मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १४ बुधबार o९:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेशका पूर्वप्रमुख अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दा

पैसा र पावर हुनेको पक्षमा कानुन रहेको भन्दै मुख थुनेर बलात्कार गरेको पीडितको बयान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o९:o९:oo

मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज)विरुद्ध जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

अहिराजविरुद्ध नयाँ बानेश्वरीकी २३ वर्षीया युवतीले जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि अहिराज गत ४ साउनमा पक्राउ परेका थिए । करिब नौ दिनको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अहिराजविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले अहिराजविरुद्ध जबर्जस्ती करणी कसुरमा अदालतमा मुद्दा दर्ता भएको बताए । ‘अहिराजविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध जबर्जस्ती करणी कसुरमा मुद्दा चलेको हो,’ उनले भने ।

अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार अहिराजले ४ जेठ ०८१ मा युवतीलाई बलात्कार गरेका थिए । त्यसपछि उनले घटना सार्वजनिक नगर्न ज्यान मार्ने धम्की दिएका थिए । बलात्कृत युवतीले प्रहरीसमक्ष दिएको बयानअनुसार अहिराजले पैसा र पावर हुनेको कानुन रहेको भन्दै मुख थुनेर बलात्कार गरेका थिए । ‘मेरो मुख थुनी मलाई बिस्तारामा पछार्नुभयो । हल्ला गर्ने, चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो । चिच्याइस् भने करणी गरी मारिदिन्छु । तेरो घरका व्यक्तिहरू पनि यहाँ छैनन् । तँलाई कसले मार्‍यो कसैलाई पनि थाहा हुँदैन, नेपालमा पैसा र पावर हुनेकै कानुन छ भन्दै धम्की दिँदै मेरो अस्मिता लुटियो,’ पीडित युवतीले बयानमा भनेकी छिन् ।

दर्ता भएको मुद्दाअनुसार अहिराजविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम सातदेखि १० वर्ष कैद सजायसहित जरिवानासमेत मागदाबी गरिएको छ । ‘मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र उपदफा (२) बमोजिम जबर्जस्ती करणीको कसुर गर्ने निज प्रतिवादी राजेश अहिराज भन्ने राजेश झालाई सोही संहिताको दफा २१९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम कैद सजाय गरी पाउन साथै मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३ क) को खण्ड (ग)बमोजिम जरिबाना मागदाबी गरिएको छ,’ अभियोगपत्रमा छ ।

बयानमा क्रममा अहिराजले भने घटना झुटो रहेको दाबी गरेका छन् । मागबमोजिमको २० लाख रुपैयाँ नदिएपछि जाहेरीकर्ताले आफूलाई फसाएको उनले बयानमा भनेका छन् । ‘जाहेरवालाहरूको षड्यन्त्र समाजमा सार्वजनिक भएको आक्रोश र आपराधिक लाभ (एक्सटर्सन)को दर्ता भएको जानकारी पाउँदा जाहेरवालाले रिस खप्न नसकी बदलाको भावनामा आई ममाथि बनावटी काल्पनिक र झुटा आरोप लगाएकी हुन्,’ उनको बयान उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ ।

प्रहरीका अनुसार पीडित युवतीले होस्टेल सञ्चालन गर्दैै आएकी छिन् । उनी अहिले आमासँग बस्दै आएकी छिन् । उनकी आमा एकल महिला हुन् । होस्टेल सञ्चालनका लागि समेत अहिराजले सहयोग गर्ने गरेका थिए । पीडित युवतीको जाहेरीपछि अहिराज भने फरार भएका थिए ।

पीडित युवती राष्ट्रिय महिला आयोगमा पनि उजुरी लिएर गएकी थिइन् । तर, आफू ‘हनी ट्र्याप’मा परेको भन्दै अहिराजले आयोगसँग छलफल टारेका थिए ।