मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
जस्टिन म्याकरी
Invalid date format o८:२७:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पमाथि पुटिन हाबी भएको अलास्का शिखर भेटवार्तापछि अन्योलमा आगामी बाटो

Read Time : > 4 मिनेट
जस्टिन म्याकरी
नयाँ पत्रिका
Invalid date format o८:२७:oo
  • पुटिनले वार्ताका क्रममा रुसले साढे तीन वर्षको युद्धमा कब्जा गरेका पूर्वी युक्रेनी भूमि नछाड्ने संकेत गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको बहुप्रतीक्षित अलास्का शिखर भेटवार्ता गत शुक्रबार सम्पन्न भयो । पौने तीन घण्टा चलेको भेटवार्तामा के–के छलफल भए भन्नेबारेमा खासै विवरण बाहिर ल्याइएको छैन । दुई नेताबिच सौहार्दपूर्ण सम्बन्ध देखिए पनि आमअपेक्षाविपरीत वार्तामा युक्रेनमा युद्ध अन्त्य गर्ने सम्बन्धमा कुनै सम्झौता भएन । बैठक फेरि भेट्ने प्रतिबद्धतासहित समाप्त भएको थियो । वार्तामा दुवैजनाले सहमति हुन नसकेका विषयबारे विस्तृत विवरण दिएनन् ।

शिखर भेटवार्तापछि डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनसँग छोटो पत्रकार सम्मेलन गरेका थिए । ट्रम्पले सम्मेलनपछि ‘समझदारी’ र ‘प्रगति’लाई सम्झौतासम्म पुर्‍याउन अझै महासागर तर्नुपर्ने अवस्थामा रहेको बताएका थिए । यसले गर्दा अलास्का शिखर भेटवार्ता ठोस विषयभन्दा फोटो सेसनमै सीमित रह्यो । ट्रम्प–पुटिनले गरेको पत्रकार सम्मेलनमा निराश पत्रकारहरूलाई प्रश्न सोध्न अनुमति पनि दिइएको थिएन । युद्धविराम त परको कुरा दुई नेता लडाइँलाई केही समय रोक्ने सहमतिमा समेत पुग्न सकेनन् ।

‘केही प्रगति भए पनि कुनै सम्झौतामा नपुग्दासम्म सहमति भएको भन्न नसकिने’ ट्रम्पले पत्रकारलाई बताए । करिब तीन घण्टा लामो वार्तापछि पुटिनले युद्ध अन्त्यका लागि आफू गम्भीर रहेको, तर रुसको पनि ‘वैध सुरक्षा चासो सम्बोधन हुनुपर्ने’ बताएका थिए । बैठक कुनै ठोस नतिजाविना समाप्त भए पनि दुवै नेताहरूले वार्ता ‘फलदायी ’ भएको बताए । ‘हामी सम्झौतामा पुगेनौँ, तर हामीसँग त्यहाँ पुग्ने धेरै राम्रो मौका छ,’ ट्रम्पले भने । पुटिनले भने दुईजनाबिचको भेटवार्तालाई युक्रेन युद्ध अन्त्यतर्फको ‘प्रस्थान विन्दु’को संज्ञा दिए । साथै उनले यो शीर्ष भेटवार्ताले वासिंटन र मस्कोबिचको चिसिएको कूटनीतिक र आर्थिक सम्बन्धलाई सुधार गर्ने अवसर प्रदान गरेको बताए ।

उसो त पुटिन अमेरिकी भूमिमा आयोजित बैठकका अतिथि थिए, तर उनले शिखर भेटवार्ता आयोजकको भन्दा धेरै बढी ध्यान खिचे । अर्थात्, ट्रम्पमाथि पुटिन हाबी भए ।  रिपोर्टरहरूसँग पहिले पुटिनले कुरा गरेका थिए । परम्पराभन्दा भिन्न यस अभ्यासले उनलाई एन्कोरेजमा (अलास्का राज्यको सम्मेलन भएको नगर) छोटो र अनौठौ पत्रकार सम्मेलनको एजेन्डा तय गर्ने अवसर दियो । अमेरिकी राष्ट्रपतिको लिमजिन ‘द बिस्ट’मा चढेर त्यहाँ पुगेका पुटिनले अमेरिका र रुस वास्तवमा भौगोलिक छिमेकी भएको सम्झना दिलाए । तथापि, उनले अलास्का कुनै समय रुसी उपनिवेश रहेको उल्लेख भने गरेनन् ।

