
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको भन्दै ऊर्जा विकासका लागि सरकारले सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताए ।
सरकारका साथै निजी क्षेत्रले समेत ऊर्जा उत्पादन गरेकै कारण लोडसेडिङको समस्या भोग्नु नपरेको उनले बताए । सभापति देउवाले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए ।
वार्षिक साधारणसभाका अवसरमा इप्पानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।