मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
Invalid date format o८:५७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय फुटबल खेलाउन दशरथ रंगशाला फेरि अयोग्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५७:oo

एसियन फुटबल महासंघ (एएफसी)ले साउदी अरेबियामा २०२७ मा हुने एएफसी एसियन कपको छनोटअन्तर्गत भियतनाम र मलेसियाविरुद्धका खेल दशरथ रंगशालामा खेलाउन नमिल्ने जनाएको छ । एएफसीको प्राविधिक कमिटीले दशरथ रंगशाला अन्तर्राष्ट्रिय स्तरको मापदण्ड नपुगेको भन्दै यहाँ खेल खेलाउन नमिल्ने निर्णय गरेको छ । एएफसीको यो निर्णयपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली पुन: एकपटक दशरथ रंगशालालाई घरेलु मैदानका रूपमा प्रयोग गर्न वञ्चित भएको छ ।

रंगशालामा अन्तिमपटक फिफा विश्वकप २०२६ अन्तर्गत २०२३ को नोभेम्बर १७ मा यमनविरुद्ध खेल भएको थियो । त्यसयता दशरथ रंगशालामा फिफा र एएफसीका कुनै पनि पुरुष प्रतियोगिता आयोजना हुन सकेको छैन । गत १० अगस्टमा एएफसीको प्राविधिक कमिटीले दशरथ रंगशालाको निरीक्षण गरेको थियो । एएफसीका सहमहासचिव सिनमान गिलको नेतृत्वमा रहेको कमिटीले अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुँदा, सुरक्षा व्यवस्था कमजोर र फ्लडलाइट राम्रो नभएकाले नै भियतनाम र मलेसियाविरुद्धको अवे खेलको आयोजनाको अनुमति दिन नसकिने एन्फालाई जानकारी दिएका छन् ।

एन्फाका प्रवक्ता किरण राईले पनि एएफसीले दशरथ रंगशालामा एसियन छनोट खेल गराउन नमिल्ने आफूलाई जानकारी प्राप्त भएको बताएका छन् । ‘एएफसीले विशेष गरी दशरथ रंगशालाको संरचना, फ्लडलाइट, सुरक्षा व्यवस्था, मैदानको लेभल तथा प्यारापिटबारे प्रश्न उठाएका छन् । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गराउन यी पक्ष ज्यादै कमजोर हुँदा नै हामीले छनोट खेल आयोजना गर्न नपाएका हौँ,’ राईले नयाँ पत्रिकालाई भने, ‘यद्यपि, हामीले वैकल्पिक मैदानका रूपमा च्यासल तथा नेपाली सेनाको मुख्यालयस्थित मैदान पनि प्रस्ताव राखेका थियौँ, तर एएफसीले सबै प्रस्ताव अस्वीकार गरेको छ ।’

एसियन कपको छनोटअन्तर्गत नेपालले १४ अक्टोबरमा भियतनामविरुद्ध घरेलु मैदानमा खेल्ने कार्यक्रम थियो । त्यसपछि दशरथ रंगशालामै १८ नोभेम्बरमा मलेसियासँग खेल खेल्ने तालिका थियो । नेपालले ९ अक्टोबरमा भियतनामसँग उसकै घरेलु मैदानमा अवे खेल खेल्नेछ ।

रंगशाला प्रविधियुक्त हुनुपर्ने एएफसीको सुझाव
एएफसीका सहमहासचिव गिलले दशरथ रंगशालाको संरचना धेरै पुरानो भइसकेको र यसलाई प्रविधियुक्त बनाइनुपर्ने सुझाव एन्फालाई दिएका छन् । एएफसीले विशेष गरी अन्य कारणभन्दा पनि पूर्वाधारकै कारण अन्तर्राष्ट्रिय खेल आयोजना गर्न स्वीकृति नदिएको एन्फाका महासचिव राईले बताए । ‘एएफसीको प्राविधिक कमिटीले अरू कारण नभएर दशरथ रंगशालाको संरचनामाथि नै प्रश्न उठाइएको छ । उनीहरूले यो रंगशाला अति नै पुरानो भएको र यसमा जोखिम धेरै भएको मानेका छन्,’ राईले भने, ‘विभिन्न देशका पुराना रंगशाला आधुनिकीकरण भएजस्तै दशरथ रंगशाला पनि यस्तै हुनुपर्ने सुझाव दिएका छन् ।’ एएफसीका गिलले रंगशालामा भिभिआइपी, मिडिया र सर्वसाधारण जाने बाटो एकै भएको बताएका छन् । 

मैदान कामचलाउ मात्र
एएफसीले सहमहासचिव गिलले एन्फालाई रंगशालाको मैदान केवल कामचलाउ मात्र भएको जनाएका छन् । ‘हामीहरूले मैदान केवल काम चलाउने रूपमा पायौँ । फ्लडलाइटको अवस्था ठिक नभएको, मैदानमा पानी हाल्ने र निकासको व्यवस्था दयनीय रहेको छ । यी पक्षमा विगतमा पनि एएफसीले सचेत नगराएको होइन, तर यस सम्बन्धमा कुनै सुधार भएको पाएनौँ,’ गिलले एन्फाका महासचिव राईलाई लेखेको पत्रमा उल्लेख छ, ‘रंगशालाबाट बाहिरि निस्कने मुख्य गेट एउटै मात्र रहँदा सुरक्षाको खतरा यथावत् रहेको छ । प्यारापिटका सिटमा कुनै मार्किङ नभएको खेल यहाँ हुन नसक्ने अवस्था छ ।’ 

यसअघि सन् २०२४ को अगस्टमा एएफसीको टोलीले रंगशालाको निरीक्षण गरेको थियो । त्यसवेला पनि एएफसीको टोलीले धेरै समस्या देखाएको थियो । गिलले सन् २०२६ को २५ जनवरीमा एन्फालाई पत्र लेख्दै रंगशालामा धेरै सुधार गर्नुपर्ने बताएका थिए । छनोट खेलमा नेपाल समूह ‘एफ’मा छ । नेपालले अहिलेसम्म दुईवटा खेल खेलेको छ । नेपाल अंकविहीन छ । ६ अंकका साथ मलेसिया शीर्ष स्थानमा छ । समान तीन अंक जोडेका भियतनाम दोस्रो र लाओस तेस्रो स्थानमा छन् । नेपालले मलेसिया तथा लाओसविरुद्धका अवे खेलमा नतिजा गुमाइसकेको छ ।