
सानाठुला अधिकांश राजनीतिक दलमा आन्तरिक किचलो देखिनुले के संकेत गर्छ ?
नेपालमा कुनै पनि दल स्थापनाकालदेखि नै नीति, विचार या सिद्धान्तकेन्द्रित हुन सकेनन्, व्यक्तिकेन्द्रित भए । पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत हुन सकेन । एमालेमा प्रश्न उठाउनासाथ भीम रावल, विन्दा पाण्डे या उषाकिरणले जस्तो नियति झेल्नुपर्ने अवस्था आयो, अन्य दलमा पनि त्यस्तै अवस्था देखियो । अहिले सबैजसो सानाठुला दलमा देखिएको किचलोको परिणाम पनि त्यही अन्तरपार्टी लोकतन्त्र मजबुत नहुनुको परिणाम हो ।
दलहरूमा अन्तरपार्टी लोकतन्त्रको अभ्यास किन हुन नसकेको होला त ?
हाम्रा दलको बनोट नै त्यस्तै छ । व्यक्तिकेन्द्रित दल निश्चित व्यक्तिको इच्छामा निर्भर हुन्छ । त्यस्ता दल नेतृत्वले जे चाहन्छ, भन्छ या गर्छ, त्यसैका आधारमा चलिरहेका हुन्छन् । एमालेमा हेर्ने हो भने पहिले माधव नेपाल शक्तिमा हुँदा उनी नै सर्वेसर्वा थिए । अहिले केही वर्षदेखि केपी ओली शक्तिमा छन् । अहिले एमालेमा उनी नै सर्वेसर्वा छन् । उनको विकल्प खोज्न थालियो भने त्यसलाई कुल्चिन उनी सक्षम छन् । एमालेको पार्टी राजनीतिमा फर्किने पूर्वराष्ट्रपति विद्या भण्डारीको घोषणा नैतिक या अनैतिक जे भए पनि त्यो उनको व्यक्तिगत विषय थियो । तर, उनको पार्टी प्रवेशलाई रोक्न पार्टी सत्ता कसरी दुरुपयोग गरियो, त्यो जगजाहेर छ । जबसम्म दलहरूमा नेतृत्वको आशीर्वाद थाप्ने र आशीर्वाद दिन पाउँदा आफूलाई ठुलो ठान्ने अपसंस्कृति मौलाइरहन्छ, अन्तरपार्टी लोकतन्त्रले शिर उठाउन पाउँदैन ।
यस्ता विवादले समग्र राजनीतिमा कस्तो प्रभाव पार्ला ?
यसले सम्बन्धित दलको गतिशीलतामा असर पार्छ । उनीहरूसित सहकार्य गर्ने अन्य दलमा पनि त्यसको प्रभाव पर्छ । दलीय राजनीतिको विरोधमा देखिएका अधिनायक शक्तिलाई पनि यसले बल दिन्छ । लोकतन्त्र नै रुग्ण भई धरापमा पर्छ ।