
हवाई सेवाप्रदायक तथा नियामक नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष ०८२/८३ को बजेट सार्वजनिक गर्दै तीन अन्तर्राष्ट्रियसहित २७ विमानस्थल निर्माण तथा स्तरोन्नतिका लागि १२ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । धमाधम स्तरोन्नति भइरहेको त्रिभुवन विमानस्थलमा प्राधिकरणले सबैभन्दा बढी ६ अर्ब ३१ करोड छुट्याएको छ ।
हवाई यातायात क्षमता अभिवृद्धि परियोजनामार्फत त्रिभुवन विमानस्थल विस्तारलाई तीव्रता दिइरहेको प्राधिकरणले जनाएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहायतामा विस्तार कार्य थालिएको हो । चालू आवमा एडिबीको चार अर्ब १५ करोड ऋण परिचालन गरिने भएको छ । त्यस्तै, प्राधिकरणले थप ६० करोड ५० लाख लगानी गर्ने जनाएको छ । त्रिभुवन विमानस्थलमै अर्को आयोजनामार्फत थप एक अर्ब ५६ करोड चार लाख खर्च गरिने प्राधिकरणले जनाएको छ ।
त्यसपछि नयाँ टर्मिनलसहित निर्माणाधीन रहेको विराटनगर विमानस्थलमा ७४ करोड बजेट विनियोजन गरिएको छ । प्राधिकरणले चालू आवका लागि कुल ३१ अर्ब ४० करोड ७६ लाखको बजेट सार्वजनिक गरेको छ । गत आव ०८१/८२ को ३४ अर्ब १२ करोडको तुलनामा यस वर्ष प्राधिकरणको बजेट ७.९५ प्रतिशत कम हो । पुँजीगत विनियोजित ३९ प्रतिशत बजेट विमानस्थल सुधार र स्तरोन्नतिका लागि खर्च हुने सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । चालूतर्फ २० प्रतिशत अर्थात् ६ अर्ब १५ करोड ६७ लाख छुट्याइएको छ । बजेटको सबैभन्दा ठुलो हिस्सा वित्तीय व्यवस्थातर्फ ४१ प्रतिशत अर्थात् १२ अर्ब ८५ करोड ११ लाख छुट्याइएको छ । पोखरा र भैरहवा विमानस्थल निर्माण गर्दा लागेको ऋण भुक्तानीमा उक्त रकम खर्च हुनेछ ।
गत आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटअन्तर्गत पुँजीगततर्फ ११ अर्ब ५२ करोड २५ लाख रुपैयाँ विनियोजनमध्ये ६८ प्रतिशत मात्रै खर्च भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, कार्य सञ्चालनतर्फ ६ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएकोमा ६४ प्रतिशत खर्च गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ तथा अन्य शीर्षकमा १६ अर्ब ७ करोड २० लाख रुपैयाँमध्ये ३९ प्रतिशत मात्रै खर्च भएको छ । गत आवको कुल विनियोजित बजेट ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँ थियो ।
निजगढमा विमानस्थल बनाउन २३ करोड
निजगढमा विमानस्थल निर्माण गर्ने निर्णय भइसकेको छैन, तर प्राधिकरणले निजगढ विमानस्थलका लागि चालू आवमा २३ करोड ८० लाख बजेट छुट्याएको छ । जसमध्ये विमानस्थल निर्माणार्थ पेरिफेरि सडक निर्माणका लागि दुई करोड ५२ लाख र वातावरणीय प्रभाव मूल्यांकन तथा पुनस्र्थापना योजनाका लागि पाँच करोड छुट्याइएको छ । टाँगिया बस्ती सार्नका लागि तीन करोड छुट्याइएको छ । त्यस्तै, विमानस्थलले ओगट्ने १९ सय हेक्टर क्षेत्रफल र पेरिफेरि सडकमा रहेका रुख कटान र साइट क्लियरेन्सका लागि पाँच करोड छुट्याइएको छ । तालिमका लागि पाँच करोड र निर्माणसम्बन्धी अन्य कामका लागि तीन करोड २८ लाख विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।