मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार १७:२४:oo
Read Time : > 5 मिनेट
समाचार

सरकार पूरै दलालहरूको चंगुलमा फसिसकेको छः वर्षमान पुन 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १७:२४:oo

नेकपा माओवादी उपमहासचिव नेता वर्षमान पुनले सरकारका हरेक निर्णय नियतवश निश्चित स्वार्थसमूहका लागि हुने गरेका बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले प्रधानमन्त्री केपी ओलीले संसदको रोस्ट्रममा उभिएर मिथ्यांकको फेहरिस्त प्रस्तुत गरी संसद् र आमजनतालाई ढाँटेको आरोप लगाए। 

प्रधानमन्त्री ओलीले आफू नेतृत्वमा सरकार बनेयता मुलुकको अर्थतन्त्र लयमा फर्किएको, विकास निर्माणले गति लिएको, सुशासन कायम भएकोजस्ता दाबी गरेका थिए। पुनले भने ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको आरोप लगाए। ‘सरकारले एकपछि अर्को बेथिति र भ्रष्टाचारका शृंखलाहरू अघि सारेका कारण जनतामा चरम निराशा छाएको वेला सम्माननीय प्रधानमन्त्रीज्यूले यस सम्मानित संसदमा सरकारी प्रगतिहरूको फेहरिस्त प्रस्तुत गर्नुभएछ। उहाँको बोली सुन्दा यस्तो लाग्छ, मानौँ देशमा कुनै समस्या छैन, विकास द्रुत गतिमा भइरहेको छ। सुशासनका कैयन मानकहरू बनिरहेका छन् र सरकारको विरोध गर्नेहरू सबै मगजविहीन हुन्’, पुनले भने, ‘तर प्रधानमन्त्रीज्यू, तपाई‌ंले संसदमा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भइरहेको किन बिर्सिनुभएछ। तपाईंले स्वास्थ्यका तथ्यांकहरू प्रस्तुत गरिरहँदा उता मेरिटोक्रेसी मिचेर तपाईंहरूको भागबन्डा चलिरहेको थियो। तपाईंको कुशासनसँग लड्न नसकेर एकजना योग्य चिकित्सक देश छोड्दै थिए । तपाईलाई अलिकति पनि लाज लागेन ? मेडिकल काउन्सिलमा दर्ता हुनेको अनुपातमा ७४ प्रतिशत चिकित्सक विदेश पलायन हुने गरेको सरकारी तथ्यांक छ, त्यसमा एक वर्षदेखि तपाईंकै मन्त्रीले दरबन्दीका लागि पेस गरेको फाइल स्वीकृत गर्नुभएको छैन। जनताको स्वास्थ्यलाई बिचौलिया र दुई दलको भागबन्डाको बन्धकी बनाएर तपाईंले प्रस्तुत गर्ने तथ्यांकले केही अर्थ राख्छ। बिर्सिनुभएछ, तपाईंले प्रस्तुत गरेको तथ्यांकहरू अघिल्लो सरकारले नै अघि सारेका कार्यक्रमको प्रतिफल हुन्।’ 

पुनले  आर्थिक वृद्धि भएको, सबैजसो आर्थिक परिसूचकहरु सकारात्मक भएको दाबीको पनि खण्डन गरे ।  ‘अर्थशास्त्रको सामान्य विद्यार्थीले पनि बुझ्ने कुरा आर्थिक परिसूचकहरु रातारात सकारात्मक हुँदैनन, निराशाको चक्रव्यूहबाट निकै मेहनत साथ काम गरिएको कारणले केही कुरा सकारात्मक देखिएको हो । तर अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकांकहरुमा कुनै सुधार छैन । बाणिज्य बैंकहरुको व्याजदर घटेर साढे ६÷७ प्रतिशतमा आइसक्यो । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ । उद्योगी–व्यवसायीहरु ऋण लिएर व्यवसायमा लगाउन किन तयार छैनन्’, उनको प्रश्न थियो । 
भारतबाट उच्च मात्रामा कच्चा पदार्थ आयात गरेर प्रशोधित पाम आयल निर्यात गरिएका कारण निर्यात व्यापारमा भएको वृद्धिलाई प्रधानमन्ीले अर्थतन्त्र सुधारको आधारका रुपमा प्रस्तुत गर्नु ‘सुनिएर मोटाउनु’जस्तै भएको टिप्पणी पनि उनले गरे  राजश्व संकलन र पुँजीगत खर्चको अवस्था हेर्दा सत्तारुढ काँग्रेस–एमाले  लजाउनुपर्नेमा गर्वका साथ सम्मानित संसद्मा उभिएर दुनियाँलाई उल्लु बनाउन मिथ्यांक प्रस्तुत गरेको आरोप उनको छ । प्रधानमनत्रीले भारतलाई विद्युत बिक्री गरेको कुरा गर्ने अवस्था आउनुमा माओवादीको सरकारले अघि सारेको उज्यालो नेपाल अन्तर्गत विद्युत उत्पादन, प्रसारण लाइन र चुहावटका क्षेत्रमा गरिएका ऐतिहासिक प्रयास र तत्कालिन प्रधानमन्त्री प्रचण्डले दश वर्षमा दश हजार मेगावाट भारतलाई बिक्री गर्ने सम्झौता कारण रहेको बताए ।  

