मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
Invalid date format o७:४३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एकै दिन खेलिएका दुई अभ्यास खेलमा नेपाल विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४३:oo
  • अस्ट्रेलियाको घरेलु टोली क्रिकेट एसिटीविरुद्ध पहिलो खेलमा ४१ रनले जित निकालेको नेपालले दोस्रो खेलमा ६ विकेटले सानदार जित निकाल्यो

नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार एकै दिन खेलिएका दुईवटै टी–२० खेलमा जित निकालेको छ । नेपालले अस्ट्रेलियाको क्रिकेट एसिटी अस्ट्रेलियालाई लगातार खेलमा हराएको हो । पहिलो अभ्यास खेलमा ४१ रनले विजयी भएको नेपालले दोस्रो खेलमा ६ विकेटको सानदार जित निकाल्यो । पहिलो खेलमा सन्दीप लामिछानेले पाँच विकेट तथा दोस्रो खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ४२ रनको योगदान दिएका थिए ।

पहिलो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७७ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा क्रिकेट एसिटीले १७.२ ओभरमा सवै विकेट गुमाएर एक सय ३६ रन जोडेको थियो । नेपालका लागि आसिफ सेखले ३९ बलमा ६९ रन, रोहित पौडेलले ३६ रन र आरिफ सेखले २४ रन बनाए । बलिङमा सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएका थिए । घरेलु टोलीलाई अलराउट पार्न नेपालका फास्टबलर करण केसीले दुई विकेट र रूपेश सिंहले एक विकेट हात पारेका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतकीय योगदान दिएका थिए । उनले ३९ बलमा ५ छक्का र ४ चौकाको सहयोगमा सर्वाधिक ६९ रन बनाए । कप्तान रोहित पौडेलले २८ बलमा दुई चौका र एक छक्काका साथ ३६ रन जोडे । आरिफ सेखले २४ रन र दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए । 

सन्दीपले लिए ह्याट्रिक विकेट
पहिलो खेलमा लेग स्पिनर सन्दीपले इनिङ्सको १२.५ ओभरमा क्रिकेट एसिटीका होगनलाई एलबिडब्लू धरापमा राखे । १२.६ ओभरमा सन्दीपले बोर्सलाई बोल्ड गरे । उनले १४औँ ओभरमा बलिङको असर पाए । इनिङ्सको १४.१ ओभरमा रहमानलाई एलबिडब्लू आउट गर्दै सन्दीपले ह्याट्रिक विकेट लिन सफल भए । पहिलो खेलमा उनले चार ओभरमा ३१ रन खर्चेर पाँच विकेट लिएका हुन् । 

दीपेन्द्रको अलराउन्ड प्रदर्शन
घरेलु क्रिकेट एसिटीविरुद्धको दोस्रो अभ्यास खेलमा दीपेन्द्रसिंहले अलराउन्ड प्रदर्शन गर्दा नेपालले लगातार जित हात पारेको थियो । क्रिकेट एसिटीले पहिलो ब्याटिङ गर्दै नेपालर्ला ९७ रनको मध्यम लक्ष्य दियो । नेपालले १३.२ ओभरमा ४ विकेटको नोक्सानीमा जित हात पार्‍यो । दोस्रो खेलमा नेपालका ओपनर भीम सार्की ८ रन, आसिफ सेख ४ रन र कप्तान रोहित पौडेल ९ रनमा पेभेलियन फर्के । नेपाल इनिङ्सको एक समय २५–३ को अवस्थामा थियो । 

त्यसपछि दीपेन्द्रसिंह र गुल्सन झाबिच चौथो विकेटका लागि ३९ रनको साझेदारी भयो । गुल्सन २३ रन बनाए । ३१ बलको सामना गरेका दीपेन्द्रसिंहले एक चौका र तीन छक्कासहित अविजित ४२ रनमा नटआउट रहे । आरिफ सेख अविजित ११ रन बनाए । त्यसअघि ब्याटिङ गरेको क्रिकेट एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनायो । दीपेन्द्रसिंह र सहाब अलामले समान चार विकेट लिए । सहाबले चार ओभरमा १२ र दीपेन्द्रले १३ रन मात्र दिएका थिए ।