मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
टेकराज थामी काठमाडाैं
२o८२ श्रावण २९ बिहीबार o६:१८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मितेरी सहकारी ठगीको प्रतिवेदन सिआइबीले बुझायो सरकारी वकिल कार्यालयमा : धनराज गुरुङकी पूर्वपत्नीसहित ११ प्रतिवादी, ६ अर्ब १७ करोडसम्मको बिगोदाबी

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार o६:१८:oo

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीमा ११ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय ललितपुरमा पेस भएको छ । प्रतिवादीविरुद्ध १७ करोड रुपैयाँदेखि ६ अर्ब १७ करोड रुपैयाँसम्म बिगो माग गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धानको ५७ दिनपछि बुधबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो । सिआइबीका अनुसार सहकारी ठगीसहित हुन्डी र क्रिप्टो कारोबारसमेत जोडिएको हुँदा बिगोदाबीको रकम धेरै भएको हो ।

सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस भएको र त्यसमा ११ जना प्रतिवादी रहेको बताए । ‘मितेरी सहकारी ठगीसँग सम्बन्धित अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा पेस भएको छ । ११ जनालाई प्रतिवादी बनाइएको छ । व्यक्तिपिच्छे फरक–फरक परिमाणमा बिगोदाबी पेस भएको छ । १७ करोडदेखि ६ अर्ब १७ करोडसम्म बिगोदाबी छ,’ उनले भने ।

सिआइबीका अनुसार प्रतिवादी बनाइएकाहरूमा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, ज्योति गुरुङ, हितमान थापा र प्रकाश थापालगायत छन् । उनीहरूमध्ये मुख्य योजनाकार सुवासविरुद्ध भने सबैभन्दा धेरै ६ अर्ब १७ करोड रुपैयाँ बिगोदाबी पेस भएको छ । यसबाहेक ज्योतिबहादुर, सुरेश, हितमान र प्रकाशविरुद्ध जनही १७–१७ करोड रुपैयाँ बिगोदाबी गरिएको छ । यस्तै, ज्योति गुरुङविरुद्ध ३० करोड रुपैयाँ बिगोदाबी भएको छ ।

धनराजविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेन न बागमती प्रदेशस्थित सहकारी रजिस्ट्रारको कार्यालयले नै उनीविरुद्ध अनुसन्धान गर्न सिफारिस गर्‍यो । बरु बयानका लागि कार्यालय उपस्थित गराएर सिआइबीले उनलाई ससम्मान बिदाइ गर्‍यो । सिआइबीले धनराजसँग २८ कात्तिक ०८१ मा लाजिम्पाटस्थित सिआइबी कार्यालय उपस्थित गराएर पाँच घण्टा लामो बयानपछि छाडेको थियो । प्रहरीसँगको बयानमा उनले मितेरी सहकारीको रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले १४ साउन ०८१ मा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । उजुरीमा धनराजको नामै किटेर हिनामिनामा संलग्नता रहेको उल्लेख थियो । तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले उनको नाम काटेर बाँकी पाँचजनाको नाम मात्रै सिआइबीमा सिफारिस गरेको थियो । त्यसअघि कुम्भराज जाहेरी बोकेर सिआइबी कार्यालय पनि पुगेका थिए । सम्बन्धित कार्यालयको सिफारिसविना अनुसन्धान गर्न नसकिने भन्दै त्यसवेला सिआइबीले जाहेरी फिर्ता गरिदिएको थियो । 

धनराजविरुद्ध अनुसन्धान प्रक्रिया अघि नबढ्ने भएपछि कुम्भराजसहितको टोली सरकारबाट गठित संसदीय छानबिन विशेष समितिमा पुगेर उजुरी दिएको थियो । समितिले सहकारीको कार्यालय अनुगमन गर्नुका साथै कुम्भराजको बयान लिएको थियो । उनले रकम हिनामिनामा धनराजको पनि संलग्नता रहेकोे बयान दिएका थिए । संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा धनराजमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो । थापा नेतृत्वको संसदीय समितिले स्पष्ट रूपमा धनराजविरुद्ध थप छानबिन गरी कारबाही अघि बढाउन निर्देशन दिएको थियो । बाँकी अन्य ६ प्रतिवादीविरुद्ध पनि कसुरअनुसार बिगोदाबी पेस भएको सिआइबीको भनाइ छ ।

सिआइबीका प्रवक्ता एसपी खड्काका अनुसार सुवास सहकारी ठगीसहित हुन्डी, क्रिप्टोलगायतका धन्दामा पनि संलग्न देखिएको हुँदा बिगो रकम ठुलो हुन पुगेको हो । उनीविरुद्ध सहकारी ठगी, हुन्डी, क्रिप्टो, संगठित, सम्पत्ति शुद्धीकरण, प्रमाण लोपविरुद्धको कसुरसहित ६ वटा कसुमा मुद्दा पेस गरिएको छ । उनले सहकारी ठगीसहित अन्य व्यक्तिबाट समेत रकम लिएर हुन्डी गरेको र उक्त रकम क्रिप्टोमा लगाएको अनुसन्धानबाट खुलेको एसपी खड्काको भनाइ छ । ‘सुवासविरुद्ध विभिन्न ६ वटा कसुरमा अनुसन्धान भएको छ । बिगो रकम बढ्नुको कारण त्यही हो,’ एसपी खड्काले भने ।

प्रतिवादीमध्ये ज्योतिबहादुर, सुवास र सुरेश पक्राउ परिसकेका छन् । बाँकी अभियुक्तविरुद्ध ६ असोज ०८१ मा नै पक्राउ पुर्जी जारी भए पनि उनीहरू समातिएका छैनन् । सिआइबीले घटनाका मुख्य अभियुक्त ज्योतिबहादुरलाई गत ४ असारमा कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै सुवास र सुरेश पक्राउ परेका थिए । 