‘यो सरकारको उपलब्धि होइन, तपाईंले त यो अवस्था ल्याउन महत्वपूर्ण भूमिका खेल्ने कुलमान घिसिङलाई बर्खास्त गरेर ठुलो सफलता पाइसक्नुभयो। म सोध्न चाहन्छु, २२ अर्ब बक्यौता भएका उद्योगहरूबाट के कति रकम असुली गर्नुभयो भन्ने कुरा किन अटेन तपाईंको सम्बोधनमा? प्राधिकरणको नेतृत्व परिवर्तन गरेपछि कति चुहावट बढ्यो? फेरि बक्यौता नतिर्नेहरूलाई चोख्याउन तपाईंकै मन्त्रीका कसरतबारे आजै समाचार आएका छन्। यसको जवाफ किन दिनुभएन? 

सरकारमा आउनेबित्तिकै रातारात मुग्लिन-पोखरा-नारायणगढ, सडकखण्डमा चमत्कार गरेको ओलीको दाबीमा  खण्डन गर्दै २०७८ मै बनिसक्नुपर्ने उक्त सडक खण्ड अहिलेसम्म पनि पूरा नहुनुमा कसको दोष हो भन्ने प्रश्न गरे। अघिल्ला सरकारमा पनि एमालेका मन्त्रीहरू संलग्न भएको विषय पुनले उठाए । पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारको अर्थमन्त्रीका रूपमा आफूले आर्थिक वर्ष ०८०-८१ को बजेटमा सहकारी पीडितहरूको ५ लाख रुपैयाँ फिर्ता गर्ने कुरा किन कार्यान्वयन किन नभएको भन्दै उनले प्रश्न गरे। ‘रिक्सा चलाएर, सैलुन चलाएर, चटपटे बेचेर, साना किराना पसलवालालगायत आमजनतालाई त्यो पैसा फिर्ता गर्नुपर्दैन?’ पुनले भने। मिटरब्याजपीडितहरूका लागि प्रचण्ड सरकारले अघि सारेको न्यायिक छानबिन र कारबाहीको प्रक्रिया वर्तमान सरकारले रोमेको अराोप उनले लगाए । 

ओलीले आफू नेतृत्वमा सरकार बनेपछि विकास निर्माणमा तीव्रता आएको दाबी गरेकामा पुनले खण्डन गरे। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले कीर्तिपुरस्थित रंगशालाको चर्चा गर्नुभएछ। अस्ति त तपाईंले प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधन नसकिँदै फेसबुकमार्फत रंगशाला भौतिक प्रगतिको कुरा गर्नुभयो, सुनकोशी मरिन डाइभर्सनको अवस्था के छ, के कति प्रगति भयो यो एक वर्षमा? यसमा पनि भागबन्डा गर्दै हुनुहुन्थ्यो । पिस-पिसमा दुई पार्टी मिलेर । जगदुल्लाको टेन्डर कहाँ पुग्यो ? रोशी खोला क्षेत्रको पुनर्निर्माण खै?  महाकाली करिडोरको काम त प्रचण्ड प्रधानमन्त्री हुँदै ९५ प्रतिशत सकिएको होइन, अन्तिममा भेरिएसन अर्डर पास गरेर बाँकी काम सम्पन्न हुनुपर्नेमा किन भएन, त्यो अझै पूरा? गृहमन्त्रीकै निर्वाचन क्षेत्रमा एक वर्षमा ५ प्रतिशत काम सकिएन ? कहाँ मिलेन स्वार्थ ?  कि त्यो ५ प्रतिशत बाँकी काम पनि पिस-पिसमा भागन्डा गर्ने हो ? अरू राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति किन दिनुभएन, सम्मानित सदनमा?’

