
सिराहाको गोलबजार नगरपालिका– ५, निपनिया मलहाटोलमा खानेपानी थाप्न गएकी स्थानीय ३५ वर्षीया ममताकुमारी मुखियामाथि कुटपिट भएको छ । स्थानीय कपिल साह र उनका छोराहरूले मुखियालाई बिहीबार बिहान करिब ६ बजेतिर कुटपिटसहित दुव्र्यवहार गरेका हुन् । साहले घरछेउमै विद्युतीय मोटरबाट पानी तानेर आफ्नो खेतमा लगाइरहेका वेला खाना पकाउने पानी थाप्न गएकी मुखियालाई ‘मेरो निजी खर्चमा चलाएको मोटरमा किन पानी थाप्न आएको’ भन्दै कुटपिट गरेको स्थानीय मञ्जु सदायले बताइन् ।
‘पानीजस्तो नभइनहुने वस्तु, त्यसमा पनि खडेरी छ,’ उनले भनिन्, ‘एक बाल्टिन पानी थाप्न जाँदा गालीगलोज गर्दै कुटपिट नै गरे,’ उनले भनिन् । कुटपिटबाट टाउको र अनुहारमा चोटपटक लागेकी मुखिया रुँदै घर आएपछि तत्काल छिमेकीहरूले उपचारका लागि सिराहा प्रादेशिक अस्पताल पुर्याएको उनले बताइन् । ‘विद्युतीय मोटर चलाउँदा घरको हातेकल सुकेकाले राति चलाउनुस् मात्र भनेकी थिएँ,’ पीडित मुखियाले भनिन्, ‘उल्टै मुखमुखै लाग्छेस् भन्दै बाबुछोरा मिलेर कुटे ।’
पीडित मुखियाले खडेरीका वेला घरमा पिउनसमेत नभएपछि पानी लिन जाँदा कुटपिट र दुव्र्यवहार गरेका बाबुछोराविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलमा उजुरी दिएकी छिन् । घटनाको विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।