
मुख्यसचिव नेतृत्वको सचिव बैठकको निर्णय : मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समिति आदि निकायका सवारीसाधनहरू र प्रयोगकर्ताको विवरण पठाउन बाँकी मन्त्रालयहरूले तत्कालै मन्त्रिपरिषद्को कार्यालयमा पठाउने यदि कुनै पदाधिकारी/कर्मचारीहरूले प्रचलित मापदण्डविपरीत सवारीसाधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने, गराउने
मुख्यसचिव नेतृत्वको सचिव बैठकले ‘पदाधिकारी तथा कर्मचारीहरूले प्रचलित मापदण्डविपरीत सवारीसाधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने–गराउने’ निर्णय गरेको छ । मंगलबार बसेको बैठकले सबै सरकारी निकायमा प्रयोग भइरहेका गाडी र प्रयोगकर्ताको एकीकृत विवरण तयार गर्ने तथा सवारीसाधनको विवरण ‘सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (एमपिएमएस)मा प्रविष्ट गर्ने निर्णय पनि लिएको छ ।
‘मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समिति आदि निकायका सवारीसाधनहरू र प्रयोगकर्ताको विवरण पठाउन बाँकी मन्त्रालयहरूले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने’ निर्णयमा छ । ‘यदि कुनै पदाधिकारी/कर्मचारीहरूले प्रचलित मापदण्डविपरीत सवारीसाधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने, गराउने’ निर्णय छ । मन्त्रालयमा रहेका सम्पूर्ण सवारीसाधनको विवरण एमपिएमएसमा अनिवार्य प्रविष्ट गर्ने व्यवस्था मिलाउनेसमेत निर्णय भएको छ ।
त्यस्तै, तोकिएको समयमा सेवाप्रवाह र निर्णय भए–नभएको, अनधिकृत व्यक्तिले सवारीसाधन प्रयोग गरे–नगरेको, सार्वजनिक निकायमा खरिद भएका मेसिन–उपकरण उपयोग भए–नभएको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले नियमित अनुगमन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पेस गर्नेसमेत सचिव बैठकको निर्णय छ ।
बैठकले मनसुनजन्य विपत् व्यवस्थापनका लागि भन्दै कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा बस्न रोक लगाउने निर्णय लिएको छ । यस्तै, बैठकले डेंगी संक्रमण नियन्त्रण तथा रोकथामका लागि हरेक शुक्रबार सरसफाइ तथा प्रचारप्रसार अभियान चलाउने निर्णय गरेको छ । ‘साउन, भदौ र असोज तीन महिना हरेक शुक्रबार बिहान ९:३० बजेदेखि सरसफाइ कार्यक्रम तथा प्रचार–प्रसार अभियान सञ्चालन गर्ने’ निर्णय छ ।