Skip This
फिफा वरीयतामा महिला टोलीको छलाङ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफा वरीयतामा महिला टोलीको छलाङ 

एकैपटक १३ स्थान सुधार्दै नेपाल ८७औँ स्थानमा, यसअघिको उच्चतम सफलता २०१७ को डिसेम्बरमा ९१औँ स्थान थियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४८:oo

नेपाली महिला राष्ट्रिय टोलीले फिफा विश्व वरीयतामा छलाङ मारेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार अगस्टको वरीयता सार्वजनिक गर्दा नेपालले १३ स्थान सुधार गरेको छ । नेपाल ८७औँ स्थानमा रहेको छ । महिला फुटबल इतिहासमा यो अहिलेसम्मकै उत्कृष्ट वरीयता हो । पछिल्लो वरीयतामा नेपाल सयौँ स्थानमा थियो । 

२५ डिसेम्बर २०१७ को वरीयतामा नेपाल ९१औँ स्थानसम्म पुगेको थियो । यो नै सबभन्दा उच्च स्थान थियो । फिफाले २००३ बाट महिला वरीयता सुरु गरेको हो । एसियाली महिला वरीयतामा नेपाल १६औँ स्थानमा छ । एसियामा जापान शीर्ष स्थानमा छ । जापान विश्व वरीयताको आठौँ स्थानमा छ । दक्षिण एसियालीमा भारत सबैभन्दा माथि छ । दक्षिण एसियामा नेपालभन्दा एक स्थान माथि रहेको भारतको विश्व वरीयता ६७औँ रहेको छ । 

एसियामा भारतले १२औँ स्थान पाएको छ । फिफाले अगस्टको महिला वरीयता निकाल्दा सबभन्दा धेरै सुधार गर्ने राष्ट्र बंगलादेश हो । उसले एकैपटक २४ स्थान सुधार गरेको छ । बंगलादेश अहिले १०४औँ स्थानमा छ । दक्षिण एसियामा तेस्रो स्थानमा रहेको बंगलादेश एसियामा भने १९औँ स्थानमा छ । दक्षिण एसियाका पाकिस्तानले तीन स्थान सुधार गर्दै १५४औँ स्थान रक्षा गरेको छ । दुई स्थान तल झरेको श्रीलंका १६१औँ स्थानमा छ । आठ स्थान फड्को मारेको भुटान १६३औँ स्थान र दुई स्थान तल झरेको माल्दिभ्स १६५औँ स्थानमा छन् ।

उज्वेकिस्तान यात्रापछि सुधार
नेपालले गत जुनमा उज्वेकिस्तानमा भएको एसियन कप महिला फुटबल प्रतियोगिताको छनोट खेलेको थियो । छनोटा नेपालले तत्कालीन मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डको प्रशिक्षणमा प्रतिस्पर्धा गरेको थियो । महिला फुटबलमा पहिलोपटक प्रो–लाइसेन्स प्रशिक्षक वाइल्डले तीनमध्ये दुई खेलमा जित र एकमा हारको नतिजा निकाले । नेपालले नयाँ प्रतिद्वन्द्वी लाओसमाथि ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो । समूहको निर्णायक खेल नेपालले आयोजक उज्वेकिस्तानविरुद्ध खेलेको थियो । प्रतिस्पर्धामा उत्रनुअघि दुवै टोलीका अंक र गोल बराबरी थिए । यस खेलको विजेता नै एसिया कपमा पुग्ने थियो ।

निर्णायक खेलमा नेपाल टाइब्रेकरमा चुक्यो । निर्धारित समयमा नेपाल र उज्वेकिस्तानबिच ३–३ को बराबरी भएको थियो । टाइब्रेकरमा कप्तान सावित्रा भण्डारी र गोलरक्षक अञ्जना रानामगर चुकेपछि नेपालले अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन सकेन । फिफाले समेत यस छनोट खेलमा नेपालको प्रदर्शनको तारिफ गरेको थियो । उज्वेकिस्तानमा निकालेको नतिजाका कारण नेपालले फिफा वरीयतामा १३ स्थान सुधार गरेको हो ।

उत्कृष्ट प्रदर्शनपछि वरीयतामा सुधार : अञ्जिला तुम्बाप्पो सुब्बा, गोलरक्षक, नेपाल
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छौँ । अहिले प्राप्त गरेको वरीयता त्यत्तिकै आएको होइन । यो सबै खेलाडीको लामो समयदेखिको मिहिनेत र प्रदर्शनको आधार हो । उज्वेकिस्तानमा भएको छनोट खेलमा असफल भए पनि हामीले उत्कृष्ट प्रदर्शन गर्‍यौँ । यसले पनि वरीयतामा सुधार भयो । अब यो स्थानभन्दा माथि जानुपर्छ । यसका लागि अझै मिहिनेत गर्नुपर्ने चुनौती बढेको छ । खेलाडी मात्रै नभएर संघ र राज्यले पनि साथ दिनुपर्छ । त्यसका लागि तयार छौँ ।

स्पेन शीर्ष स्थानमा 
स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गरेको छ । स्पेनले एक स्थान सुधार गरेको हो । स्विडेन छैटौँबाट तेस्रो स्थानमा उक्लिएको छ । एक स्थान सुधार गरेको इंग्ल्यान्ड चौथो स्थानमा छ । इंग्ल्यान्डले यसै साता मात्र महिलातर्फको युरोकप जितेको थियो । तेस्रो स्थानमा रहेको जर्मनी पाँचौँ स्थानमा झरेको छ । चार स्थान फड्को मार्दै फ्रान्स छैटौँ स्थानमा छ । तीन स्थान तल झरेको ब्राजिल सातौँमा छ । जापान, क्यानडा र दक्षिण कोरियाले एक स्थान गुमाएका छन् ।