मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

मितेरी सहकारी ठगी प्रकरण : शंकाको घेरामा रहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई भने उन्मुक्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३७:oo

मितेरी सहकारी ठगी प्रकरणमा शंकाको घेरामा रहेका सत्तारूढ दल कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले भने सिआइबी अनुसन्धान प्रतिवेदनमा उन्मुक्ति पाएका छन् ।

जबकि प्रतिवेदनमा उनकी पूर्वपत्नी ज्योति गुरुङलाई प्रतिवादी बनाउँदै ३० करोड रुपैयाँ बिगोदाबी गरिएको छ । ज्योति अहिले अमेरिकामा छिन् । घटनामा संलग्नता नदेखिएको हुँदा धनराजलाई प्रतिवादी नबनाइएको एसपी खड्काले दाबी गरे ।

‘घटनाको विभिन्न चरणमा अनुसन्धान भएका छन् । तर, अहिलेसम्म धनराज गुरुङको संलग्नता कतै भेटिएको छैन, त्यसो हुँदा उनलाई प्रतिवादी बनाउने आधार भेटिएन,’ एसपी खड्काले भने । धनराजलाई सत्ताको बलमा संरक्षण भएको आरोप लाग्दै आएको छ । धनराजकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिएकी थिइन् ।

अपचलन भएको सोही रकममा ब्याज जोडेर सहकारीले लिनुपर्ने रकम १४ करोड ८१ लाख रहेको भन्दै आएको छ । ज्योतिले लिएको रकम अपचलनमा धनराजको पनि भूमिका रहेको भन्दै प्रश्न उठ्ने गरेको छ ।

हुन त धनराज र ज्योतिबिच २९ फागुन ०७६ मा सम्बन्धविच्छेद भएको थियो । तर, सहकारीले धनराज र ज्योतिबिचको सम्बन्धविच्छेद कागजी रहेको बताउँदै आएको छ । सहकारीले भनेको छ, ‘रकम अपचलन गर्ने ज्योति र धनराजबिचको सम्बन्धविच्छेद कागजी हो । त्यसो हुँदा रकम अपचलनमा ज्योतिसहित उनका पूर्वश्रीमान् धनराजको पनि भूमिका छ । अपचलन भएको रकम धनराजले पनि चुक्ता गर्नुपर्छ ।’

यसका लागि सहकारीले मुख्य आधार ३ फागुन ०७७ मा धनराजले सहकारीबाटै लिएको १२ लाख रुपैयाँ ऋणलाई मानेको छ । किनकि ऋणपत्रमा धनराजले हकवाला भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । ऋणपत्रमा धनराजकै हस्ताक्षर छ । यो तथ्यलाई सांसद सूर्य थापाको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले पनि स्वीकार गरेको छ ।

त्यसैलाई आधार मानेर समितिले धनराजविरुद्ध पनि छानबिन गरिनुपर्ने भन्दै सरकारसमक्ष सिफारिस गरेको छ । अर्को, ४ मंसिर ०७९ को निर्वाचनमा निर्वाचन आयोगमा उम्मेदवारी पत्र दर्ता गर्दा धनराजले श्रीमती भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । जुन पत्रमा धनराजकै हस्ताक्षर छ । यो तथ्यलाई धनराज स्वयंले स्वीकार गरेका छन् । तर, यो भूलवश भएको दाबी गरेका छन् ।