सहकारीको रकम ठगीमा मुख्य योजनाकार ज्योतिबहादुरसहित सुवास पनि रहेको सिआइबीको निष्कर्ष छ । सुवास १० असार ०७३ मा हुन्डी कारोबारको ३६ लाख रुपैयाँसहित पक्राउ परेका थिए । त्यसबाहेक उनी नक्कली नोटको कारोबारमा पनि संलग्न थिए । उनलाई प्रहरीले १० लाख रुपैयाँ नक्कली नोटसहित ७ कात्तिक ०८१ मा पक्राउ गरेको थियो । 

ठगिनेमा मितेरीका अध्यक्ष कुम्भराज (केबी) गुरुङ र घटनाका फरार ज्योति गुरुङसमेत रहेको अनुसन्धानबाट देखिएको छ । उनीहरूबाट मात्रै सुवासले २२ करोडभन्दा धेरै रकम लगेको अनुसन्धानबाट खुलेको छ । सिआइबीका अनुसार ज्योतिले आफ्नोसहित माइतीको समेत घरजग्गा बेचेर उक्त रकम जुटाएकी थिइन् । त्यस्तै, केबीले पनि निजी घर बेचेर उक्त रकम जुटाएको अनुसन्धानबाट खुलेको छ ।

सिआइबीका अनुसार ज्योति गुरुङ र सुवासले महँगो ब्याज प्राप्त हुने प्रलोभन दिएका थिए । सोही प्रलोभनमा फसेर उनीहरूले निजी सम्पत्ति बेचेर उनीहरूलाई रकम उपलब्ध गराएका थिए । त्यसबाहेक ज्योतिले सहकारीको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिएर ज्योतिबहादुर र सुवासलाई दिएकी थिइन् । उक्त रकम पनि उनीहरूले हुन्डीमार्फत विदेश लगी क्रिप्टोमा लगानी गरेका थिए । 

पछिल्ला दिन ज्योति गुरुङको सम्बन्ध ज्योतिबहादुरसँग झाँगिएको थियो । सोही सम्बन्धको फाइदा उठाउँदै ज्योतिबहादुर र सुवासले उनीहरूबाट रकम लिएको अनुसन्धानबाट खुलेको छ । 

शंकाको घेरामा रहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई भने उन्मुक्ति

मितेरी सहकारी ठगी प्रकरणमा शंकाको घेरामा रहेका सत्तारूढ दल कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले भने सिआइबी अनुसन्धान प्रतिवेदनमा उन्मुक्ति पाएका छन् ।

जबकि प्रतिवेदनमा उनकी पूर्वपत्नी ज्योति गुरुङलाई प्रतिवादी बनाउँदै ३० करोड रुपैयाँ बिगोदाबी गरिएको छ । ज्योति अहिले अमेरिकामा छिन् । घटनामा संलग्नता नदेखिएको हुँदा धनराजलाई प्रतिवादी नबनाइएको एसपी खड्काले दाबी गरे ।

‘घटनाको विभिन्न चरणमा अनुसन्धान भएका छन् । तर, अहिलेसम्म धनराज गुरुङको संलग्नता कतै भेटिएको छैन, त्यसो हुँदा उनलाई प्रतिवादी बनाउने आधार भेटिएन,’ एसपी खड्काले भने । धनराजलाई सत्ताको बलमा संरक्षण भएको आरोप लाग्दै आएको छ । धनराजकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिएकी थिइन् ।

अपचलन भएको सोही रकममा ब्याज जोडेर सहकारीले लिनुपर्ने रकम १४ करोड ८१ लाख रहेको भन्दै आएको छ । ज्योतिले लिएको रकम अपचलनमा धनराजको पनि भूमिका रहेको भन्दै प्रश्न उठ्ने गरेको छ ।

हुन त धनराज र ज्योतिबिच २९ फागुन ०७६ मा सम्बन्धविच्छेद भएको थियो । तर, सहकारीले धनराज र ज्योतिबिचको सम्बन्धविच्छेद कागजी रहेको बताउँदै आएको छ । सहकारीले भनेको छ, ‘रकम अपचलन गर्ने ज्योति र धनराजबिचको सम्बन्धविच्छेद कागजी हो । त्यसो हुँदा रकम अपचलनमा ज्योतिसहित उनका पूर्वश्रीमान् धनराजको पनि भूमिका छ । अपचलन भएको रकम धनराजले पनि चुक्ता गर्नुपर्छ ।’

यसका लागि सहकारीले मुख्य आधार ३ फागुन ०७७ मा धनराजले सहकारीबाटै लिएको १२ लाख रुपैयाँ ऋणलाई मानेको छ । किनकि ऋणपत्रमा धनराजले हकवाला भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । ऋणपत्रमा धनराजकै हस्ताक्षर छ । यो तथ्यलाई सांसद सूर्य थापाको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले पनि स्वीकार गरेको छ ।

त्यसैलाई आधार मानेर समितिले धनराजविरुद्ध पनि छानबिन गरिनुपर्ने भन्दै सरकारसमक्ष सिफारिस गरेको छ । अर्को, ४ मंसिर ०७९ को निर्वाचनमा निर्वाचन आयोगमा उम्मेदवारी पत्र दर्ता गर्दा धनराजले श्रीमती भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । जुन पत्रमा धनराजकै हस्ताक्षर छ । यो तथ्यलाई धनराज स्वयंले स्वीकार गरेका छन् । तर, यो भूलवश भएको दाबी गरेका छन् ।