
पछिल्ला तीन वर्ष निरन्तर घट्दै आइरहेको वितरणतर्फको विद्युत् चुहावटको हिस्सा ०८१/८२ मा भने बढेको छ । अघिल्लो आव ०८०/८१ मा वितरणतर्फको विद्युत् चुहावट ९.५९ प्रतिशत थियो । गत आवमा बढेर १०.७६ प्रतिशत पुगेको छ ।
नयाँ पत्रिकालाई प्राप्त प्राधिकरणको तथ्यांकअनुसार गत आवमा वितरण प्रणालीमा १२ अर्ब ६४ करोड युनिट विद्युत् आएको छ । तर, ११ अर्ब २८ करोड विद्युत् मात्रै खपत भएको छ । यो हिसाबअनुसार एक अर्ब ३६ करोड युनिट विद्युत् ‘लस’ भएको छ । ०८१ असारसम्म प्राधिकरणको औसत विद्युत् बिक्री दर प्रतियुनिट ९.७४ रुपैयाँ थियो । उक्त दरबाट हिसाब निकाल्दा गत आवमा १३ अर्ब २४ करोड ६४ लाख रुपैयाँको विद्युत् चुहावट भएको देखिन्छ । ०७७/७८ मा ११.६४ प्रतिशत, ०७८/७९ मा १०.८६ प्रतिशत, ०७९/८० मा ९.७६ प्रतिशत र ०८०/८१ मा ९.५९ प्रतिशत चुहावट थियो ।
प्राधिकरणले चुहावटको पूर्ण तथ्यांक तयार भइनसकेको दाबी गरेको छ । तथ्यांक तयार भइसकेको, तर विवाद हुने देखिएपछि सार्वजनिक नगरिएको स्रोतले जनाएको छ ।
ट्रिपिङ धेरै हुँदा बढ्यो चुहावट
विद्युत् चुहावट प्राविधिक र गैरप्राविधिक गरी दुई प्रकारका हुन्छन् । प्राविधिकतर्फ गत आवमा विद्युत् ट्रिपिङ धेरै भयो । त्यस्तै, वितरण लाइन सुदृढीकरणको काम पनि राम्रोसँग हुन सकेन र चुहावट बढेको स्रोतको भनाइ छ । मुख्यत: वितरण लाइन सुदृढीकरणमा प्राधिकरणले पर्याप्त काम गर्न नसक्दा यस्तो समस्या आएको स्रोतको दाबी छ । गैरप्राविधिकतर्फ चोरी नियन्त्रणजस्ता काम पनि प्रभावकारी भएनन् ।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठले विद्युत् चुहावटको तथ्यांक अन्तिम हुन बाँकी रहेको बताए । ‘तथ्यांक कलेक्सन भइरहेको छ । त्यो गणना गरेर अन्तिम तथ्यांक निकाल्न बाँकी छ,’ उनले भने, ‘गत आवकै हाराहारीमा विद्युत् चुहावटको तथ्यांक आउने आशा छ ।’ तर, तथ्यांक तयार भइसकेको, विवाद हुने देखिएपछि सार्वजनिक नगरिएको स्रोतको दाबी छ ।
चुहावट बढेको तथ्यांक सच्याउन हितेन्द्रको दबाब
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तथ्यांक तोडमोड गर्न प्रदेश प्रमुख तथा वितरण केन्द्रका प्रमुखहरूलाई दबाब दिइरहेका छन् । शनिबार दिउँसो उनले प्रदेश प्रमुख तथा वितरण केन्द्रका प्रमुखसँग चुहावट दर पुनरावलोकनका लागि छलफलसमेत राखेका छन् । तथ्यांक तोडमोड गर्न निरन्तर दबाब आएपछि एक वितरण केन्द्रका कर्मचारीले त्यसो गर्न नसकिने भन्दै प्राधिकरणका एक निर्देशकलाई ह्वाट्सएपमा म्यासेज गरेका छन् । ‘मैले गाली खाएँ । हाम्रो केन्द्रको लस टारगेटभित्र छ । आई एम नट गोइङ टु इडिट एनी डाटा (म कुनै पनि तथ्यांक सम्पादन गर्नेछैन) । दिनलाई दिन, रातलाई रात,’ ती अधिकारीले पठाएको ह्वाट्सएप म्यासेजमा भनिएको छ । यो म्यासेजबाट पनि तथ्यांक तोडमोड गर्न कर्मचारीलाई दबाब आइरहेको देखिन्छ ।