
काठमाडौंको भृकुटीमण्डपमा आयोजित सवारीसाधनको एक्स्पो ‘नाइमा मोबिलिटी’ सोमबारसम्म चल्ने भएको छ । आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले अवलोकनकर्ताको उपस्थिति बढेपछि एक्स्पो अवधि एक दिन थप्ने निर्णय गरेको हो ।
गत बुधबारदेखि भृकृटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आइतबारसम्म आयोजना हुने तय गरिएको थियो । तर, मोबिलिटी एक्स्पोमा अपेक्षा गरेभन्दा बढी दर्शक आएपछि प्रदर्शनी अवधि एक दिन थपिएको हो । ‘साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने भनिएको प्रदर्शनी अब साउन २६ गते सोमबारसम्म खुल्ने भएको छ,’ नाइमाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
एक्स्पोको चौथो दिनसम्म अवलोकनकर्ताको भिड बाक्लो देखिएको छ । ‘आफूलाई मनपर्ने सवारीसाधन अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद गर्नेहरूको घुइँचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध सञ्चालन भयो,’ नाइमाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘अरू दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरूले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।’
एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारीहरू, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरू, व्यापारी साथीहरू लगायत समाजका सबै तहका व्यक्तिहरूले उपस्थिति जनाएका छन् । प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार पाँच सय, तेस्रो दिन १९ हजार पाँच सय र शनिबार २१ हजार पाँच सय अवलोकनकर्ताले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाएको आयोजकले जनाएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । ४८ वटा स्टल रहेको एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड र आठवटा व्यावसायिक सवारी ब्रान्ड सहभागी छन् ।
प्रदर्शनीको टिकट खल्ती बाई आइएमईमा उपलब्ध हुनेछ । प्रदर्शनी अवलोकन गर्न चाहने विद्यार्थीलाई एक सय र सर्वसाधारणलाई दुई सय रुपैयाँ टिकट शुल्क तोकिएको आयोजकले जनाएको छ ।