
काठमाडौं जिल्ला अदालतले चक्रे मिलन (मिलन गुरुङ)सहित १९ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ। अभद्र व्यवहारको कसुरमा पक्राउ परेका सबैलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतले चक्रे मिलन र राजेश भन्ने रोजेश खड्कासँग जनही ३० हजार तथा डिल्लीराज कँडेल, रितिक लामा र गणेशबहादुर बोगटीसँग जनही २० हजार रुपैयाँ धरौटी माग गरेको छ। बाँकी सबैसँग जनही १० हजार धरौटी मागिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
जन्मदिन मनाउने क्रममा आतंक मच्चाएको आरोपमा प्रहरीले गत बिहीबार ४७ जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये १९ जनामाथि अभद्र व्यवहारको कसुरमा मुद्दा अघि बढाएकाे हाे।