
पेरिस पारालम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धनसहित पाँचजना खेलाडीले दशौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) खेल्ने भएका छन् । नेपालबाट पाँचजना खेलाडीसहित सात सदस्यीय टोली सहभागी हुने भएको प्रशिक्षक कविराज नेगी लामाले नयाँ पत्रिकालाई बताएका छन् ।
चीनमा उच्च शिक्षा हासिल गरिरहेकी पलेशा उतैबाट मलेसिया पुग्ने पनि प्रशिक्षक लामाले बताए । प्रशिक्षक लामाले यसपटक पनि नेपालले पदक ल्याउने दाबी गरेका छन् । यसपटक रेणुमा धेरै सम्भावना रहेको पनि उनले खुलाए ।
टोलीलाई शनिबार काठमाडौं जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको छ । मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने तालिका छ । टोली साउन १३ गते मलेसिया जानेछ ।
पाँचै खेलाडीले के–४४ क्याटेगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्नेछन् । महिला ५७ केजीमुनि पलेशा तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्नेछन् ।
व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् । प्रशिक्षक लामाले वरीयता सुधार गर्न प्रतियोगता महŒवपूर्ण भएको बताए । नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । हालसम्म नेपालले १ रजत र ५ गरी ६ पदक जितेको छ । रञ्जना धामीले रजत र कांस्य जितेकी छिन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहित हाङ राईले कांस्य पदक प्राप्त गरेका छन् ।
टोलीलाई नेपाल च्याम्बर अफ कमर्सअन्तर्गत शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी र उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले ठमेलमा आयोजित एक कार्यक्रमबिच बिदाइ गरे । अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहनस्वरूप ५० हजार नगद प्रदान गर्ने घोषणा गरे ।