मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ओपिडी सेवा लिन लामबद्ध सेवाग्राही 
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २८ बुधबार o७:५९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

समस्यै–समस्यामा टोखा प्रादेशिक अस्पताल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o७:५९:oo

काठमाडौंको टोखा नगरपालिका– २ मा अवस्थित टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालको भौतिक संरचना कमजोर हुँदा सेवाप्रवाहमा समेत समस्या भएको छ । आफ्नै भवन नभएको अस्पताल ०७६ देखि प्रादेशिक अस्पतालमा रूपान्तरण भए पनि भौतिक संरचना व्यवस्थित नहुँदा सेवाप्रवाह गर्न कठिन भएको हो । अस्पतालले साँघुरो भवन र कोठाबाट सेवाप्रवाह गर्दै आएको छ ।

भौतिक संरचना विस्तारका लागि बजेटको अभाव रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्यालले जानकारी दिए । उनका अनुसार अस्पतालको आफ्नै नाममा जग्गा नै छैन । हालको जग्गा अस्पतालकै नाममा ल्याउन कोसिस भए पनि अझै अधुरो छ । ‘आफ्नै भवन नहुँदा र भएको भवन पनि साँघुरो हुँदा सेवाप्रवाहमा गर्न कठिन हुने गरेको छ । तर, पनि हामीले सेवाप्रवाहलाई व्यवस्थित पार्न खोजिरहेका छौँ,’ उनले भने, ‘इमर्जेन्सी, ल्याब, ओपिडी, अपरेसन थिएटरलगायत साँघुरो कक्षबाट सञ्चालन गरिरहेका छौँ ।’

अर्यालका अनुसार अस्पतालसँग बिग्रिएका उपकरण मर्मतका लागि रकमसमेत छैन । हरेक वर्ष सरकारले अस्पताललाई चार करोड ५० लाख बजेट दिने गरेको छ । तर, त्यसमध्ये ३० लाख बजेट मात्रै पुँजीगततर्फ छ । जसकारण अस्पतालको भौतिक संरचना र बिग्रिएका उपकरण मर्मतसम्भारसमेत गर्न नसकिएको उनले बताए । बजेट अभाव हुँदा अस्पतालमा अप्रेसन टेबुल, लाइट, जेनेरेटरसमेत जडान गर्न सकिएको छैन । अटो क्लेभ मेसिन र इसिजी मेसिन बिग्रिएर थन्किएका छन् ।

अस्पतालमा रेडियोलोजिस्टको समेत अभाव छ । आउटसोर्सिङबाट रेडियोलोजिस्ट बोलाएर सेवा दिने गरिएको अर्यालले बताए । अस्पतालले साइक्याट्रिक डाक्टरसमेत बाहिरबाट ल्याउनुपरेको छ । थप दुईजना रेडियोलोजिस्ट भएमा ल्याब सेवा चुस्त पार्न सकिने डा. अर्यालले बताए । यसअघि अस्पतालले ल्याब सेवा २४सै घण्टा चलाउने अभ्यास गरे पनि जनशक्ति अपुग भएपछि सेवा खुम्च्याएर १२ घण्टामा झारिएको छ । अस्पतालसँग एउटा मात्रै एम्बुलेन्स छ । कहिलेकाहीँ अत्यावश्यक हुँदा एम्बुलेन्ससमेत अपर्याप्त भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि टोखा र झोर क्षेत्रका बिरामी बढी आउने गरेका छन् । पछिल्लो समय अस्पतालमा आउनेमध्ये अधिकांश दमको समस्या देखिएको अस्पतालले जनाएको छ । केन्द्र सरकार र प्रदेश सरकारले बजेटको व्यवस्था गरेमा २५ बेडबाट बढाएर ५० बेड पुर्‍याउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्यालले बताए । अस्पताललाई सबैभन्दा बढी चुनौती फोहोरमैला व्यवस्थापनमा छ । अस्पतालको पछाडि राखिएको फोहोरले संक्रमणजन्य रोग फैलाउन सक्ने जोखिम पनि देखिएको छ । तर, अस्पतालले अस्पतालजन्य फोहोरमैला व्यवस्थित गर्न बेस्ट ट्रिटमेन्ट क्षेत्रको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि रकम अभावका कारण पूरा नहुने अवस्था छ ।