मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बडूको नाममा देउवा नमानेपछि ईश्वरीलाई सभापतिबाटै राजीनामा गराएर उम्मेदवारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:o२:oo

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरीदेवी न्यौपानेको एकल उम्मेदवारी परेको छ । संघीय निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीमा नैतिक जिम्मेवारी लिँदै सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा कांग्रेस सांसद न्यौपानेले मंगलबार उम्मेदवारी दर्ता गराएकी हुन् ।

संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेले मंगलबार सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएर राज्य व्यवस्था समिति सभापतिका लागि उम्मेदवारी दिएकी हुन् । न्यौपानेको प्रस्तावकमा रामहरि खतिवडा र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ छन् । प्रतिनिधिसभा सचिव हर्कराज राईका अनुसार सभापतिमा न्यौपानेको एकल उम्मेदवारी परेको छ । यससँगै न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् । बुधबार दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था समिति बैठकमा ज्येष्ठ सदस्यले न्यौपाने सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् । 

राज्य व्यवस्था समिति सभापति खतिवडाले २८ साउनमा राजीनामा दिएपछि कांग्रेसले नयाँ उम्मेदवारको खोजी गरेको थियो । प्रतिनिधिसभा नियमावलीअनुसार सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ चयन भइसक्नुपर्छ । जसअनुसार ११ भदौमा सभापति चयन भइसक्नुपर्छ । राज्य व्यवस्था समितिमा कांग्रेसबाट रामहरि खतिवडाबाहेक पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, दिलेन्द्रप्रसाद बडू, हृदयराम थानी, ईश्वरीदेवी न्यौपाने, सरिता प्रसाईं, अम्बिका बस्नेत सदस्य छन् । समितिबाहिरका सांसद ल्याउन सदनको अनुमति लिनुपर्ने र प्रतिनिधिसभा १३ गते मात्रै बस्ने भएकाले कांग्रेस समितिभित्रैबाट सभापतिको उम्मेदवार बनाउन बाध्य भएको हो । सुरुवाती चरणमा समितिभित्रबाट बडू, थानी, प्रसाईं, बस्नेतमध्ये एक सभापतिको उम्मेदवार हुने चर्चा थियो । न्यौपाने सुनुवाइ समिति सभापति भएकाले उनको नाम चर्चामा थिएन । 

सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमिति बैठकमा समितिभित्रका चारजनाको नाममा चर्चा भएको थियो । सांसद बडू उपयुक्त हुने जोड पदाधिकारीको थियो । तर, देउवा मानेनन् । त्यसपछि महामन्त्री शर्माले प्रमुख सचेतक श्याम घिमिरेलाई सभापति बनाउन प्रस्ताव गरेका थिए भने प्रमुख सचेतकमा खतिवडालाई पठाउनुपर्ने धारणा राखेका थिए । यसमा सभापति देउवा सहमत भए पनि सदनको अनुमति चाहिने र सदन १३ भदौमा मात्रै बस्ने हुँदा नमिल्ने भएपछि यो प्रस्ताव पनि अगाडि बढेन । कांग्रेस प्रमुख सचेतक घिमिरेले यो विकल्पमा पनि छलफल भएको, तर प्राविधिक रूपमा सम्भव नभएको बताए । ‘मेरो नाममा पनि चर्चा भएको हो, तर टेक्निकल्ली अप्ठ्यारो भयो । म शिक्षा समितिमा छु, त्यहाँबाट सार्नुपर्ने भयो । त्यो समयको हिसाबले सम्भव भएन,’ उनले भने । 

समितिभित्रका चारजनाको नाममा सहमति नजुटेको र प्रमुख सचेतक घिमिरेलाई उम्मेदवार बनाउने विकल्प पनि सम्भव नभएपछि खतिवडालाई नै उम्मेदवार बनाएर सभापति दोहोर्‍याउने विकल्प पनि आएको थियो । यो गलत हुने भन्दै महामन्त्री शर्माले कडा विरोध गरेका थिए । यससँगै सोमबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो । मंगलबार बसेको बैठकमा देउवाले सुनुवाइ समिति सभापति न्यौपानेको नाम प्रस्ताव गरे । न्यौपानेलाई सुनुवाइ समितिबाट राजीनामा गराएर राज्य व्यवस्था समिति सभापतिको उम्मेदवार बनाउने प्रस्तावलाई पदाधिकारीले अनुमोदन गरेपछि उनले मनोनयन दर्ता गराएकी हुन् ।

कांग्रेस प्रमुख सचेतक घिमिरेले विभिन्न विकल्पमा छलफल गर्दा न्यौपानेको नाममा सहमति जुटेको बताए ।