मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
Invalid date format १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हलेसी दर्शन गरेर फर्कँदै गर्दा माइक्रोबस दुर्घटना, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३o:oo

हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोलानजिकै आज बिहान करिब नाै बजे दुर्घटना भएको हो ।

दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माइक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।

दुर्घटनाका घाइतेमध्ये ६ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताएका छन् । घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठजनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

दुर्घटनाग्रस्त माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटनास्थलमा खटिएका प्रहरी र स्थानीयको सहयोगमा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।

दुर्घटनाग्रस्त माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनास्थलमा बुट्यान र झाडी भएकाले ठुलो संख्यामा मानवीय क्षति हुनबाट जोगिएको प्रवक्ता गिरीले जानकारी दिएका छन् ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । माइक्रोबस दुर्घटना हुँदा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको ‘बोलबम’ मेला भरेर फर्किएका दर्शनार्थी दुर्घटनामा परेको हो ।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा साउन महिनाभर बोलबम लाग्ने गर्दछ । महिना दिनसम्म लाग्ने बोलबम मेला भर्नका लागि दर्शनार्थीले निजी तथा भाडाका गाडी रिजर्भ गरेर ल्याउने गरेका छन् ।