मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ७ बुधबार १o:३o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दोस्रो पुस्ताका नेताको जोड वाम एकतामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १o:३o:oo

समाजवादी मोर्चाका दोस्रो पुस्ताका नेताहरूले समाजवादी आन्दोलनमा एमाले स्कुलिङ र माओवादी स्कुलिङलाई एकताबद्ध गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । भौतिक, तार्किक र ऐतिहासिक रूपले अबको बाटो समाजवाद नै हो भन्ने निष्कर्षमा पुगेपछि त्यसको प्रस्तावना तयार पारेर एक ठाउँमा उभिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

शीर्ष नेताहरूलाई ससम्मान अभिभावकीय भूमिकामा राखेर नयाँ पुस्ताले आगामी आन्दोलनको नेतृत्व लिँदै आमजनतालाई आशा र भरोसा जगाउनुपर्ने उनीहरूको भनाइ छ । यो बहस एकता र ध्रुवीकरणको आधार पनि बन्न सक्ने नेताहरूको विश्वास छ । 

स्कुल अफ माक्र्सिज्मले ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा मंगलबार आयोजना गरेको ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषय कार्यक्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, माओवादी उपमहासचिव जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताए ।

भुसालले भने, ‘जबजले अब अगाडिको बाटो छेक्छ भने त्यो प्रगतिशील हुन सक्दैन । जनयुद्धका स्मरणले वा माओवादको नामले अब अगाडिको समाजवाद बनाउने बाटो छेक्छन् भने त्यसको क्रान्तिकारी चरित्र हुँदैन । यसमा तयार हुन्छौँ भने हामीले फुटिराख्नुपर्ने कारण आउँदैन ।’ संकट चुलिँदै गएको भन्दै उनले देशव्यापी बहस गर्दै जानुपर्नेमा जोड दिए ।

माओवादी उपमहासचिव शर्माले चौबाटोमा रहेको कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन सक्नुपर्नेमा जोड दिए । वर्गप्रतिको प्रतिबद्धतासहित बाँकी जीवनलाई आन्दोलनमा समर्पण गर्ने संकल्पसहित अगाडि बढ्ने उनले बताए । उनले कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता भनिए पनि अहिले जनवाद समाप्त भएर केन्द्रीयता मात्रै बाँकी रहेको बताए ।

नेकपाका महासचिव विप्लवले श्रमिक वर्गलाई भुलेर कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने दाबी गरे । बाटो र लक्ष्य एउटै लिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 

‘हाम्रो चिन्ता कम्युनिस्ट आन्दोलनको हो । बाटो र लक्ष्यमा अन्तर पर्‍यो भने परिणाम सकारात्मक आउँदैन । माक्र्सवाद विज्ञान हो । माक्र्सवादमा विकास गर्नुपर्छ । विकास गर्दा बुर्जुवा, साम्राज्यवादी, दलालबाट डराएर गर्ने होइन । गाँठो जसले फुकाए पनि हुन्छ । श्रमिक वर्गलाई भुलेर गरिने व्याख्याको अर्थ छैन । कम्युनिस्ट आन्दोलनबारे समयमै सोच्यौँ भने धेरै राम्रो गर्न सकिन्छ, समयमै सोचिएन भने धेरै क्षति पुग्छ,’ उनले भने ।