मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
२o८२ श्रावण १४ बुधबार o७:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बागमतीमा अस्थिरता : कांग्रेसको घरझगडाले बदलिँदै सरकार

कांग्रेस बागमती संसदीय दलको नयाँ नेता चयनका लागि आज चुनाव हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o७:o७:oo

बागमती प्रदेश कांग्रेस संसदीय दलमा विश्वास गुमाएसँगै मुख्यमन्त्री रहेका बहादुरसिंह लामा तामाङको पद धरापमा परेको छ । कांग्रेस बागमती संसदीय दलको विधानमा दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ । दलको नयाँ नेता चयनका लागि बुधबार चुनाव हुनेछ । 

मंगलबार अविश्वास प्रस्तावको मतविभाजनमा कांग्रेसका ३७ मध्ये २२ सांसदले अविश्वासको पक्षमा मतदान गरेका छन् । ९ साउनमा कांग्रेस बागमतीका सभापति एवं सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ जनाले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । 

विवाद टुंग्याउन कांग्रेसले केन्द्रीय सदस्य एवं संघीय सांसद राजन केसीलाई केन्द्रीय पर्यवेक्षकका रूपमा खटाएको थियो । निकास खोज्न उनले विभिन्न चरणमा दुवै पक्षसँग संवाद गरे पनि सहमति नजुटेपछि बुधबार मतदान प्रक्रियामा लगेका थिए । 

तामाङले आफूले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दोहोर्‍याएका छन् । ‘गठबन्धन सरकारको मुख्यमन्त्री हुनका लागि दलको नेता हुनुपर्दैन,’ उनले भने, ‘गठबन्धन सरकारमा दलको नेताको हैसियतले मात्रै मुख्यमन्त्री बन्नुपर्ने कुनै बाध्यता छैन । त्यसैले राजीनामा दिन्नँ,’ उनले भने । तर, कांग्रेस बागमती संसदीय दलको विधान, २०७४ मा ‘पार्टीले सरकार गठन गरेमा दलका नेताले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ । 

तामाङले संसदीय दलको नयाँ नेताको चयन प्रक्रिया बाँकी नै रहेकाले त्यसमा आफ्नो पक्षले उम्मेदवारी दिने बताए । प्रदेश सांसदबाट जो–सुकै उम्मेदवार हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘त्यसमा पुन: म आफैँ वा अर्को कसैलाई प्रतिस्पर्धामा उतार्छु ।’ 

केन्द्रीय पर्यवेक्षक केसीले पार्टीको विधानअनुसार संसदीय दलको नेता नभएमा मुख्यमन्त्रीको वैधानिकता नरहने बताए । अविश्वासको प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री लामालाई नैतिक रूपमा मुख्यमन्त्रीमै रहने नैतिक र संवैधानिक आधार सकिएको उनले बताए । ‘कांग्रेसको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने स्पष्ट व्यवस्था छ । त्यसका आधारमा संसदीय दलको नेताविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि बहादुरसिंह लामा मुख्यमन्त्री रहन सक्नुहुन्न,’ केसीले भने ।
उनका अनुसार अहिलेको गठबन्धन पनि केन्द्रकै पहलमा बनेकाले नयाँ नेतृत्वबारे केन्द्र र अन्य दलसँगको सहकार्यमा तय गरिनेछ । 

सत्तासाझेदार एमालेका नेताहरूले अब कांग्रेसले लिने कदमका आधारमा आफूहरूले निर्णय गर्ने बताएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले व्यक्तिसँग नभई कांग्रेससँग गठबन्धन गरेकाले उसको निर्णय जसरी आउँछ, उसैगरी आफूहरू पनि अगाडि बढ्ने बताए । 

‘संसदीय दलको नेता परिवर्तन कांग्रेसको आन्तरिक विषय हो । त्यसमा हामीले हस्तक्षेप गर्न मिल्दैन,’ थपलियाले भने, ‘उहाँहरू संसदीय दलको नेताको चयन प्रक्रियामा रहेकाले हामी अहिले नै यसै गर्छौँ भन्दैनौँ । हामीले गठबन्धन गरेको व्यक्तिसँग होइन कांग्रेससँग हो । त्यसकारण कांग्रेस जसरी आउँछ, हामी पनि त्यसैगरी जान्छौँ ।’ एमालेको संस्थागत निर्णय हुने थपलियाले बताए ।

नयाँ दलको नेताका लागि आज चुनाव
कांग्रेस बागमती संसदीय दलको नेताका लागि बुधबार चुनाव हुँदै छ । निर्वाचन समितिले दिउँसो २ देखि ३ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशित, साढे ८ देखि ९ बजेभित्र दाबी विरोध र १० देखि ११ बजेसम्ममा उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुपर्नेछ । साढे ११ बजे उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुनेछ भने मध्याह्न १२ बजेभित्र उम्मेदवारले फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । चुनावपछि बुधबार नै मतगणना गरी परिणाम घोषणा गरिने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले बताए । बागमतीमा कांग्रेसका ३७ सांसद छन् । बहुमतका लागि १९ जनाको समर्थन चाहिन्छ ।