
३० माघ ०८१ मा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल–भारत संयुक्त पावर एक्सचेन्ज कमिटी (पिइसी)मा गरेको समझदारीलाई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाइने भएको छ । बिहीबार प्राधिकरणको सञ्चालक समितिले उक्त समझदारी स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै मन्त्रिपरिषद् पठाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि त्यो समझदारी अनुमोदनका लागि विद्युत् नियमन आयोग पठाइनेछ । त्यसपछि उक्त समझदारीले पूर्णता पाउनेछ । प्राधिकरणका एक सञ्चालकले पिइसी बैठकमा भएको समझदारी स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने निर्णय भएको बताए ।
करिब ६ महिनाअघि भएको समझदारीअनुसार नेपालले विद्युत् व्यापार गरिरहेको छ । सोही सम्झौतालाई टेकेर नेपालले विद्युत्को भुक्तानीसमेत गरेको छ । तर, प्राधिकरण सञ्चालक समितिले समझदारी स्वीकृतिमा भने ढिलाइ गरिरहेको छ ।
‘सोही विषयमा समेत तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेर हटाइएको हुनाले सञ्चालक समिति आफैँले स्वीकृत गर्न नैतिक रूपमा पनि अप्ठ्यारो भयो । तसर्थ, यसलाई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘यद्यपि, माइन्युट हुन बाँकी छ ।’
प्राधिकरणका प्रवक्ता राजन ढकालले भने यसबारे आफूलाई जानकारी आइनसकेको बताए । ‘बिहीबार सञ्चालक समिति बैठक बसे पनि त्यहाँ भएका निर्णयबारे मलाई जानकारी आइसकेको छैन । सम्भवत: माइन्युट भएपछि जानकारी आउला,’ उनले बताए ।
३० माघ ०८१ को पिइसी बैठकमा भारतको बिहार र उत्तर प्रदेशबाट आयात गर्ने विद्युत्को खरिद दर प्रतियुनिट ७.९८ भारुबाट १.५ प्रतिशतले बढाएर ८.१ भारु पुर्याउने समझदारी भएको थियो । त्यसमा नेपालको तर्फदेखि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए । त्यो समझदारी १ अप्रिल (चैत १९) देखि लागू हुने गरी एक वर्षका लागि थियो । २९ माघमा भारतमा सम्पन्न द्विपक्षीय ऊर्जा सचिवस्तरीय बैठकले कुलमानलाई पिइसी बैठकमा उपस्थित हुन अनुमति दिएको थियो ।
पिइसीअन्तर्गत भारतको बिहार र उत्तरप्रदेशबाट सन् १९९१ देखि विद्युत् आयात हुँदै आएको छ । त्यसमा आवश्यक निर्णय गर्ने विषयमा प्राधिकरणको कार्यकारी निर्देशकलाई नै पहिलेदेखि अधिकार दिइएको छ । पछिल्लोपटक पिइसी बैठकमा हुने निर्णयलाई सञ्चालक समितिबाट पारित गरेर आयोगदेखि अनुमोदन गर्न सुरु गरिएको थियो । विद्युत्को खरिद–बिक्री दर निर्धारण गर्ने अधिकार आयोगलाई छ । त्यसलाई लागि प्राधिकरणले प्रस्ताव गर्नुपर्छ । तर, ऊर्जामन्त्री दीपक खड्काले ३० माघ ०८१ मा पिइसीमा भएको समझदारीको विषयमा कुलमानलाई स्पष्टीकरण मात्रै सोधेनन्, उनलाई बर्खास्त गर्न मन्त्रिपरिषद्मा सिफारिससमेत गरे । ११ चैतमा मन्त्रिपरिषद्ले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनायो । त्यसलगत्तै ३० माघ ०८१ कै समझदारीअनुसार पिइसीबाट विद्युत् आयात गरेर भुक्तानीसमेत दिइएको छ ।
२१ वैशाखमा पनि पिइसीमा भएको समझदारी स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने निर्णय भएको थियो । तर, त्यसलाई माइन्युट गरिएन । त्यसपछि प्राधिकरणले सञ्चालक समितिबाट निर्णय नगराई सीधै अनुमोदनका लागि नियमन आयोगमा पठाएको थियो । तर, आयोगले सञ्चालक समितिको निर्णय नदेखेपछि अनुमोदन गर्न नसकिने जानकारी प्राधिकरणलाई दिएको थियो ।
अनुमोदन गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव
प्राधिकरणले जेठको पहिलो साता महान्यायाधिवक्ताको कार्यालयको राय लिएको थियो । महान्यायाधिवक्ताको कार्यालयले जो व्यक्तिले हस्ताक्षर गरे तापनि द्विपक्षीय रूपमा सन्धि–सम्झौता भइसकेपछि कार्यान्वयन गर्नुपर्ने भनेर राय दिएको थियो । त्यसपछि प्राधिकरणले त्यो विषय बोर्डलाई पनि जानकारी दिएर भुक्तानीसमेत दिएको थियो । प्राधिकरणले आयोगलाई पनि महान्यायाधिवक्ताको कार्यालयको राय प्राप्त भएको जानकारी गराउँदै समझदारीअनुसारको मूल्यलाई अनुमोदन (कार्यार्थ) गर्न पनि प्रस्ताव गरिएको थियो । तर, आयोगले प्राधिकरण सञ्चालक समितिको निर्णय नै खोज्यो । त्यसको झन्डै दुई महिनापछि प्राधिकरणले पिइसीमा भएको समझदारी आफूले स्वीकृत नगरी मन्त्रिपरिषद् पठाउने निर्णय गरेको हो ।
‘उक्त समझदारीअनुसार विद्युत् आयात गर्ने र भुक्तानीसमेत दिने काम भइसकेको छ । तर, प्रक्रिया भने पूरा गरिएको थिएन । सोही विषयमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि सोही विषय सञ्चालक समितिबाट पारित गर्न पनि अप्ठ्यारो भयो । त्यसपछि अहिले आएर यसलाई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने निर्णय गरिएको हो,’ स्रोतले भन्यो । यही विषयमा पनि निवर्तमान कार्यकारी निर्देशक कुलमानलाई घिसिङ बर्खास्त गरेको अवस्थामा उक्त समझदारी कार्यान्वयन गर्नेमा प्राधिकरणका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणको नेतृत्वलाई नैतिक तथा कानुनी प्रश्न पहिलादेखि नै थियो । तर, महान्यायाधिवक्ताको कार्यालयले कार्यान्वयन गर्नु भनेर राय दिएको अवस्थामा समेत प्राधिकरणको सञ्चालक समितिबाट कार्यान्वयन गर्ने भनेर निर्णय गरिएको थियो ।