मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २९ आइतबार o७:४६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार o७:४६:oo

नयाँ जनसंख्या नीतिबारे केही बताइदिनुहोस न !
नयाँ जनसंख्या नीतिले ०७१ कै नीतिलाई केही फराकिलो पार्ने र संघीयताको मर्मअनुसार जिम्मेवारी बाँडफाँड गर्ने प्रयास गरेको छ । जनसंख्या ‘मल्टिसेक्टरल’ विषय पनि भएकाले कुन–कुन पक्षमा कसले नेतृत्व गर्ने भन्ने प्रस्ट पारिएको छ । प्रजनन दर र जनसंख्याबिच सन्तुलन ल्याउन हाम्रा कुनै नीति–नियम बाधक छन भने तिनलाई परिमार्जन गरेर फराकिलो पार्नेबारे पनि नयाँ नीतिले प्रस्ट पारेको छ । 

दुई सन्तान नीतिले जनसंख्या घटेको हो कि देशमा युवा बस्ने वातावरण नभएकाले हो ?
जनसंख्या घटेको दुई सन्तान नीतिले होइन । यसका अनेकौँ कारण हुन सक्छन । हामीले ती सबै कारणलाई केलाउनुपर्छ । जनसंख्या वृद्धि गराउन या घटन नदिन सबैभन्दा पहिले देशमा युवा बस्ने वातावरण बनाउनु जरुरी छ । अनि, अहिलेको पुरुष र महिला जन्मदरबिचको अन्तरमा पनि सुधार ल्याउनुपर्छ । अहिले एक सय चौध बालक जन्मिँदा जम्मा एक सय बालिका जन्मिरहेको अवस्था छ । तर, संसारभरको जनसंख्याको ‘ट्रेन्ड’ हेर्दा एक प्रतिशत नै भए पनि महिलाको जन्मदर बढी हुनु सन्तुलित जनसंख्याको विशेषता हो । 

अहिलेको सक्रिय जनसंख्यालाई देशभित्रै रोक्ने वातावरण बनाउनुपर्दैन ? 
अहिले हामीसित झन्डै ५९ प्रतिशत सक्रिय जनसंख्या छ । यतिवेला नीतिमा सुधार भएन, देशमा उपयोग हुनुपर्ने जनशक्ति बाहिर गए, उतै लामो समय बसेर वृद्धावस्थामा मात्र फर्किए, रोगी भएर फर्किए, सीप नसिकी फर्किए, नकमाई फर्किए भने त्यसबाट ठुलो समस्या सिर्जना हुन्छ । यति ठुलो सक्रिय जनसंख्या रहेको स्वर्णिम युगको सदुपयोग गर्न शिक्षा, स्वास्थ्य, रोजगारी आदिको सुनिश्चिततासँगै देशमै बसेर कमाउने वातावरण निर्माण गर्नुपर्छ । यसतर्फ समय छँदै ध्यान दिन सकिएन भने भविष्यमा पछुुताउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले, जनसंख्या नीतिमा सुधारसँगै युवालाई देशभित्रै रोक्ने नीतिको पनि त्यत्तिकै खाँचो पर्छ ।