विश्वविद्यालयदेखि अदालतसम्म भागबन्डा गरेको आरोप उनले लगाएका छन् । पुनले भने,‘तपाइहरुले विश्वविद्यालयहरुलाई भर्ती केन्द्र बनाउनुभएको छ । हाकाहाकी न्यायालयलाइ भागवण्डाको मैदान बनाउनु भएको छ । कर्मचारीतन्त्रलाइ दोहन गर्नुभएको छ । संसदीय मर्यादमाथि ठाडो आक्रमण गर्नुभएको छ ।’

किसानलाई मल खोइ ? 
अघिल्लो वर्ष किसानले समयमै सिँचाइ र मलखाद पाए पनि यो वर्ष सरकारको अयोग्यताका कारण किसान पीडित भएको पुनले उल्लेख गरे । ‘किसानहरूले सिँचाइ, मलखाद पाएका छैनन् । अघिल्लो वर्ष मलको हाहाकार भएन । मैले प्रस्तुत गरेको गत आर्थिक वर्षको बजेटमा साढे ५ लाख टन खरिद लक्ष्यसहित २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन हुँदासमेत किन मल आयात हुन सकेन ? अनि, आयात गरिएको भनिएको मल पनि किन किसानको खेतमा पुगेन ?  कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २५ प्रतिशत योगदान छ । करिब ६० प्रतिशत जनता कृषिमा आश्रित छन् । हामी प्रतिपक्षका सांसद मात्र होइन, सत्ता पक्षकै माननीयहरूले धेरैपटक मल नपाएका किसानका वेदना सुनाउँदा सरकार सुन्दैन।’ 
प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा संसदमा यही कुरा एक महिनाअघि उठाउँदा पनि ध्यान किन नगएको भन्दै उनले फेसबुकमा खेतहरू हराभरा भएका तस्बिर पोस्ट गरेर आत्मरतिमा रमाएको टिप्पणी गरे। 
विपक्षीप्रति प्रतिशोध, बदलाको भावना र दलहरूमा तोडफोड गराउन प्रयोग गरिरहनुभएको दुईतिहाइको शक्ति किसानलाई मल उपलब्ध गराउन खर्च गर्न कसले रोकेको हो ? भन्ने प्रश्न उनको थियो । 
सरकारमा भएकाहरुको चश्माले दलाल र बिचौलिया मात्र देख्ने गरेको भन्दै उनले भने, ‘गत वर्ष नै ५ लाख भूमिहीन सुकुम्वासीहरूलाई जग्गाको स्वामित्व दिने कुरा बजेटमा उल्लेख भएको कुरा किन कार्यान्वयन भएन ? आरक्षपीडितहरू अनशनमा बसिरहेका छन्, प्रचण्ड नेतृत्वको सरकारले ५ लाख सुकुम्बासीलाई जग्गाको स्वामित्व दिनेगरी बजेट ल्याएकोमा त्यसको कार्यान्वयन नहुँदा लाखौं भूमिहीन, सुकुम्वासी पीडामा बाँचिरहेका छन् ।  प्रधानमन्त्रीज्यू, गत वर्ष कति जनाले पाए जग्गा धनी प्रमाणपत्र ? तपाईको बकपत्रमा यो प्रगति किन उल्लेख भएन ? खासमा तपाईहरुको नियत नै गलत छ, तपाईहरुलाई दलित, भूमिहीन, सुकुम्वासी, आरक्षपीडितहरुको आँसुले पोल्दैन । किनभने तपाईहरु विचौलिया र जग्गा दलालहरु, रियल स्टेट माफियाहरुको पक्षमा भूमि विधेयकलाई जबर्जस्ती अघि बढाउँदै हुनुहन्छ । तपाईहरुको नियत भूमिहीन, आरक्षपीडित, सुकुम्बासीलाई जग्गा दिने छैन, बरु सरकारी जग्गालाई, हिजो यो वा त्यो रुपमा कब्जा गरेको जग्गालाई वैध बनाएर प्लटिङ गरेर बेच्न चाहने दलालहरुको स्वार्थ पुरा गर्नेमा मात्रै छ ।’ 

