
उदाहरणीय विकास
जैमिन नगरपालिका– ९ र १० वडाको सिमानामा रहेको रुम्टा खोलामा निर्माण सम्झौता सकिनु एक वर्षअघि नै पक्की पुल तयार भएको छ । कुश्मिसेरा–बरेङ शान्तिपुर सडकअन्तर्गत पर्ने रुम्टा खोलामा पुल तयार भएपछि राङखानी, बरेङ र गुल्मीको शान्तिपुरबाट सदरमुकाम बागलुङ बजार हुँदै पोखरा र काठमाडांैसम्म आवतजावत गर्ने सवारीसाधनलाई पनि सजिलो भएको छ ।
डेढ महिनाअघिबाट सञ्चालनमा आएको पुलले वैकल्पिक सडक प्रयोग गरेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता पनि हटाएको छ । पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर गोविन्दप्रसाद चौधरीले आगामी १० वैशाखसम्म निर्माण अवधि भए पनि पुल तयार भएर सञ्चालनमा आएको जानकारी दिए । ‘पुल निर्माणको अधिकांश काम सकिएको छ । र, अहिले उक्त पुलबाट सवारीसाधन सञ्चालनमा आएको छ,’ उनले भने । ११ वैशाख ०८० मा सम्झौता भई निर्माण सुरु भएको उनले जानकारी दिए । पुलको दायाँ–बायाँ फाउन्डेसनको काम बर्खापछि सकिने उनले बताए ।
०५६ मा कच्ची सडक निर्माण भएपछि नियमित रूपले यातायात सञ्चालनमा आइरहेको छ, तर बर्खामा जैमनी वडा ९ पैयुँ र वडा १० राङखानीका बासिन्दा सदरमुकाम बागलुङ बजारसँग विच्छेद हुने गरेको थियो । यातायात सुचारु भएको १७ वर्षपछि उक्त स्थानमा पुल बनेपछि दक्षिणी बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको जैमिनी– १०, राङखानीका भीम श्रीषले बताए । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयले ६ करोड नौ लाख ४६ हजार तीन सय ६७ रुपैयाँमा निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन, पर्वतसँग ठेक्का सम्झौता गरेको थियो ।
२ वर्षको ठेक्का लागेको कोइली खोला तर्ने पुल नौ महिनामै तयार
कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । दुई वर्षको निर्माण सम्झौता भए पनि १५ महिनाअघि नै पुल तयार भएपछि स्थानीय हर्षित छन् ।
उक्त पुल वनगाई–मोतीपुर–भलवाड–डोहोटे सडकखण्डअन्तर्गत पर्छ, यहाँ वर्षायाममा कोइली खोला तर्न जोखिमपूर्ण थियो । तर, पुल बनेपछि वर्षायाममा आवतजावत गर्न कुनै कठिनाइ नहुने वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले बताए । ‘पुल नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो । अहिले पुल निर्माण सम्पन्न भएपछि यात्रा हुने भएको छ ।’
पुलसँगै जोडिएको बाटोले पूर्व–पश्चिम राजमार्गलाई वाणगंगा नगरपालिकाका वडाहरू हुँदै अर्घाखाँचीको शीतगंगा नगरपालिकाको गोरुसिँगे–सन्धिखर्क सडकसँग जोड्ने गरेको छ । जसकारण क्षेत्रीय यातायात सुधार र व्यापारिक सञ्जाललाई पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा सम्झौता भएको पुल निर्माणको काम फट्टाफुट भएकाले समयअगावै सकिएको निर्माण कम्पनी श्रेष्ठ एन्ड एनबी जेभी, बुटवलका कन्स्ट्रक्सन प्रमुख नारायणप्रसाद भट्टले बताए । पुलको लम्बाइ ७३.५ मिटर र चौडाइ १० मिटर रहेको छ ।
पूर्वपट्टिको कोइली खोला (क)मा भने यसअघि नै पुल निर्माण भइसकेको थियो । कोइली (ख)मा पनि पुल निर्माण भएपछि सो क्षेत्रको सडक सञ्जाल थप मजबुत भएको वडा नम्बर ९ का अध्यक्ष कमल पौडेलले बताए ।