ट्रम्प रुसी नेताको प्रशंसामा बढी नै उदार देखिएका थिए । भेटवार्ताका लागि समय दिएकोमा नै बारम्बार पुटिनलाई धन्यवाद दिए । भेटवार्तापछि ‘फक्स’ टेलिभिजनका सन ह्यानिटीसँगलाई दिएको अन्तर्वार्तामा एन्कोरेज शिखर सम्मेलनलाई आफैँले ‘१० मा १०’ अंक दिँदै भने ‘यो किन भने दुई ठुला शक्ति मिल्दा राम्रो हुन्छ ।’ र, भेटवार्तामा हाबी भएको कुरामा जोड दिने गरी पुटिनले पत्रकार भेटघाटको अन्त्यमा दुई नेताबिच आगामी भेटघाट मस्कोमा हुने बताए । पुटिनको सो निमन्त्रणाप्रति ट्रम्प केही असहज मान्दै त्यसले देश (अमेरिका) ‘केही गर्माउने’ बताए । तथापि उनले पुटिनको भनाइलाई अस्वीकार भने गरेनन् ।

पुटिनले वार्ताका क्रममा रुसले साढे तीन वर्षको युद्धमा कब्जा गरेका पूर्वी युक्रेनी भूमि नछाड्ने संकेत गरे । त्यस्तै, क्रेमलिनका अन्य अडान, युक्रेनलाई नेटो र युरोपेली संघको सदस्यता दिन नहुने र भ्लोदिमिर जेलेन्स्कीको राष्ट्रपतित्वको अन्त्यजस्ता मागबाट पनि पछि हट्ने उनमा छाँटकाँट देखिदैन । शिखर सम्मेलनको पूर्वसन्ध्यामा जेलेन्स्कीलाई सार्वजनिक समर्थन जनाएका युरोपेली नेताहरूलाई सन्देश दिँदै पुटिनले युक्रेनमा शान्तिका लागि ‘अवरोध सिर्जना गर्ने’ ‘युरोपेली राजधानीहरू’लाई चेतावनी दिए । ‘मैले एकपटक मात्र होइन बारम्बार भनेको छु– रुसका लागि युक्रेनमा भएका घटनाक्रम हाम्रो राष्ट्रिय सुरक्षाका आधारभूत खतरासँग जोडिएको छ,’ उनले भने ।

ट्रम्प–पुटिन शिखर भेटवार्तामा जेलेन्स्कीलाई पनि सहभागी गराउनुपर्ने माग उठेको थियो । जुन देशको भाग्यबारे चर्चा हुँदै छ, त्यही देशको नेताको अनुपस्थिति हुनु अस्वाभाविक हो । तर, जेलेन्स्की पछिल्लोपटक अमेरिकामा पुग्दा गरिएको व्यवहार र पुटिनलाई गरिएको व्यवहारमाथि धेरैको ध्यान गयो । फेब्रुअरीमा ह्वाइट हाउसको ‘ओभल अफिस’मा ट्रम्प र जेडी भान्सद्वारा जेलेन्स्कीमाथि भएको सार्वजनिक अपमानको साक्षी बनेको विश्वले एन्कोरेजमा देखिएको सौहार्द्रतालाई बेवास्ता गर्न कठिन देखिन्थ्यो  ।

अहिलेका लागि ट्रम्पले पुटिनका सबै माग स्वीकार गरेको नदेखिनुमै किभले सन्तोष मान्नुपर्ने हुन्छ । तर पनि शिखर भेटवार्ताले युक्रेनलाई ‘अमेरिकामाथि भरोसा गर्न सकिने’ भन्ने कुरामा आश्वस्त पार्न सकेन । ट्रम्प आफ्ना राजनीतिक विरोधीमाथि जहाँ पनि आक्रमण गर्ने नेताको पहिचान बनाएका छन् । यस्तोमा उनले आठ दशकयताकै युरोपको सबैभन्दा रक्तपातपूर्ण युद्ध अन्त्य गर्ने प्रयासस्वरूप बोलाइएको शिखर भेटवार्तामा समेत पुरानो बानी त्याग्न सकेनन् । उनले शिखर भेटवार्तालाई समेत आफ्ना केही गुनासामध्ये एक व्यक्तिले गर्ने प्लाटफर्मको रूपमा प्रयोग गरे । सायद पुटिनबाट प्रोत्साहित भएर होला, उनले सन् २०२० को चुनावमा आफूलाई धाँधली गरेर हराइएको दोहोर्‍याए । पुटिनले बाइडेनको सट्टा ट्रम्प अमेरिकी राष्ट्रपति भएको भए फेब्रुअरी २०२२ मा रुसले पूर्णस्तरीय आक्रमण सुरु नै नगर्ने भन्ने ट्रम्पको भनाइप्रति सहमत रहको बताए थिए ।  ह्यानिटीसँगको अन्तर्वार्तामा ट्रम्पले आफूलाई पुटिनले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा हुलाक मतदानमार्फत व्यापक ‘धाँधली’ भएको बताएको पनि दाबी गरे ।

