मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८२ असार ३१ मंगलबार १७:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुणस्तरहीन सडक बनाएको भन्दै सिराहामा टायर बालेर प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १७:o२:oo

जिल्ला सदरमुकाम सिराहा हुँदै सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रमा मुख्य सडकको आरसिसी ढलान गुणस्तरहीन रहेको बताउँदै स्थानीयले प्रदर्शन गरेका छन्। 

स्थानीयले सरकारी निकायको मिलेमतोमै गुणस्तरहीन काम भइरहेको आरोप लगाउँदै सडकमै टायर बालेर प्रदर्शन गरेका हुन्। महोत्तरीको बर्दिवासस्थित भगत ग्रुप अफ कन्स्ट्रक्सन प्रालिले आर्थिक वर्षको अन्त्यतिर रातारात गरेको आरसिसी ढलान गुणस्तरहीन रहेको दाबी गर्दै मंगलबार बिहान सडकमा टायर बालेर बिहान ८ बजेदेखि तीन घण्टासम्म प्रदर्शन गरे।

स्थानीयका अनुसार माडरको काली मन्दिरदेखि थोरै पश्चिमदेखि भन्सार जाने सडकको ६० मिटर खण्डमा आइतबार राति गरिएको ढलानमा गिटी, बालुवा र सिमेन्टको अनुपात नमिलाई कमसल निर्माण गरेपछि सोमबार बिहान सबेरै वडाध्यक्षलाई बोलाएर अनुगमन गरिएको थियो। 

अनुगमनको क्रममा सडकको ठाउँठाउँमा गिटी सतहमा निस्किएको, लाठीले घोच्दा पनि फुटेको पाइएको सिराहा– १७ का वडाध्यक्ष उमेशप्रसाद यादवले बताए। त्यसपछि निर्माण व्यवसायीको पानी ट्यांकर, मिक्स्चर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मार्डरलाई बुझाएपछि सिराहा नगरपालिकाका प्राविधिकलाई बोलाएर अनुगमन गरिएको बताए। ‘पानीको कारणले एकतर्फी सवारीसाधन चलाउन पनि सकस भएपछि अघिल्लो दिन भएको ढलान मर्मत मात्र गरिएको हो,’ उनले भने।

निर्माण कम्पनीका साइट इन्जिनियर संजीव साहका अनुसार आइतबार राति गरिएको ढलानका लागि गिटी, बालुवा र सिमेन्ट घोल्ने क्रममा मजदुरले भुलवश छिटो जमाउने केमिकल बढी हालेकाले गिटी सतहमै देखिएको बताए। ‘निर्माण सामग्रीको अनुपात नमिलेको होइन,’ उनले भने, ‘ढलान गरेको भोलिपल्ट सोमबार बिहान वडाध्यक्ष, नगरपालिकाका प्राविधिकसमेतलाई राखेर छलफल गरिएपछि सोमबार राति मर्मत गरिएको हो, त्यसको गुणस्तरीयताको विषयमा शंका छ भने प्राविधिक जाँच गराउँदा हुन्छ।’

विद्युतको पोल सडकमै, दुर्घटनाको जोखिम
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानले कुल ६ करोड ५८ लाख ५३ हजार आठ सय १० रुपैयाँमा ठेक्का लगाएको उक्त सडकअन्तर्गत मखनाहाको १३ सय मिटर खण्डमा दुवैतर्फ नाला निर्माण, विद्युतको पोल सार्ने, माटो फिलिङ र ग्राभेलिङ गरिनुपर्ने साइट इञ्जिनियर समेत रहेका डिभिजनका अश्विनीकुमार यादवले जानकारी दिए। ‘फिल्डमा खटिएका अन्य प्राविधिकहरुको रिपोर्ट अनुसार निर्माणको क्रममा तलमाथि नभएको भन्ने छ’ उनले भने ‘यद्यपि स्थानीयले प्रश्न उठाएकाले के भएको हो, प्राविधिक जाँच हुन्छ।’

सर्वसाधारणको जानकारीका लागि त्यति ठूलो बजेटमा भइरहेको सडक निर्माणको योजना सूचना पाटी नभएको विषयमा भने उनले प्रिन्ट गर्दा गल्ती भएकाले नराखिएको बताए। माडर भन्सारसम्मको अत्यन्त व्यस्त मानिने उक्त सडक क्षेत्रमा पर्ने विद्युतको पोलसमेत नहाटाई जसरी भए पनि ३० असारसम्म भुक्तानी लिनका लागि मात्र डिभिजनसँगको मिलेमतोमा हतार हतार काम गरेको स्थानीय सिर्जु रायले आरोप लगाए। ‘आरसिसी ढलान गरिएको सडक क्षेत्रमै रहेको पोलमा ठोक्किएर दुर्घटना भयो भने जिम्मेबारी कसले लिने ?’ उनले प्रश्न गरे।