३ प्रतिशतले घटेको हो । एक आर्थिक वर्षमा कम्पनीको कुल आय तीन अर्ब ३८ करोड ३५ लाख ६९ हजारले कमी भएको छ । 

गत आवमा करबाहेक कम्पनीले ११ अर्ब २१ करोड ६३ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यसअघि यस्तो नाफा ११ अर्ब २५ करोड ६ लाख ५१ हजार रुपैयाँ थियो । 

सरकारले नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने घोषणा गरिसकेको छ । सर्वसाधारणलाई सेयर जारी गर्ने प्रक्रियासँगै रणनीतिक साझेदार भित्र्याउने विषयमा छलफल भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।