मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
त्रिवि उपकुलपति कार्यालयअगाडि धर्नामा बसेका अखिल क्रान्तिकारीका विद्यार्थी ।
शिवहरि घिमिरे काठमाडाैं
२o८२ श्रावण २८ बुधबार o७:२८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चार विभागको शुल्क घटाउन माग गर्दै त्रिविमा एक महिनादेखि धर्ना

विद्यार्थी नेताहरूबाट ‘थ्रेट’ आएको भन्दै रेक्टर र रजिस्ट्रारलाई पिएसओ सुविधा

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o७:२८:oo

चारवटा विभागहरूको शुल्क घटाउनुपर्ने माग राख्दै माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक महिनादेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको ढोकामा धर्ना दिँदै आएको छ । द्वन्द्व शान्ति, सामाजिक कार्य, लैंगिक अध्ययन र समानता र अन्तर्राष्ट्रिय समबन्ध विभागलाई केन्द्रीय विभाग बनाइएपछि शुल्क घटाउनुपर्ने भन्दै क्रान्तिकारीले उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई कार्यालय प्रवेशमा समेत अवरोध गरेको छ ।

क्रान्तिकारीको अवरोधका कारण उपकुलपति प्रा.डा. दीपक अर्याल कार्यालय प्रवेश गर्न पाएका छैनन् । हाल यी विभागका विद्यार्थीहरूले चर्को शुल्क तिरेर अध्ययन गरिरहेका छन् । त्रिविका अनुसार एउटा सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क लाग्छ । तर, अन्य देशको अभ्यास र त्रिविको अन्य विषयको शुल्कभन्दा यो निकै महँगो हो । सोहीकारण विद्यार्थीहरूले शुल्क घटाउनुपर्ने माग राखेका हुन् ।

उपकुलपति कार्यालयको ढोकामै विद्यार्थीहरूले आन्दोलन गरेपछि उपकुलपति अर्यालले अन्य विभागहरूको कार्यालयमा बसेर दैनिक प्रशासनिक काम गर्ने गरेका छन् । ‘भिसी भएको एक महिनाभन्दा बढी भयो, तर कार्यालय जान सकेको छैन । सुरुका १२ दिन एकछिन बसेर निस्कन्थेँ, त्यसपछि त अवरोध भयो,’ उपकुलपति अर्यालले भने, ‘कार्यालयमा अवरोध भए पनि अन्य विभागमा बसेर त्रिविको काम गर्दै आएको छु । उहाँहरूको माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि विद्यार्थी नेताहरूभित्रै घुसपैठ भयो ।’ 

उपकुलपति अर्यालका अनुसार अखिल क्रान्तिकारीकै टिमले सोमबार रेक्टर र रजिस्ट्रारको कार्यालयसमेत तोडफोड गरेका छन् । तोडफोडमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको थियो । ‘उहाँहरूले चारवटा विभागको शुल्क घटाउन भन्नुभएको छ, मैले समिति पनि गठन गरेको हो, तर म आउनेबित्तिकै सबै कुरा बुझ्ने कुरो पनि भएन । केन्द्रीय विभाग बनाइएको ०८० मा हो । तर, अहिले म आउनेबित्तिकै अप्ठ्यारो पारिएको छ,’ उपकुलपति अर्यालले भने, ‘यस्तो तरिकाले त्रिवि चलाउन कठिन छ, पालैपालो विद्यार्थी संगठनहरूले त्रिविमा अस्तव्यस्त पार्छन् ।’ 

दुई वर्षअघि नै चारवटा विभागलाई केन्द्रीय विभागमा रूपान्तरण गर्ने निर्णय
०८० मा त्रिविले चारवटा विभागलाई केन्द्रीय विभागमा रूपान्तरण गरेको थियो । द्वन्द्व शान्ति, सामाजिक कार्य, लैंगिक अध्ययन र समानता र अन्तर्राष्ट्रिय सम्बन्धलाई केन्द्रीय विभाग बनाइएको थियो । नियमअनुसार केन्द्रीय विभाग बनिसकेपछि शुल्क घट्नुपर्छ । विभागको शुल्क घट्नुपर्ने अखिल क्रान्तिकारीको माग छ । तर, शुल्क घटाउने सम्बन्धमा सोमबार बैठक राखिए पनि उल्टै रेक्टर र रजिस्ट्रारको कार्यालय तोडफोड गरिएको उपकुलपति अर्यालले बताए ।

