
बागलुङकै प्रसिद्ध बलेवा भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछि यसको आम्दानी तीन गुणा बढीले वृद्धि भएको छ ।बागलुङ नगरपालिका– १२, अमलाचौरमा रहेको मन्दिर व्यवस्थापन समितिले आफैँ पूजा सञ्चालन गरेपछि तीन गुणाले आम्दानी बढेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए ।
दुई वर्ष पहिले मन्दिरको पूजा ठेक्का प्रक्रियाबाट हुने गरेको मन्दिरको पूजा अध्यक्ष ज्ञानेन्द्र ढकालको नेतृत्वको नयाँ व्यवस्थापन समितिले सञ्चालन गर्न लागेको थियो । ‘गत आर्थिक वर्षबाट गुठी संस्थानको अनुमति लिएर अहिलेको व्यवस्थापन समितिले पूजा सञ्चालन गर्न थालेका थियौँ,’ कोषाध्यक्ष केसीले भने, ‘व्यवस्थापन समितिकै नेतृत्वमा पूजा सञ्चालन भएपछि ठेक्का प्रक्रिया तोडियो यसले मन्दिरको आम्दानी पनि बढ्यो । पहिले पहिले ठेक्कामा लगाउँदा तीन–चार लाखमा ठेक्का हुन्थ्यो । अघिल्लोपटक गरिएको ठेक्कामा नाै लाखमा ठेकेदारले जिम्मा लिएका थिए । गत आर्थिक वर्षबाट हामीले सञ्चालन गरेका छौँ । एक वर्षमा २७ लाख आम्दानी भएको छ ।’
२०७९ सालमा जेठ ३२ गतेबाट गुठी संस्थानले आफूहरूलाई व्यवस्थापन समितिमा नियुक्त गरेपछि मन्दिरको भौतिकसँगै पूजा व्यवस्थापनमा सुधार गरेको उनले जानकारी दिए । ‘२०७९ सालको असार ३२ गते हामीलाई व्यवस्थापन समितिको जिम्मा दिइयो, त्यतिवेला मन्दिरको माइन्युट पनि थिएन, हामीले पुरानो माइन्युटसमेत पाएनौँ,’ उनी भन्छन्, ‘हामी आएपछि सचिवालय व्यवस्थापनदेखि लिएर पूजाको व्यवस्थापन र भौतिक संरचानको सुधारमा ध्यान दिएका छौँ ।’ भैरवस्थानमा विगतमा मंगलबार र शनिबार मात्रै पूजा हुने गरेकोमा अहिले सातै बार पूजा गर्ने व्यवस्था मिलाएको उनले बताए ।
‘हामीले मासिक १५ हजार तलब दिएर पुजारी राखेका छौँ, अहिले दैनिक पूजा हुन्छ,’ उनले भने, ‘अन्य व्यवस्थापनका लागि १० हजारमा एकजना कर्मचारी पनि राखेका छौँ । जसले गर्दा आम्दानीमा पनि वृद्धि भएको छ ।’ अघिल्लो समितिले नेपाल बैंकमा राखेको सात लाख रुपैयाँ मात्रै आफूहरूले पाएको भन्दै केसीले अहिले ४० लाख रुपैयाँ विभिन्न बैंकको खातामा रहेको उल्लेख गरे । ‘हामीले भौतिक निर्माणका कामलाई अगाडि बढाएका छौँ, सचिवालय व्यवस्थापन गर्याैँ,’ उनले भने, ‘अहिले हामी बसिरहेको भवन पनि २७ लाख रुपैयाँको हो । यी संरचनाहरूमा हामीले नेपाल सरकारका विभिन्न निकाय, बागलुङ नगरपालिकासँगै मन्दिरको आम्दानी पनि प्रयोग गरेका छौँ । अबको ध्यान हाम्रो मुख्य मन्दिरको पुनः निर्माणको गर्नेमा केन्द्रित गर्दै छौँ।’
