मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
२o८२ श्रावण २९ बिहीबार १८:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

पौडी खेल्ने क्रममा करेन्ट लागेर खोलामा खसेका अंकित अझै भेटिएनन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १८:५३:oo

ज्वालामुखी गाउँपालिका–४ का १२ वर्षीय अंकित श्रेष्ठ २५ साउन आइतबारदेखि बेपत्ता भएका छन् । धादिङबेसीस्थित अरुङ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका अंकितको खोजी भइरहे पनि फेला परेका छैनन । उनका परिवार र आफन्तहरूका अनुसार पौडी खेल्ने क्रममा बिजुलीको लत्रेको तारबाट करेन्ट लागेपछि अंकित खोलामा खसेका थिए । 

विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लागेर छोरा बेपत्ता बन्न पुगेको अंकितका बुबा शिव श्रेष्ठले बताए । ‘तार खोला किनारमा ढुंगालाई छुने गरि लत्रिएको थियो । घटनापछि पनि तार लत्रिरहेको थियो । अहिले बल्ल तानेका छन्,’ उनले भने । 

छोरासँगै खोलामा गएका उनका साथीहरूसँग सोध्दा करेन्ट लागेर अंकित खोलामा खसेको बताएको शिवले बताए । उनले भने, ‘करेन्टले छोरा खोलामा ढलेको उसका साथीहरूले बताएका छन् । छोराको सकुशल उद्धार गर्न सकुँ । भगवानसँग मेरो प्रार्थना छ ।’ 

स्थानीय सूर्य श्रेष्ठले पनि प्राधिकरणको लापरबाहीले करेन्ट लागेर अंकित बेपत्ता भएको आरोप लगाए । ‘प्राधिकरणले सामान्य मर्मत समेत नगर्दा ठूलो दुर्घटना भयो । प्राधिकरणको लापरबाहीले यस्ता थुप्रै घटना भइरहेका छन् । खोलाको ढुंगा छुने गरि तार लत्रिदा पनि प्राधिकरणले देख्दैन,’ उनले भने,‘करेन्ट लागेर खोलामा खसेपछि अंकित बेपत्ता भयो । खोजी हुन थालेपछि प्राधिकरणले आएर तार तन्कायो ।’  

घटनापछि आफन्त र छिमेकीहरूले नेपाल विद्युत प्राधिकरणको कारणले बालकको ज्यान संकटमा परेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ठूलो भीड घटनास्थल पुगेका पीडितले विद्युत प्राधिकरणलाई क्षतिपूर्तिको मागसँगै आगामी दिनमा यस्ता घटना नदोहोरिउन भनेर सुझाव दिएका छन् । 

बेपत्ता भएका अंकितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । गोताखोरसहितको टोलीले अरुङ खोला र थोपल खोला पुरै खोजी गर्याैं । तर अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने, ‘अब फेरी एकपटक दोहो¥याएर अरुङ खोला र थोपल खोलामा खोजी गर्छाैं ।’ 

‘अंकितसँगै पौडी खेल्न गएका सातजना साथीहरूसँग सोधपुछ गरेका थियौं । उनीहरूले पनि करेन्टको झट्काले अंकित खोलामा खसेको बताएका छन् । साना बालबालिकाले नभेटे पनि १०–१२ वर्षका भेट्ने गरि तार लत्रिएको थियो । अनुसन्धान र खोजी दुवै भई रहेको छ,’  प्रहरी नायव उपरीक्षक हमालले भने । 

घटनापछि विद्युत प्राधिकरणले लत्रिएको तार तन्काएको छ । शुक्रबार आएको बाढीले पोल नजिकै राखिएको स्टे सेट बगाएर तार झोल्लिएको धादिङ वितरण केन्द्र नेपाल विद्युत प्राधिकरणका प्रमुख सुधिर रायले बताए । ‘हामीले मर्मत त गरिरहेका छौं । शुक्रबारको बाढीले पु¥याएको क्षतिले झोल्लिएको तार मर्मत गर्न भ्याएका थिएनौं । घटनाबारे माथिल्लो निकायमा जानकारी गरिसकेका छौं । प्रहरीको मुचुल्का र खोज अनुसन्धानपछि मात्रै थप कुराहरु अघि बढ््नेछन्,’ उनले भने । 

ज्वालामुखी गाउँपालिका–४ स्थायी घर भएका अंकित नीलकण्ठ नगरपालिका–३ पहरेचौतारामा बुबाआमासँग बस्दै आएका थिए । आइतबार गाइजात्राको सार्वजनिक बिदाको दिन साथीहरूसँग नुहाउन गएका बेलादेखि बेपत्ता छन् ।