
पछिल्ला केही वर्षयता पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङमा फुटबलप्रति युवाहरूमा आकर्षण बढ्दो छ । विद्यालयदेखि गाउँस्तरमा हुने फुटबल खेलले भविष्य निर्माणको माध्यम बन्दै गएको छ ।
ताप्लेजुङको फुङलिङ, मेहेले, सिद्धिङवा, दोभान, सिम्बाजस्ता क्षेत्रका युवाहरू बिहान–बेलुका खेलमैदानमा भेटिन्छन् । केही वर्षअघिसम्म सीमित मात्रामा हुने फुटबल गतिविधि अहिले गाउँपालिका, वडास्तर र विद्यालयस्तरसम्म फैलिएको छ ।
सर्घष स्पोर्टस् फुङलिङ, तेल्लोक स्पोटिङ तेल्लोक, मानाभरा युवा सावादिन र जलजले युवा साँघुलगायतले नियमित प्रशिक्षण, लिग प्रतियोगिता तथा अन्तरजिल्ला फुटबल प्रतियोगितामा आफ्ना खेलाडीलाई सहभागी गराइरहेका छन् ।
ताप्लेजुङ जिल्लाका कुनै पनि गाउँमा फुटबल प्रतियोगिता हुँदा हजारौँ संख्यामा दर्शक आउने गरेका छन् । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबलमा दैनिक पाँच हजारभन्दा बढी दर्शक उपस्थित छन् । यसैगरी, महिला खेलाडीको सहभागिता पनि बढेको छ ।
विद्यालयस्तरमै आयोजना हुने छात्रा फुटबल प्रतियोगिताले किशोरीहरूलाई फुटबल खेल्न थप हौसला प्रदान गरिरहेको छ । विद्यालयको सहयोगले महिला फुटबलले पनि गति लिएको हो ।
चुनौती र सम्भावना
सुविधासम्पन्न मैदान, खेल सामग्री, प्रशिक्षकको अभावजस्ता चुनौती अझै बाँकी छन् । तर, स्थानीय तह, विद्यालय, संघसंस्था तथा युवाहरूको लगनशीलताले यी चुनौती हटाउने सम्भावना बलियो देखिन्छ । खेलमैदान नभएकै कारण विद्यालयका खेलमैदानमा ठुल्ठुला प्रतियोगिता भइरहेका छन् । बनिरहेको खेलमैदान अलपत्र आवस्थामा पुगेका छन् । केही खेलाडी काठमाडौं, धरान, विराटनगरमा पुगेर प्रशिक्षण लिने गरेका छन् । फुटबललाई माध्यम बनाएर स्वास्थ्य, सामाजिक एकता, र सम्भावनाको बाटोमा अघि बढिरहेको ताप्लेजुङ अब खेलकुदमै पनि छुट्टै पहिचान बनाउने दिशामा अगाडि बढिरहेको देखिन्छ ।