ट्रम्प र पुटिन शान्तिका लागि वार्तामा बसिरहँदा युद्धमैदानमा भने लडाइँ चर्किंँदै गएको छ । सन् २०१९ पछि रुस र अमेरिकाका शीर्ष नेताबिच पहिलोपटक प्रत्यक्ष भेटघाटको तयारी भइरहँदा, रुसी सेनाले सम्भावित युद्धविरामको तयारी गरिरहेको कुनै संकेत देखिएन । साना रुसी फौजले पूर्वीडोनबास क्षेत्रमा युक्रेनी प्रतिरक्षालाई तोडेको रिपोर्ट आईरहेको छ । रुसले पछिल्लो समय युद्धमोर्चाको तीन भागमा नयाँ आक्रमणको योजना बनाएको जेलेन्स्कीले चेतावनी दिएका छन् । शिखर सम्मेलनको दिन युक्रेनी सैन्य गुप्तचरले गरेको दाबीअनुसार रुसले नयाँ आणविक अस्त्र बोक्न सक्ने र आणविक ऊर्जाबाट चल्ने क्रुज मिसाइलको परीक्षणको तयारी गरिरहेको छ । सफल भएमा त्यसलाई मस्कोले अमेरिका र युरोपेली देशहरूसँगको आफ्नो वार्ता अडानलाई बलियो बनाउन प्रयोग गरिनेछ ।

दुई नेताहरूको भेट चलिरहँदा पूर्वी युक्रेनका धेरै भागमा हवाई आक्रमणको ‘अलर्ट’ जारी गरिएको थियो । त्यस्तै रुसको  रोस्तोभ र ब्रायान्स्क क्षेत्रका गभर्नरले तिनको क्षेत्रको केही भाग युक्रेनी ड्रोन आक्रमणको निसानामा परेको बताइरहेका थिए । युक्रेनका विपक्षी सांसद ओलेक्सी होन्चारेन्कोले टेलिग्राम एपमा लेख्दै निरन्तरको लडाइँले पुटिन कहिल्यै युद्धविरामसम्बन्धी वार्ताप्रति सकारात्मक नभएको प्रमाणित गरेको बताए ।

जेलेन्स्की–पुटिन–ट्रपबिच त्रिपक्षीय वार्ताको चर्चा
युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न सोमबार फेरि ह्वाइट हाउस पुगेका थिए । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट अनिर्णीत भएपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता भएको हो ।

ट्रम्प–पुटिनबिचको अलास्का शिखर सम्मेलनमा युक्रेन र रुसबिच युद्धविराम गर्ने सहमति हुन सकेको थिएन । त्यसपछि ट्रम्प, जेलेन्स्की र पुटिनबिच त्रिपक्षीय वार्ताको चर्चा सुरु भएको छ । यसै सन्दर्भमा जेलेन्स्की वासिंटन पुगेका हुन् ।

सोमबार ट्रम्प र जेलेन्स्कीबिच भएको छलफलमा प्रमुख युरोपेली नेता पनि सहभागी थिए । अमेरिकी राष्ट्रपति कार्यालयमा भएको भेटवार्तालाई जेलेन्स्कीले युद्ध अन्त्य गर्ने र युक्रेनको सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए । साथै, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् कि उनले यस विषयमा पुटिनसँग कुरा गरेका छन् र जेलेन्स्कीसँग आमनेसामने भेटघाटको तयारी गर्न आग्रह गरेका छन् । युरोपेली नेताले यो निर्णयको स्वागत गरेका छन् । पुटिन, जेलेन्स्की र ट्रम्पबिच भेटघाट कहाँ हुने भन्ने निर्णय हुन बाँकी नै छ ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले जेनेभा यसका लागि उपयुक्त रहेको र यो तटस्थ स्थान हुने बताएका छन् । बेलायतले युक्रेनको सुरक्षा ग्यारेन्टीसम्बन्धी छलफल तुरुन्तै सुरु हुने बताएको छ । जेलेन्स्कीले पनि सुरक्षा ग्यारेन्टी सम्बन्धमा १० दिनभित्र एक रूपरेखा तयार गरिने र यसमा ९९ अर्ब डलरबराबरको अमेरिकी हतियार खरिद गर्ने कुरा पनि समावेश हुने बताए । 

द गार्जियनबाट