मन्दिर पुनर्निर्माण गर्ने भनेर सञ्चालन गरिएको क्युआरमार्फत सहयोग अभियानमा सात लाखभन्दा बढी संकलन भएको उनले जानकारी दिए । अहिले मन्दिरको नाममा ११ रोपनी ५ आना २ दामको जग्गा रहेको र कुल भौतिक सम्पत्ति एक करोड चार लाख २५ हजारबराबरको रहेको उनले जानकारी दिए । ‘अहिले पनि यो मन्दिर सार्वजनिक जग्गामा छ, अब हामी यसलाई मन्दिरकै नाममा लालपुर्जा निकाल्ने प्रयासमा छौँ,’ उनले भने ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले आफूहरू व्यवस्थापन समितिमा आएपछि विभिन्न भौतिक संरचनाहरूको निर्माण गरेको बताए । ‘१० लाखको लागतमा पहिले त सचिवालय व्यवस्थापन गर्याैँ, चौरमा बस्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘संघीय सरकारको ससर्त बजेटमा २७ लाख खर्चर दुई तलाको भवन बनाएका छौँ । बागलुङ नगरपालिकाले हरेलो मेलामा बोलेको पाँच लाख रकममध्ये तीन लाख ४८ हजार रुपैयाँ जोगाएर त्यसमा मन्दिरका पनि रकम थपेर गेट निर्माण गरेका छौँ ।’
वन कार्यालयको २० लाखबाट ढुंगा बिच्छ्याउने र पोखरी निर्माण गर्ने कार्य सम्पन्न भएको उनले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार सामाजिक विकास कार्यालयमार्फत १० लाखमा चारकोठ शाैचालय निर्माण गरिएको छ भने दक्ष पौडेलले एक लाख ८० हजार खर्च गरेर खानेपानीको धारो निर्माण गरिदिएका छन् ।
भैरवस्थान मन्दिरपरिसरमा स्थानीय एकबहादुर केसी संगमको परिवारले निर्माण गरेको गणेश मन्दिर अन्तिम चरणमा पुगेको छ ।
मन्दिरको आन्तरिक स्रोतबाट ११ वटा व्यापारिक सटर निर्माण गरिएको छ । त्यसबाट अहिले मासिक ३० हजार आम्दानी भइरहेको उनले जानकारी दिए । ‘चौरमा बसेर डोकोमा पूजा सामग्री बिक्री गर्नुपर्ने बाध्यता थियो, दर्शनार्थीहरू मन्दिर दर्शन गरेपछि खाजा खाने ठाउँ पनि थिएन,’ अध्यक्ष ढकाल भन्छन्, ‘सटर निर्माण गरेपछि पूजा सामग्री बिक्री गर्नेलाई पनि सजिलो भएको छ र दर्शनार्थीहरू खाजा खानका लागि पनि ठाउँ भएको छ ।’
पहिलो दुईवर्षे कार्यकालका लागि नियुक्त भएको व्यवस्थापन समितिको फेरि तीनवर्षे कार्यकालका लागि गुठी संस्थानले नियुक्ति गरेको उनले बताए । ‘अहिले फेरि गुठी संस्थानले हामीलाई नै थप तीन वर्षको जिम्मेवारी दिएको छ,’ उनले भने, ‘अब हाम्रो उद्देश्य भनेको मन्दिरको पुनर्निर्माण नै हो ।’ मन्दिर पुनर्निर्माणका लागि संघीय सरकारमा प्रस्ताव पेस गरिएकोमा तीन करोडभन्दा तलको योजनामा बजेट नराख्ने भनेर अहिले बजेट नपरेको उनले बताए । मन्दिरमा आउने दर्शनार्थी र मन्दिरको समेत सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सिसिक्यामेरासमेत जडान गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव भीम पौडेलले जानकारी दिए ।
शनिबार मन्दिर व्यवस्थापन समितिले भैरवस्थान मन्दिरपसिरमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्दिरको हालसम्मको गतिविधि र आगामी योजनाबारेमा जानकारी गराएको हो ।
बागलुङ नगर उपप्रमुख राजु खड्काले भैरवस्थान बिस्तारै बागलुङ नगर क्षेत्रभित्रको प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गइरहेको बताए । ‘बिस्तारै प्रचारप्रसार र यहाँको भौतिक विकास हुँदै गएपछि अहिले राम्रो गन्तव्यको रूपमा स्थापित हुँदै छ,’ उनले भने, ‘बागलुङ कालिका दर्शन गर्न आउनेहरूलाई यहाँ पनि आउनुपर्छ भनेर जोड्न सकियो भने अझ यहाँको थप विकास हुनेछ ।’