अखिल क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टले शुल्क घटाउनुपर्ने माग राख्दै २०औँ दिनदेखि अनशन र एक महिनादेखि आन्दोलन गरे पनि समस्या समाधान हुन नसकेको बताए । ‘यसअघि शुक्रबार वार्ता टोली गठन भएको थियो, यसमा छलफल चलिरहेको थियो, तर सोमबार प्रहरीले ज्यादती गर्‍यो, यतिका दिनसम्म पनि समाधान नगरेपछि रेक्टर कार्यालयमा नारा लगाउने हाम्रो योजना थियो, तर प्रहरीले एकाएक हस्तक्षेप गरेपछि झडप भएको हो,’ उनले भने, ‘विभागको शुल्क २० हजार प्रतिसेमेस्टर हुनुपर्नेमा त्रिविले एउटा सेमेस्टरमा ७५ हजार लिने गरेको छ । चारवटा सेमेस्टरको झन्डै दुई लाख तिर्नुपर्र्छ, विश्वविद्यालयको विभाग भइसकेपछि शुल्क घट्नुपर्छ भन्ने हाम्रो माग हो, तर त्रिविले सुनेन ।’

सोमबार अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटा त्रिवि उपकुलपति कार्यालय पुगेका थिए । उनीसँगै अखिल क्रान्तिकारीका नेताहरू पुगेर उपकुलपति कार्यालयअगाडि नाराबाजी गर्न लागेपछि प्रहरीले रोकेको थियो । तर, त्यसपछि झडपको स्थिति उत्पन्न भएको हो । विद्यार्थीहरूले रेक्टर र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका थिए । कार्यालयको ढोका र झ्याल फोडिएको छ । झडपपछि अखिल क्रान्तिकारीका मनीष चौलागाईं, प्रवीण दाहाल, कृष्ण साउद, कृष्णप्रसाद ओली र ममता जोशीलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरीले छाडिसकेको छ । 

जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा माग
विद्यार्थी नेताहरूबाट बारम्बार धम्की र तोडफोडका घटना भएको भन्दै त्रिवि पदाधिकारीहरूले सरकारसमक्ष सुरक्षा माग गरेका छन् । विद्यार्थी नेताहरूको दादागिरी र धम्कीका कारण कार्यालयमा बसेर काम गर्ने वातावरण नभएको भन्दै पदाधिकारीहरूले मंगलबार सुरक्षा माग गरेका हुन् । त्रिवि उपकुलपति प्रा.डा. अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग सुरक्षा माग गरिएको बताए । प्रशासनले सुरक्षा प्रबन्ध मिलाउन उपत्यका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । उपत्यका प्रहरी प्रहरी कार्यालयले बुधबारदेखि रेक्टर र रजिस्ट्रारका लागि पिएसओ पठाउने तयारी गरेको छ । ‘कार्यालय आउजाउ गर्न सुरक्षा थ्रेट भयो, त्यसैले पिएसओ माग गरेका हौं, मेरो लागि पिएसओ यसअघि नै भएकाले रेक्टर र रजिस्ट्रारज्यूका लागि माग गरिएको हो, भोलिदेखि पठाउँछौँ भन्नुभएको छ,’ अर्यालले भने, ‘सुरक्षा प्रबन्ध भयो भने काम गर्न पनि सहज हुन्छ, कार्यालय नियमित आउजाउ गर्न सकिन्छ ।’

विद्यार्थीको माग सम्बोधन गर्न वार्ता समिति, तर बसेन बैठक 
एक महिनादेखि विद्यार्थीले धर्ना दिँदै आए पनि गत शुक्रबार मात्रै वार्ता समिति गठन भएको थियो । विद्यार्थीको माग सम्बोधन गर्न त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीको संयोजकत्वमा बनेको वार्ता कमिटीको बैठक भने बस्न सकेको छैन । ‘शुक्रबार वार्ता बस्न खोजेका होइन, तर अलि कुरा मिलेन, सोमबार बस्ने कुरा थियो, स्थिति फरक बन्यो,’ अधिकारीले भने, ‘शुल्क घटाउनेबारे विद्यार्थीले राखेको माग जायज हो, छिटोभन्दा छिटो वार्ता गरेर विद्यार्थीको माग सम्बोधन गर्न पहल गर्छौं ।’ उनका अनुसार पछिल्लो समय थपिएको चारवटा विभागमा विद्यार्थीको निकै रुचि देखिएको छ ।