रवि लामिछानेलाई गृहमन्त्री कसले बनायो ? 
ओलीले रास्वपा सभापति रवि लामिछानेमाथि गरेको टिप्पणीको पनि पुनले प्रतिवाद गरे । 
‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई  ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यो मेरो भनाइ होइन, सम्मानीय प्रधानमन्त्रीज्यूले संसदको रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति हो । उहाँले लगाएका आरोपको सत्यता पुष्टि गर्ने जम्मेवारी उहाँकै हो’, पुनले अगाडि भने,m ‘तर, प्रधानमन्त्रीज्यू ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्त’ लाई सरकारी टेलिभिजनमा जागिर कसले लगाएको रहेछ ? कसले गृहमन्त्री बनाएको रहेछ ?’ । 

पासपोर्ट छपाईदेखि लिचीबगैंचा प्रकरणमा प्रश्न 
पासपोर्ट छपाई जस्तो संवेदनशील ठेक्कामा मिलेमतो गरेर प्रधानमन्त्री र काँग्रेस सभापतिनिकट विवादास्पद व्यापारीलाई सुम्पिने काम भएको भन्दै पुनले आपत्ति जनाए । 
पोखराको १ सय ३५ रोपनी लिची बगैंचा हड्प्न गरिएका घूस डिलका ऋंखलाबद्ध भिडियोहरु बजारमा छ्पाप्छ्याप्ती भए पनि घूस डिलमा संलग्न मन्त्रीलाई आडमै राखेर प्रधानमन्त्रीले ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनिरहेको उनको आरोप छ । ‘ भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् बैठकमा काण्डै काण्डमा मुछिएका मन्त्रीहरुको अनुहारतिर हेर्ने गर्नुभएको छ कि छैन ?’, उनले प्रश्न गरे । 

कांग्रेस र एमाले मिलेर सरकार चलाए पनि युवाहरूको निराशा सम्बोधन गर्ने बनावटी कुरा गरेर, मुख चलाएर नहुने पुनले बताए । पुनले दुई दलबिच गत वर्ष भएको सातबुँदे सहमतिअनुसार संविधान संशोधन नभएकोमा पनि प्रश्न गरे । 

 ‘अनि कहाँ पुग्यो संविधान संशोधनको कुरा ? सरकार गठन गर्दा निकै रोइलो गर्नुभएको थियो ? खासमा तपाईंहरू संविधान संशोधन होइन, संविधान सकाउने बाटोमा हुनुहुन्छ। तपाईंहरूकै कारण अहिले यसरी नागरिकमा निराशा छाएको छ। तपाईंहरूकै दलभित्र चर्को असन्तुष्टि र आक्रोश छ। केही गर्न खोज्ने मन्त्रीहरू नै हात बाँधिएर टुलुटुलु तपाईंको सुशासन हेरिरहेका छन्। संसदीय समितिको समेत हुर्मत लिने काम तपाईंहरूले गर्नुभएको छ। कार्यपालिकाको निरंकुशताले लोकतन्त्रको आधारभूत मान्यता शक्ति पृथकीकरण अहिले कोमामा पुगेको छ,’ उनले भने, ‘बिचौलिया, दलाल र माफियाहरूका लागि साँझ बिहान आरती गर्ने तपाईंको क्रियाकलाप झनै बढेको छ। तपाईंका उपलब्धिका सूचीहरू हेर्दा आमजनमानसले नमिठो अट्टहास मात्रै गर्छ। र, झन् निराशाको साम्राज्य फैलाउने काम गरेको छ । तपाईंहरूले जति दाबी गरे पनि सरकारको डेलिभरी सिस्टम पूरै फेल भइसकेको छ, पूरै दलालहरूको चंगुलमा परिसकेको छ।’