मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
रुस–युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिँदै । फाइल तस्बिर
२o८२ श्रावण १४ बुधबार o६:२७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुस–युक्रेन युद्ध : हालसम्म ७१ नेपाली मारिए

थप ४१ को अवस्था यकिन गर्न परिवारको डिएनए विवरण रुसमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o६:२७:oo

रुसी सेनामा भर्ती भएका ७१ नेपालीको रुस–युक्रेन युद्धमा मृत्यु पुष्टि भएको छ । रुसको रक्षा मन्त्रालयले नेपाली दूतावास मस्कोमार्फत परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार हालसम्म ७१ को मृत्यु पुष्टि भएको हो । त्यस्तै, पुष्टि हुन बाँकी ४१ जनाका परिवारको डिएनए परीक्षण गरेर रुसमा विवरण पठाइएको छ । 

परराष्ट्रको कन्सुलर सेवा विभागकी महानिर्देशक दुरपदा सापकोटाका अनुसार हालसम्म ३४९ व्यक्तिका परिवारले रुसी सेनामा कार्यरत आफन्त खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । ‘अहिलेसम्म रुस सरकारबाट आधिकारिक रूपमा जानकारी प्राप्त भएअनुसार ७१ नेपालीको मृत्यु भएको छ, ४१ जनाको अवस्था पुष्टि नभएकाले परिवारबाट डिएनए परीक्षण गरेर रिपोर्ट पठाइएको छ,’ सापकोटाले भनिन्, ‘थप ४० जना नेपाली बेपत्ता अवस्थामा हुनुहुन्छ ।’ 

मृतकका परिवारमध्ये दुईजनाले क्षतिपूर्ति पाएको अपुष्ट जानकारी भए पनि विभागलाई औपचारिक जानकारी नभएको महानिर्देशक सापकोटाले बताइन् । ‘क्षतिपूर्ति लिन, बेपत्ता वा घाइते अवस्थाका आफन्तको अवस्था बुझ्न रुस जान चाहनेहरूलाई हामीले नो अब्जेक्सन लेटर (एनओसी) दिइरहेका छौँ । डिएनएमा नाम आएका व्यक्तिका बुवा, आमा र श्रीमतीलाई मागेअनुसार एनओसी जारी भएको छ,’ उनले भनिन् । सापकोटाले क्षतिपूर्ति मस्कोबाट पाउने प्रावधान रहेको जानकारी भए पनि कति नेपालीले प्राप्त गरे भन्ने जानकारी नआएको बताइन् ।

अधिकारीहरूका अनुसार  रुसी मुद्रामाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेका कारण त्यहाँबाट नेपालमा पैसा पठाउन सहज छैन । ‘क्षतिपूर्ति पाएकाहरूको हकमा पनि नेपालमा रुसी मुद्रा सटही गरेर ल्याउने समस्या छ, बैंकको च्यानलबाट सम्भावना देखिएको छैन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘हामी विकल्पहरूका बारेमा छलफल गर्दै छौँ।’ 

रुस सरकारले पछिल्लोपटक नेपाली नागरिकलाई रुसी सेनामा भर्ना रोकेको छ भने कार्यरत रहेका नेपालीको करार नवीकरण पनि रोकेको छ । ‘रुसी नागरिकता लिएकाहरूले सेवा नवीकरण गरेको, तर नेपाली नागरिकका रूपमा नयाँ भर्ना वा करार सम्झौता नवीकरण भएको छैन भन्ने जानकारी छ,’ परराष्ट्रका एक अधिकारीले भने । रुसी सेनामा कार्यरत नेपालीमध्ये २५० भन्दा बढी व्यक्ति स्वदेश फर्केको रुसी सेनाका परिवारसँग समन्वय गरिरहेकी सामाजिक अभियन्ता कृतु भण्डारीले जानकारी दिइन् । 

युक्रेनमा १७ नेपाली बन्दी, छुटाउने पहल भएन   
सरकारी तथ्यांकअनुसार युक्रेनी सेनाको हिरासतमा हालसम्म सात नेपाली छन् । तर, परिवारजनबाट प्राप्त विवरणअनुसार थप १० नेपाली युक्रेनी सेनाको बन्दीमा छन् । 

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा सात बन्दी अवस्थामा रहेको जानकारी छ । तर, पारिवारिक स्रोतका अनुसार युक्रेनी सेनाको हिरासतमा विवेक खत्री, सिद्धार्थ ढकाल, विकास राई, प्रतीक पुन, सुजन सुवेदी, ईश्वर लामिछाने र कृष्णबहादुर घिमिरे पनि छन् । युद्धबन्दी अवस्थामा रहेका १० जनाले रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीमार्फत परिवारलाई चिठी पठाएको पारिवारिक स्रोत बताउँछ । ‘युक्रेनमा सात नेपाली युद्धबन्दी अवस्थामा हुनुहुन्छ भन्ने जानकारी पाएका छौँ,’ विभागकी महानिर्देशक सापकोटाले भनिन् ।

युक्रेनका लागि गैरआवासीय राजदूत (जर्मनीका लागि राजदूत) डा. शैल रूपाखेतीलाई युक्रेनको राजधानी किभ पठाउने तयारी भए पनि अहिले रोकिएको छ । ‘राजदूतले युक्रेनका राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाउने तथा युक्रेनी अधिकारीहरूसँग युद्धबन्दी रिहा गराएर फिर्ता ल्याउने विषयमा छलफल गर्ने भनेर परराष्ट्रले पठाउने तयारी गरेको थियो, परराष्ट्रमन्त्रीले नै चासो दिनुभएको थियो । तर, उहाँको युक्रेन भ्रमण किन हुन सकेन, हामीले बुझ्न सकेका छैनौँ,’ परराष्ट्रका अधिकारीले भने ।