
प्रमुख प्रतिपक्ष दल माओवादीको स्थायी समिति बैठक शुक्रबार बस्दै छ । संगठन निर्माण, कार्यविभाजन, आन्तरिक एकता सुदृढीकरणलगायत एजेन्डामाथि बैठकमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बैठकको सुरुमै अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि मध्यपहाडी अभियानलाई निरन्तरता दिने र केन्द्रीय समिति बैठकको मिति तय गर्नेलगायत एजेन्डामाथि छलफल हुनेछ ।
समाजवादी मोर्चालाई सक्रिय बनाउने र विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ । अन्तर्संघर्षको विषयले पनि बैठकमा स्थान पाउनेछ । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिचको अन्तर्संघर्ष सार्वजनिक रूपमै देखिएको छ । अन्तर्संघर्ष र सुदृढ एकताबारे बैठकमा छलफल हुने एक नेताले बताए ।